साझा नेटवर्क
अनिल खत्री, गुल्मी असार १४ ।
स्थानीय तहको निर्वाचन भएको गुल्मीमा एक वर्ष पूरा भएको छ । यो अवधिमा जनप्रतिनिधिले उत्साहसँगै नयाँ अनुभूति भएको बताएका छन्,स्थानीय सरकार गठनसँगै सिंहदरबारको अधिकार गाउँ केन्द्रित भएपनि नागरिकहरुका अपेक्षा भने पूरा हुन सकेका छैनन् ।
एक वर्षको अवधिमा स्थानीय तहका जनप्रतिनिधिहरुले पनि आफूहरुले सुरुआती चरण भएकोले सोचे जस्तो काम गर्न नसकेको बताएका छन् । जिल्लाका २ नगपालिका र १० गाउँपालिकामा चुनिएका जनप्रतिनिधिले स्थानीय तहमा कार्यालय स्थापनादेखि कर्मचारी अभावकै बीचमा पहिलो वर्ष सकिएको बताएका छन् ।
रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले एक वर्षको अवधिमा वडा कार्यालय स्थापना गर्नु नै मुख्य चुनौती रहेको बताए । उनले एक वर्षको अवधिमा नगरपालिकामा स्रोतसाधनदेखि कर्मचारी अभावले काम गर्न निकै चुनौती रहेको बताए ।
निर्वाचित भएको एक वर्षमा नगरभित्र धेरै कामहरुको थालनी गरिएको छ,’ भुसालले भने, ‘नगरपालिका केवल नाम मात्रको नगरपालिका भएकाले सुरुआती चरणबाटै काम गर्न निकै चुनौती बन्यो ।
जनताको लागि केही गर्न सकिन्छ भन्ने उदेश्यले निर्वाचित भएर आएकाले केही बिकासका योजनाहरु सुरुआती चरणमा लगिएको भुसालले बताए । ‘जनताको लागि केही गर्न सकिन्छ भन्ने उदेश्य राखेका छौ,’ नगर प्रमुख भुसालले भने, ‘जनतालाई अनुभुति दिलाउने गरी कामहरु थालनी गर्नु एक वर्षको मुख्य उपलब्धी हो ।
सदरमुकाम केन्दि्रत अधिकार वडास्तरमा स्थापना गरेर गाउँ टोलमा सुबिधा दिनु एक वर्षको अवधिको मुख्य उपलब्धी रहेको नगर प्रमुख भुसालको भनाइ छ । यता मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले अपेक्षा गरे काम गर्न सकिन्छ भन्ने यो एक वर्षमा पाएको बताए ।
उनले पहिलो वर्ष स्थानीय तहको कार्यालय राख्नेदेखि कार्यालयको लागि आबश्यक सामानहरुदेखि सुरु भएकाले निकै कठिनाई पनि रहेको बताए । पहिलो वर्ष कर्मचारी प्रर्याप्त मात्रामा नहुँदा काम गर्न पनि समस्या रहृयो नगरप्रमुख सापकोटाले भनेे, ‘पहिलो वर्षमै नगरपालिकामा सबै वडाहरुमा सडक सञ्जाल पुर्याएका छौं ।
नगर भित्र १ हजार घर धुरिमा खाने पानी समेत लगिएको बताए । स-साना योजनाहरुसँगै नगरभित्र खरका छाना भएका घरहरुमा टिनका छाना दिने अभियान प्रक्रियामा रहेको बताए । सुरुआती चरण भएकाले वडा कार्यालय स्थापनादेखि वडा तहबाट सेवा दिनु पनि मुख्य उपलब्धी रहेको उनले बताए ।
उनले निर्वाचनअघि सदरमुकाम केन्दि्रत कार्यालयहरु गाउँमा ल्याएर स्थापना गर्नु पहिलो वर्षको मुख्य उपलब्धीको रुपमा लिन सकिने बताए ।उनले पाँच वर्षभित्र जनतालाई उल्लेखित प्रतिबद्धता एक-एक गरेर पूरा गर्ने बताए । नगरभित्र अरु ठूला दीर्घकालीन प्रभाव राख्ने योजनाहरु प्रक्रियागत रहेकाले नगरभित्र उल्लेखनीय काम हुने बताए ।
धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले काम गर्ने इच्छा शक्ति र सही योजना लिए एकै वर्र्षमा धेरै काम गर्न सकिने ज्ञान पाएको बताए । वर्षमा ८० प्रतिशत कामहरु भएको छ दावी गर्दै उनले भने, ‘सुरुआती चरण भएकाले केही कर्मचारी अभाव, अनुभवको अभाव हुँदा हुँदैपनि अपेक्षा अनुसार काम गर्न सकिएकाले ऊर्जा मिलेको छ ।
गाउँपालिकामा धेरै कामहरु सुरुआती चरणमा भएकाले एक वर्षमा कही पूरा भएपनि चरणबद्धरुपमा रहेकाले पूरा हुँदै जाने उनको भनाइ छ । चन्द्रकोट गाउँपालिका प्रमुख दोर्ण खत्रीले जनप्रतिनिधि निर्वाचित भएपनि अनुभव कम भएकाले क्षमता अभिबृद्धिको कमि रहेको बताए ।
पहिले गाबिसमा निर्वाचित भएर काम गरे जस्तो भन्दा पनि फरक रहेकाले केही हाम्रा लागि स्थानीय तह नौलो र चुनौतिपूर्ण अबस्थाबाट एक वर्ष पूरा भएको खत्रीको भनाइ छ । उनले जनताले आधारभूत समस्याहरु राखेकाले त्यस्ता समस्याहरु एक वर्षमा केही पूरा गरिएको बताउ ।
हामीले गरेका प्रतिबद्धताहरु पाँच वर्षका थिएँ,’ खत्रीले भने, ‘पाँच वर्षका बाचा एक वर्षमा सबै पूरा हुँदैनन् बिस्तारै परिर्वतन हुँदै जान्छ । कालीगण्डकी गाउँपालिका प्रमुख बेद मगरले भने निर्वाचित भएको एक वर्षमा अपेक्षाकृत काम गर्न सकिएको बताए ।
उनले गाउँपालिका भित्र मोटरबाटो,खानेपानीसँगै अरु साना ठूला बिकास निर्माणका कामहरु केही पूरा र केही सुरुआती चरणमा लैजान सफल भएको बताए । ‘जनताको लागि केही गर्न सकिन्छ भनेर जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आएका हौं,’ उनले भने, ‘ पाँच वर्षमा बोलेका सबै बाचा पूरा हुँदै जान्छन् ।
पहिलो वर्ष नौलो, अनुभव कम, कानून निर्माण जस्ता समस्याले केही चुनौतिहरु पनि रहेको बताए । यस्तै, इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले निर्वाचित एक वर्ष सोचे अनुरुप बितेको बताए ।
जनताका आधारभूत समस्याहरु शिक्षा, स्वास्थ्य, खोनपानी, मोटरबाटो जस्ता प्रत्यक्ष प्रभाव पार्ने कामहरु केही पूरा भएको र केही सुरुआती चरणमा रहेकाले एक वर्षमा सोचे अनुसार काम गर्न सफल भएको बताए ।
शैक्षिक सुधारदेखि खरका छाना बिस्थापन,निशुल्क शिक्षा, सबै वडा स्तरमा मोटरबाटो पुर्याउनु मुख्य उपलब्धी रहेको बिष्टले बताए । ‘एक वर्ष पश्चाताप गर्नुपर्ने गरी काम गर्न नसकिएको पटक्कै छैन्,’ बिष्टले भने, ‘पाँच वर्षमा सोचेअनुसार काम गर्न सकिन्छ भन्ने पहिलो वर्षले ऊर्जा दिएको छ ।
मालिका गाउँपालिका प्रमुख रितबहादुर थापाले आफूहरुले गरेका प्रतिबद्धता अनुसार कामहरु गर्न सफल भएको बताए । गाउँमा जनताले स-साना योजनाहरु माग गरेकाले कामहरु पूरा हुँदै गएको बताए ।
गर्नुपर्ने कामहरु धेरै छन्,’ उनले भने, ”एक वर्षमा आशातित कामहरु भएका छन् त्यसले आगामी दिनहरुलाई ऊर्जा दिलाएको छ ।’ कर्मचारी अभाव हुँदा हुँदै पनि पहिलो वर्षमा भएका कामहरु सोचे अनुसार गर्न सकिएको थापाले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend