साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी जेठ १८ ।
रेसुङ्गा नगरपालिका वडा नम्बर ६ गुल्मीका जनप्रतिनिधि र वडा सचिव वडा कार्यालय नै बन्द गरेर कृषि भ्रमण गएका छन् । उनीहरुले स्थानय राजनीतिक दलका नेता, शिक्षक तथा व्यापारीहरुलाई लिएर कृषि भ्रमणका नाममा पोखरा, लुम्बिनी लगायतका क्षेत्रमा भ्रमण गरेको खुलेको छ ।
यहि जेठ ३, ४ र ५ गते तिनसम्म वडा कार्यालय नै बन्द गरेर पदाधिकारीहरु भ्रमणमा जाँदा सेवाग्राही मर्कामा परेको स्थानीय अर्जुन मरासिनीले गुनासो गरे । त्यस्तै भ्रमणमा वास्तविक कृषकभन्दा धेरै कृषकको नाममा गाउँका ठूला–बडालाई लगिएको छ ।
त्यस वडाले कृषकको भ्रमणका लागि एक लाख ५० हजार बजेट विनियोजन गरेको थियो । तर सोहि रकमबाट वडाकै जनप्रतिनिधि, सचिव र अन्य ठूला–वडाले मोजमस्ति गरेका छन् । ‘कृषि भ्रमण भनिएतापनि वास्तविक कृषकलाई भ्रमणबारे थाहा नै छैन ।’ मरासिनीले भने, ‘कृषकको नाममा जनप्रतिनिधि र गाउँका हाकिमले मोजमस्ति गरे ।
अर्का स्थानीय गोपाल मरासिनीले पनि कृषकहरुलाई कुनै जानकारी नै नदिई गाउँका ठूला–बडाहरु कृषकको नाममा मोजमस्ति गर्नु दुखद कुरा भएको बताए । ‘कृृषि भ्रमणमा वास्तविक कृषकलाई अधिकतम समावेश गर्नुपर्ने हो ।’ उनले भने, ‘तर कृषकको नाममा सुकिला–मुकिला मात्रै भ्रमणमा गए ।
कृषि भ्रमणको नाममा एक बसमा ३० जनाले तिन दिनसम्म घुमफिर गरेका थिए । भ्रमणमा वडाध्यक्ष गन बहादुर गुरुङ्ग, वडा सदस्य हरी प्रसाद पोखरेल, महिला सदस्य जानका मरासिनी, दलित महिला सदस्य गिता विक र वडासचिव डिल्लिराज आचार्य समावेश थिए ।
त्यस्तै नेपाली काङ्ग्रेसका वडा सभापति केशव मरासिनी, पूर्व एमालेका वडाध्यक्ष राम प्रसाद मरासिनी, काङ्ग्रेसका स्थानीय नेता हुमा पोख्रेल, जनसहयोग माध्यमिक विद्यालयका शिक्षक कृष्ण प्रयासी लगायतका व्यक्तिहरुले पनि व्यवसायिक कृषकको नामबाट भ्रमण गरेका छन् ।
रेसुङ्गा नगरपालिका ६ भित्र ठुलाचेक्मी, अत्तरकाडाँ, लप्सी, हर्राचौर, निन्नुखर्क, गुरुङ गाउँ लगायतका गाउँ पर्दछन् । वार्डका जनप्रतिनिधिले ठूलाचेक्मीको मुनलाईट बोर्डिङ स्कूल नजिकमा आफू अनुकलका केहिलाई बोलाएर कृषि भ्रमणमा गएको स्थानीयले गुनासो गरेका छन् ।
नेपाली काङ्ग्रेसका वडा सभापति मरासिनीले भने आफूलाई अकस्मात खबर गरी भ्रमणमा समावेश गराइएको गुनासो गरे । आफू काम विशेषले बुटबल गएको बेला वडा सचिवले फोन गरेपछि मात्र तम्घास आई भ्रमणमा समावेश भएको बताए ।
उनले आफ्नो जाने इच्छ्या नहुँदा नहुँदै पनि सचिवले भनेपछि गएको भन्दै पानी माथिको ओभानो बन्न खोजे । ‘कृषकको नाममा हामीहरु गएको भ्रमण ठिक लागेको छैन, त्यत्ति फलदायि पनि भएन ।’ उनले भने, ‘केवल राज्यको ढुकुटी रित्ताउने काम भएको छ ।’
वडा सचिव आचार्यले नगरपालिकाको कार्यालयबाट स्वीकृति लिएर कार्यालय बन्द गरी भ्रमण गएको बताए । वडाका प्रत्येक कृषि समूहमध्येबाट एक÷एक जना, जनप्रतिनिधि र आफूसहितको समूह कृषि भ्रमण गएको उनले स्वीकर गरे ।
जनसहयोग माविका शिक्षक प्रयासीलाई पनि समूहले नै छनोट गरेकोले भ्रमणमा समावेश गरिएको उनले बताए । त्यस्तै वडाध्यक्ष गुरुङको निर्देशनअनुसार आफूले भ्रमणमा जाने सदस्यहरुलाई फोन गरेको पनि प्रतिक्रिया दिए ।
वडा सदस्य हरी प्रसाद पोखरेलले भने केहि ब्यक्तिहरुले वडा कार्यालयबाट अनावश्यक फाइदा लिन नपाएकोले विरोध गरेको प्रतिक्रिया दिए । कृषि भ्रमणको क्रममा बन्दीपुरको बाख्रा फर्म, गोरखाको कामधेनु गाई फर्म, स्याङ्जा वालिङमा माटो बिना गरिएको तरकारी खेती, तनहुँको घाँस खेति लगायतका क्षेत्र अवलोकन गरेको समेत बताए ।
पोखरा र लुम्बिनीको सम्बन्धमा उनले आफूहरुले अवलोकन गर्ने क्षेत्र मिलेकोले केहिबेर पर्यटकिय स्थललाई समय दिएको मात्र बताए । भ्रमण गएर फर्केपछि चारवटा जर्सी गाई कृषकले ल्याएको र दुध निर्यात हुन थालेको समेत उनले दाबी गरे । सबै दलहरुलाई मिलाई वार्डमा सन्तुलित ढङ्गले काम गर्न काङ्ग्रेस सभापति लगायतलाई भ्रमणमा समावेश गरिएको समेत उनले बताए ।
वडाध्यक्ष गुरुङसँग धेरैपटक सम्पर्क गर्न खोजेपनि सफल हुन सकेन । वडामा ब्यवसायिक बेमौसमीक तरकारी खेती, कागती र सुन्तला विस्तारको लागि एक÷एक लाख, व्यवसायिक पशुपालन पकेट क्षेत्रको लागि दुई लाख लगायतका क्षेत्रमा बजेट विनियोजन भएपनि अझैसम्म पनि काम सुरु हुन नसकेको स्थानीयको भनाई रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend