साझा नेटवर्क
टोपलाल अर्याल , गुल्मी जेष्ठ १७।
कुनै बेला पसलमा गएर सेनेटरी प्याड माग्न डराउने जिल्लाको विभिन्न स्थानका महिलाहरुलाई अहिले घरमै सेनेटरी प्याड बनाउँछन् ।
रेसुंगा नगरपालिका ६ की गीता कुमारी पुनले त्यहि पात्र हुन् । उनी अहिले आफै प्याड बनाउँछिन । आफैले प्याड बनाएपछि उनलाई महिनावारी भएका बेला प्याड किन्न बजार धाउनु पर्दैन् । ‘आफै प्याड बनाउँछु, पैसा पनि बच्यो, स्वस्थ पनि रह्यो,’उनले भनिन,‘अहिले आफैलाई निर्वाह भएको छ, बिस्तारै बेच्ने हो ।’
प्याड बनाउन जानेकी सत्यवति गाउँपालिका ८ की माया थापा पनि आफैले प्याड बनाउन जानेकोमा खुशी छन् । उनी प्रजनन स्वास्थ्यका बारेमा पनि खुलेर बोल्न सक्छिन् । ‘पहिले समुहमा प्याडका कुरा गर्न असहज लाग्थ्यो, अहिले कुनै समस्या छैन्,’उनले भनिन,‘अरुलाई पनि सिकाउँछु ।’ सत्यवति गाउँपालिका १ अस्लेवाकी मिना विकले प्याड बनाएरै बिक्री गर्छिन् । विकले अस्लेवाको बजारमा लामो समयदेखि सिलाई कटाई व्यावसाय संचालन गरेकी छन् ।
तालिम लिएपछि अहिले उनले प्याडको व्यावसायीक रुपमै बिक्री वितरण समेत गर्दै आएकी छन् । घरमै कपडाको प्याड बनाउने, महिनावारी भएका बेला प्रयोगमा ल्याउने र घाममा सुकाउने गर्छिन । ‘आफैंले बनाउँदा प्याड किन्ने खर्च बचत र व्यावस्थापनमा समेत सहज छ,‘उनले भनिन,’एउटै प्याढ थुप्रै पटक प्रयोग गर्न सकिन्छ ।’ वडा कार्यालयको आर्थिक सहयोग तथा सुआहारा २ को प्राविधिक सहयोगमा अहिले जिल्लाका ११ वडामा सेनेटरी प्याड बनाउने अभियान संचालन भएको छ ।
सत्यवति गाउँपालिकाका अस्लेवा, भार्से, जुनियाँ, लिम्घा, ठुलोलुम्पेक, कालीगण्डकी गाउँपालिकाको पुर्तिघाट, खडगकोट, भुर्तुङ्ग र फोक्सिङ्ग तथा रेसुंगा नगरपालिकाको ५ र ६ वडामा महिलाहरुलाई सेनेटरी प्याड बनाउने तालिम प्रदान गरिएको सुआहारा २ का वास संयोजक रामु पराजुलीले बताए । अब इस्मा, जोहाङ्ग, रुरु, अर्वेनी र हर्मिचौरमा प्याड बनाउने तालिम संचालन गर्ने योजना रहेको पराजुलीले बताए ।
हातले बनाउँदा एउटा प्याडलाई दुई घण्टा लाग्ने भएकाले तालिमको प्राथमिकतामा स्थानीय टेलर संचालकहरुलाई लिइएको सुआहारा गुल्मीले जनाएको छ । अहिले घरमै उत्पादन गरेको एउटा प्याडको मुल्य ५० रुपैयाँ छ । बजारमा पाइने एक प्याकेट प्याडको मुल्य एक सय ४५ रहेको छ । तर बजारको प्याड पुन प्रयोग नहुने र व्यावस्थापनमा समेत गाह्रो हुने भएकाले पुनः प्रयोग र व्यावस्थापनको हिसावले गाउँमै उत्पादन गरेको प्याड बढि उपयुक्त रहेको छ ।
सत्यवति गाउँपालिका ३ ठुलोलुम्पेकका वडाध्याक्ष रुक बहादुर रानाले पनि गाउँमा सेनेटरी प्याड बनाउने तालिम संचालन गरे । त्यो मात्रै नभएर सहि कार्यान्वयनको लागि अनुगमन समिति समेत बनाएको रानाले बताए । ‘अहिले बजारको प्याड प्रयोग गर्ने महिलाहरुमा कमी आएको छ,’उनले भने,‘महिलाहरु उत्साहित देखेको छु, अनुगमन पनि गर्छौ, अवश्य थप कार्यान्वयन हुन्छ ।’
अहिले करिव साढे तीन सय महिलाहरुले प्याड बनाउन सिकेका छन् । यो क्रियाकलापको प्रमुख उदेश्य भनेको समुदायमा महिनावारीको बेलामा प्रयोग गरिने घरेलु प्याड स्थानिय स्तरमा नै उत्पादन र विक्रि वितरणगरी स्वस्थ समुदाय निर्माण गर्न सहयोग गर्नुका साथै आयआर्जनको अवसर सिर्जना गर्नु रहेको सुआहारा २ गुल्मीका कार्यक्रम संयोजक ज्ञानदिप आचार्यले बताए ।
फोटो :१ सत्यवति गाउँपालिका १ अस्लेवाकी सिलाइकटाई व्यावसायी मिना विक । जसले स्थानीय स्तरमा आफैले प्याड बनाएर बिक्री वितरण गर्छिन् । फोटो :२ कालिगण्डकी गाउँपालिका ४ का महिलाहरु, प्याड बनाउने तालिम लिएपछि सामुहिक तस्विर खिचाउँदै ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend