साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असार १०।
गुल्मीको इस्मा गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । गाउँपालिकाको तेस्रो गाउँ सभामा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले नीति तथा कार्यक्रम र उपाध्यक्ष बिमला केशीले बजेट तथा कार्यक्रम प्रस्तुत गरिन् ।
गाउँपालिकाले २८ करोड ३० लाख ३४ हजार छ सय ८७ रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम गाउँ सभामा प्रस्तुत गरेको छ । समग्रमा गाउँपालिकाका धेरै नीति तथा कार्यक्रमहरु अघिल्लो बर्षका योजनाको कार्यान्वयनमै केन्द्रित छन् । भने केहि योजना कार्यान्वयन भए लोकप्रिय छन् ।
गाउँपालिकाले अब जेष्ट नागरिकलाई चार्ड पर्व भत्तादेखि गर्भवति महिलालाई पोषण भत्ता दिने योजना गाउँसभामा पेश गरेको छ । केन्द्रिय बजेटले जेष्ट नागरिकको सामाजिक सुरक्षा भत्ता बृद्धि गर्नेमा धेरै आशाबादी थिए ।
भत्ता बृद्धि नभएपछि निराश भएका जेष्ठ नागरिकलाई गाउँपालिकाले भने केहि खुसी बनाएको छ । गाउँपालिकाको तेस्रो गाउँ सभाले ७० बर्ष माथीका जेष्ट नागरिकहरुलाई कम्तिमा चाडपर्वमा भएपनि खुसी बनाउन बार्षिक पाँच सय दिने कार्यक्रम अगाडी सारेको गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले बताए । त्यस्तै गाउँपालिकाले हरेक गर्भवति महिलाई पोषण भत्ता दिने योजना अगाडी सारेको छ ।
गर्भवति भएपछि अन्तिम स्वास्थ्य परिक्षण गराउने बेलामा त्यो भत्ता बितरण गरिने छ । गाउँपालिकाले गत बर्ष पनि सुत्केरी महिलाहरुको पोषणमा सुधार ल्याउने सुत्केरी भत्ता बापत एक हजार दिने व्यावस्था गरेको थियो ।
गाउँपालिकाको नीति तथा कार्यक्रमले कृषकको बिमा प्रिमियममा ५० प्रतिशत गाउँपालिकाले व्यहोर्ने योजना गाउँ सभामा पेश गरेको छ । साथै कृत्रिम गर्भाधान, एक परिवार एक सदस्य सहकारीमा आवद्ध बनाउने लोकप्रिय नीति तथा कार्यक्रम गाउँपालिकाले अगाडी सारेको छ ।
दुग्ध र माशुजन्य उत्पादनमा आत्मनिर्भर हुने गरी कृषकहरुलाई सीप, प्रविधि र अनुदानका कार्यक्रम सन्चालन गर्ने योजना गाउँपालिकाको रहेको छ । गाउँपालिकाले तरकारी, फलफुल, कफि, मासु दुध उत्पादनमा आत्मनिर्भर र कोदोको पकेट क्षेत्रलाई विस्तार गरिने नीति अबलम्बन गरेको छ ।
बुल्ममा रहेको माटोका भाँडा बनाउने आधुनिक प्रविधी वस्तु सेरामिक्स उद्योगको क्षमता विस्तार गर्न सीप युक्त जनशक्ति निर्माण, मेशिन औजारको उचित व्यवस्थापनमा अनुदानका कार्यक्रम सन्चालन गर्ने भएको छ ।
इस्मा गाउँपालिकाले छल्दीखोलामा River Trail निर्माण गरी पर्यटन प्रवद्र्धन सहित बहुउपयोगीताको लागि विस्तृत सम्भाव्यता अध्ययन गर्ने, गाउँपालिकाको वडा नं. २ मा होमस्टे सन्चालन गर्ने, साथै ऐतिहासिक, धार्मिक महत्व बोकेको इस्माकोट दरबारलाई प्रदेश सरकारसंगको साझेदारीमा पुनर्निर्माण गरिने नीति तथा कार्यक्रम अगाडी सारेको छ ।
इस्मा गाउँपालिकाले अनिवार्य शिक्षालाई अगाडी सारेको छ । अहिलेलाई गाउँपालिकाको वडा नं. ३ दर्लामचौरका सवै विद्यालयबाट अनिबार्य शिक्षा लागू गरिने सामाजिक विकास समितिका संयोजक चुरा बहादुर खबीले बताए । यसलाई क्रमबद्ध रुपमा सम्पूर्ण विद्यालयमा लागू गरिने छ ।
त्यस्तै कुमाल जातिका बालबालिकाहरुलाई विद्यालयमा आकर्षित गर्न पोषाकको व्यवस्था गरिने भएको छ । साथै हिमालय मा.वि.मा रहेको कृषि प्राविधिक शिक्षा कार्यक्रमलाई आवश्यक सहयोग योजना गाउँपालिकाको रहेको छ । केहि समय अगाडी गाउँपालिकाले माद्यामिक तहको परिक्षा आफै संचालन गर्ने निर्णय गरिसकेको छ ।
इस्मा गाउँपालिकाले सामाजिक समावेशिकरण अन्तरगत ‘सीपयुक्त महिला सशक्तिकरण पहिला’ अभियानलाई नीति तथा कार्यक्रममा समेटिएको छ । जसअन्तरगत महिलाहरुको सीप र क्षमता विकास गर्न तालिम तथा गोष्टिहरु संचालन गर्ने, सामाजिक सद्भाव कायम गर्न उपभोक्ता समिति र टोल सुधार समिति गठन गर्ने भएको छ ।
साथै विभिन्न क्लब, समिति, समुह र सामुदायिक संस्थाहरुमा कम्तिमा ४५ प्रतिशत महिला सहभागीता रहने गरी नीति गाउँपालिकाको रहेको गाउँपालिका उपाध्यक्ष बिमला केशीले बताइन् । साथै जेष्ट नागरिकहरुको सम्मान तथा संरक्षणका लागि दिवा आश्रम भवन निर्माणलाई सम्पन्न गरिने भएको छ ।
इस्मा गाउँपालिकाले एक टोलमा एक पोखरी कार्यक्रमलाई बजेट तथा कार्यक्रममा समेटेको छ । वातावरण संरक्षण, जलवायु परिवर्तन अनुकुलनका लागि एक वडा एक संरक्षण पोखरी निर्माण गरिने छ ।
समुदायको सहभागीतामा परम्परागत पोखरी, कुवाहरुको संरक्षण र सम्भार गर्ने कार्यक्रमलाई अभियानको रुपमा अगाडी बढाइने योेजना गाउँपालिकाले अगाडी बढाएको छ ।
साथै आगामी ४ वर्षमा प्रत्येक घरमा स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराउन ‘एक घर एक खानेपानी धारा’ निर्माण योजनालाई प्रमुख रुपमा अगाडी बढाउने, ठूला खानेपानी योजनाको परियोजना प्रतिवेदन तयार गरी संघीय र प्रदेश सरकारसँगको लागत साझेदारीमा सम्पन्न गर्ने बजेट तथा कार्यक्रम गाउँ सभामा पेश गरिएको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत सरोज कुमार पोख्रेलले बताए । साथै एक वडा एक खेल मैदानलाई पनि कार्यक्रम तथा बजेटमा समावेश गरिएको छ ।
इस्मा गाउँपालिकाको नीति तथा कार्यक्रममा ‘जनतालाई हाम्रो भर : विपन्नलाइ सुरक्षित घर’ भन्ने अभियानलाई साकार पार्न जनता आवास कार्यक्रम मार्फत खरका छाना विस्थापित गरि टिनका छाना लगाउने अभियानलाई निरन्तरता दिइएको छ ।
गाउँपालिकाको गौरबको आयोजनाको रुपमा वातावरण मैत्री चक्रपथ (रातडाँडा–हर्पूकोट–नयाँपोखरा–दोहली–इस्मामैदान–दोवाटा–सिरार–चोरकाटे–बुल्म–हुलाके–राहले–पालुखा–छल्दी पनाहा–राडडाँडा) निर्माण कार्यको सुरुवात गरिने भएको छ ।
साथै गाउँपालिकाले गाउँपालिका स्तरीय र वडा स्तरीय सडकहरुमा स्तरोन्नती गर्ने कार्यक्रम अबलम्बन गरिएको गाउँपालिकाका प्रवक्ता गनुप्रसाद अधिकारीले बताए । त्यस्तै विद्युतीकरण कार्यक्रमलाई विस्तार गर्न काठका पोल विस्थापित गर्ने गरी कार्यक्रम अगाडी बढाइने भएको छ ।
इस्मा गाउँपालिकाले ‘इस्मा गाउँपालिकाको अभियानः सेवामैत्री प्रशासन’ भन्ने नारालाई कार्यान्वयन गर्दै भ्रष्ट्राचारमा शुन्य सहनशिलताको नीति अबलम्बन गरेको छ । साथै कर्मचारीहरुलाई कार्यसम्पादनका आधारमा पुरस्कारको व्यवस्था गरिने छ ।
जसका लागि बिद्युतिय हाजिरी प्रणाली, राजस्व संकलन सफ्टवेयर प्रणाली, घटना दर्ता प्रणाली र सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणाली आगामी बर्षबाट संचालन गरिने कार्यक्रम गाउँपालिकाले बजेट तथा कार्यक्रममा समावेश गरेको छ ।
साथै गाउँपालिकालाई आर्थिक रुपमा सवल र सक्षम बनाउन र जनतालाइ कर प्रति सचेत बनाउन “हामीले तिरेको कर हाम्रै विकासका लागि” भन्ने भावनाको विकास गर्दै प्रगतिशिल कर प्रणाली लागु गर्ने गाउँगाउँमा करदाता शिक्षा संचालन गरिने भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend