साझा नेटवर्क
डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकारलाई दबाब दिन नेपाल चिकित्सक संघले ३ साउनमा देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको छ ।
चिकित्सा शिक्षा सुधारका माग सहित १९ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य स्थिति नाजुक बनेको र उनको जीवनरक्षाका निम्ति सरकार गम्भीर नबनेको भन्दै संघले स्वास्थ्य संस्था ठप्प पार्ने निर्णय गरेको हो ।
संघले ३ साउनमा एक दिनका लागि देशभरका सरकारी र निजी अस्पताल, सबै शिक्षण अस्पताल, नर्सिङ होम र क्लिनिकसमेत ठप्प पार्ने निर्णय गरेको हो । संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, “सरकार संवेदनशील भएन भने देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका स्वास्थ्य सेवा अनिश्चितकालसम्म बन्द गर्न बाध्य हुने जानकारी गराउँछौं ।”
आज, २ साउनमा आयोजित पत्रकार सम्मेलनमा संघका महासचिव डा. लोचन कार्कीले देशभरका चिकित्सक र स्वास्थ्यकर्मीहरुको आवाज सरकारसम्म पुर्याई डा. केसीको जीवनरक्षाका लागि यस्तो निर्णय लिइएको बताए ।
चिकित्सक संघले डा. केसी आमरण अनशन बसेको १९ दिन पुगिसक्दा पनि उनको स्वास्थ्य अवस्थाप्रति सरकार गम्भीर नबनेको, डा. केसीले उठाएका मागबारे ठोस छलफल नगरेको, चिकित्सक, स्वास्थ्यकर्मी तथा सर्वसाधारणले देशभरबाट उठाएको शान्तिपूर्ण आवाजलाई बेवास्ता गरेको लगायतका कारणले आन्दोलन गर्नु परेको जनाएको छ ।
यसैबीच, राष्ट्रिय चिकित्सक संघ नेपालले स्वास्थ्य संस्था बन्द नगरी वार्ताबाट समाधान खोज्न आग्रह गरेको छ ।
डा. गोविन्द केसी सरकारले संसदमा दर्ता गरेको चिकित्सा शिक्षा विद्येयक फिर्ता गर्नुपर्ने लगायतका सात बुँदे माग राखेर १६ असारदेखि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत छन् ।
हिमालखबर,
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend