साझा नेटवर्क
साझा नेटवर्क, बुटवल असार १६ ।
सरकारले भन्सार ऐन २०६४ को दफा ९ को उपदफा ३ बमोजिम नेपालमा स्थानीय बसोबास गर्ने नागरिकले विदेशमा गई नेपाल फर्कदाँ व्यक्तिगत प्रयोजनका लागि सामान ल्याउँदा पूर्ण भन्सार छुट दिने गरेको छ । जसमा लुगाफाटा, बरबिछ्यौनादेखि गृर्हस्थीका पुराना सामान र औषधी उपचार गराई नेपाल फर्केका विरामीले ल्याउने औषधीमा कुनै भन्सार कर नलाग्ने भन्सार कार्यालय प्रमुख भन्सार अधिकुत केशव उप्रेतीले जानकारी दिए ।
त्यस्तै शारीरिक रुपमा अशक्तले सहाराको रुपमा प्रयोग गर्ने सामान, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक-एक थान र घडी, स्टिल क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन, पेन ड्राइभ,ट्याबलेट वा ल्यापटप वा कम्प्युटर पनि एक-एक थान ल्याउन पाइने बताए ।
साथै सुनको गहना पचास ग्रामसम्म, चाँदी तथा चाँदीको गहना पाँचसय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडितसाथमा ल्याएको गहना गुरिया र पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक-एक थानमा पूर्ण भन्सार छुट रहेको बताएका छन ।
त्यस्तै शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक लगायतका सामान पन्ध्र थान,घरायसी प्रयोगका सामान्य किसिममा उपकरण जस्तै मिक्सर, जुसर, सिलाई मेसिन,ग्यास टेबुल इस्त्री (आइरन), राइसकुकर लगायतका दुई थान सामानमा पूर्ण भन्सार छुट हुनेछ।
त्यस्तै डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद सम्बन्धी सामान जस्तै फुटबल, भलिबल, ब्याटमिन्टन सेट, गवैयाको सामान्य बाजा जस्तै– गितार हार्मोनियम, तबला, जस्ता सामानहरु पनि पूर्ण भन्सार छुटमा ल्याउन सक्ने उप्रेतीले जानकारी दिए।
यस बाहेक सात किलोग्रामसम्म खाद्य परिकार,१.१५ लिटरसम्म मदिरा ल्याउन पाउने छन् । नेपाल सरकारको दिएको सुविधाभन्दा बढी मदिरा ल्याएमा यात्रुको अबस्था ,परिवार संख्या बसेको मुलुक समयवधि समेतलाई ध्यानमा राखी भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी छाडी दिन सक्ने भन्सार कार्यलय बताएको छ ।
नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक छ महिनाभन्दा कम अवधि विदेशमा बसोबास गरि फर्कदा ब्यक्तिगत प्रयोजनका देहायमा उल्लिखित सबै समान प्रचलित आर्थिक ऎन बमोजिम समदरमा लाग्ने महसुल तिरी ल्याउन पाउने छन । यस्ता मालसामान आफू आउनु अघि वा पछि चलान गरेको भएमा आफू नेपाल प्रवेश गरेको मितिले तीन महिनाभित्र भन्सार गोदाममा दाखिल भैसकेको हुनु पर्नेछ । ?
यसको साथै विदेशमा ६ महिनाभन्दा बढी बसेर फर्किने यात्रुलाई पाँच सय ग्रामसम्म सुन तथा सुनका गहना र एक किलोग्राम सम्म चाँदी तथा चाँदीका गहना महसुल तिर्ने गरी ल्याउन पाउने भन्सार कार्यालयले जानकारी दिएको छ। उक्त परिमाणमध्ये सुन तथा सुनको गहना पचास ग्राम र चाँदी तथा चादीँको गहनामा पाँचसय ग्रामसम्ममा छुट दिई बाँकी परिमाणमा मात्र महसुल लाग्ने भन्सार कार्यलयले जानकारी दिएको छ।
टेलिभिजन, म्यूजिक सिष्टम, रेफ्रिजरेटर, वासिङ्ग मेशिन, पंखा, रेडियो, सि.डि. प्लेयर, भि.सि.डि. प्लेयर र डि.भि.डी. प्लेयर एक एक सेट । घरायसी प्रयोगका सामान्य किसिमका उपकरण (मिक्सर, जुसर, सिलाइ मेशिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर जस्ता) दुई/दुई थान । दश किलोग्राम सम्म खाद्य परिकार लैजान सकिने छ ।
व्यवसायिक पेशामा लागेका (डाक्टर, इन्जिनियर जस्ता) यात्रुको दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान दुई/दुई थान यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि देहायको कुरामा देहाय वमोजिम हुनेछः विदेशमा बसेका नेपाली यात्रुहरुले आफुले प्रयोग गरेका लत्ता कपडाहरु हुलाक पुलिन्दाबाट पठाउँदा त्यस्तो लत्ता कपडामा भन्सार महसुल छुट हुनेछ ।
चुरोट दुइसय खिल्लीसम्म वा सिगार पचास खिल्लीसम्म दरवन्दी बमोजिम लाग्ने महसुल लिई पैठारी गर्न दिइनेछ । यसमा तोकिएको परिमाणभन्दा वढी चुरोट वा सिगार ल्याएमा त्यस्तो बढी परिमाणमा लाग्ने भन्सार महसुलमा शतप्रतिशत थप भन्सार महसुल समेत असुल गरी जाँचपास गर्न सकिनेछ ।
भारतीय सेना वा प्रहरीबाट सेवानिवृत्त भई निवृत्तभरण पाउने गरी स्वदेश फर्कंदा निवृत्त भएको कागजात पेश गरेमा एक पटकको लागि पचास हजार रुपैंयासम्मको निजी प्रयोगका घरायसी सामानहरु (सवारी साधन, हात हतियार, खरखजाना एवं अन्य प्रतिवन्धित सामानहरु बाहेक) ल्याएमा सम्पूर्ण महसुल छुट हुनेछ ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी व्यक्तिगत प्रयोजनको लागि पैठारी गर्न पाउने भनी तोकेको तर यस सूचनामा उल्लेख नभएका मालसामानहरु कुनै यात्रुले पैठारी गरेमा लाग्ने महसुल लिई त्यस्तो सामान जाँचपास गरिनेछ । तर त्यस्तो सामानका हकमा दफा १ को उपदफा (४) बमोजिम मूल्य छुट सुविधा दिइने छैन ।
विदेशबाट फर्केका यात्रुले ल्याएको सामान अन्य व्यक्तिको नाममा जम्मा गर्न वा नामसारी गरी छुटाउन पाइने छैन । त्यस्तै सौगातको रुपमा समेत नेपाली नागरिकले विदेश जादाँ नेपालमा नै उत्पादन गरिएका पचास हजार मूल्यसम्मका मालसामानमा नेपाल सरकारले प्रतिबन्ध लगाएका बाहेक सामान लैजाँदा महसुल नलाग्ने कार्यलयले जानकारी दिएको छ।
कुनै नेपाली नागरिकको विदेशमा बसोबास गरिरहेको समयमा मृत्यु भएको हो भनी प्रमाणित भएमा पनि निज र निजको परिवारले निजी प्रयोग गरेको पुराना सामानहरु (सवारी साधन बाहेक) स्वदेशमा फिर्ता ल्याउँदा पनि सम्पूर्ण महसुल छुट हुने भन्सार कार्यालयले जानकारी दिएको छ।
उल्लेखित सामान बाहेक नितान्त घर व्यवहारमा आवश्यक पर्ने सामान बढीमा दुई-दुई थान सम्ममा महसुल पूर्ण छुट हुनेछ। नेपाल सरकारले दिएको सुविधाभन्दा बढी सामान ल्याउँदा भने तोके बमोजिमको महसुल तिर्नुपर्ने यादव जानकारी दिए।
तर कुनै यात्रुले भन्सारमा घोषणा नगरी कुनै सामान लुकाई छिपाई ल्याउने वा लैजाने प्रयत्न गरेमा त्यस्तो सामान जफत गरी प्रचलित कानुन बमोजिम कारबाही हुने कार्यालयले जानकारी दिएको छ। त्यस्तै खाडी मुलुकको हकमा एक वर्ष भन्दा बढी काम गरी नेपाल फर्केका कामदारलाई भने ३२ इन्च भन्दा कम इन्चको एलइडीमा भन्सार महसुल नलाग्ने बताए।
त्यस्तै ल्यापटप, फ्रिज र अन्य सामानको भने मूल्याङ्कन हेरी महसुल लिइने कार्यालयले जानकारी दिएको छ। साथै नेपाली कामदारले मलेसिया तथा खाडी मुलुकबाट फर्कदाँ तीनवटा ब्ल्याङ्केट ल्याएमा दुईवटासम्मको सम्पूर्ण भन्सार महसुुल छुट दिइने र अर्को एउटामा भने १ सय ५० रुपैयाँ लिइने बताए ।
नेपाल सरकारले सुविधा दिएको भल्दा बढी सामान ल्याएमा सामानको मूल्याङ्कन हरी महसुल लिईने भन्सार विभागले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend