साझा नेटवर्क
कमल पौडेल , बागलुङ चैत २८ ।
बडिगाड गाउँपालिकामा झण्डै ८० प्रतिशत विकास योजनाको सम्झौता सकिएको छ। गाउँपालिका भित्र झण्डै १६ करोड रुपैयाँका ३ सय १० भन्दा वढि योजना मध्ये २ सय ३१ भन्दा वढि योजनाको सम्झौता सकिएको हो।
ठूला योजनाहरुको सम्झौता सकिसकेको र काम तिव्र गतिमा भैरहेको वडिगाड गाउँपालिकाका प्रशासकिय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभएको छ। सम्झौता भएका मध्य एक सय भन्दा वढि योजनाले पेश्कि वुझिसकेका छन् भने झण्डै २५ योजनाको फरफारक सकि पूर्ण भुक्तानि भैसकेको छ।
झण्डै ३० ओटा योजना काम सकि फरफारकको प्रक्रियामा रहेका छन्। हाल सम्म झण्डै ३ करोड वजेट योजनाहरुले लगिसकेको वडिगाड गाउँपालिकाका लेखापाल जोकलाल घर्तिले जानकारी दिनुभएको छ। योजना सम्झौतामा समस्या भएको भन्दै स्थानियले गुनासो गरेपछि गाउँपालिकाले पालिका भित्रका खर्वाङ, ग्वालीचौर, भिमगिठे र दर्लिङमा पुगी योजनाहरु सम्झौता गरेको हो।
उता विषयगत कार्यालय र कार्यालयमा कर्मचारी नहुँदा कामहरु प्रभावित भएका छन्। हाल सम्म शिक्षा, कृषि, स्वास्थ्य र पुननिर्माण प्राधिकरण का शाखाहरु गाउँपालिकामा आए पनि पूर्ण कर्मचारीको व्यावस्था नहुँदा आशा गरेअनुरुप काम हुन नसकेको जनप्रतिनिधिहरुले गुनासो गरेका छन्। त्यस्तै महिला तथा वालवालिका, सहकारी, पशु लगाएतका कार्यालय अझै गाउँपालिका आएका छैनन्।
आउने प्रक्रियामा रहेका भनिएका ति विषयगत कार्यालय नआउँदा लक्षित कार्यक्रमहरु प्रभावित हुने देखिएको छ। गत असारमा आर्थिक वर्ष २०७४/७५ का लागि वजेट विनियोजन गरिएपनि विषयगत कार्यालय नहुँदा कतिपय योजना उपभोक्ता समिति मार्फत गरिएको छ। त्यस्तै वडिगाड गाउँपालिकामा एकै वडा सचिवले ४ ओटा वडा हेर्नुपर्ने वाध्यता रहेको छ। वडा नं. १ र २ का वडा सचिवको सरुवा भएको र वडा नं. ५ का वडा सचिव विदामा वसेपछि वडा नं. ३ का सचिव विर वहादुर थापाले वडा नं. १, २, ३ र ५ को काम गर्नुपरेको छ।
भौगोलिक रुपमा विकट ४ ओटा वडाको काम एकै सचिवले गर्दा सर्वसाधरणले सास्ती वेहोर्नुपरेको छ। वडिगाड गाउँपालिकाका १० ओटा वडा कार्यालयमा जम्मा ४ जना सचिवले काम गर्दै आएका छन्। त्यस्तै वडा सचिवले पञ्जीकरणको काम वाहेक अरुकाम हाम्रो होइन भनेपछि जनप्रतिनिधिलाई समेत समस्या परेको छ।
विभिन्न परिवेशवाट आएका जनप्रतिनिधिलाई वडा सचिवहरुले सकारात्मक रुपमा सहयोग नगर्दा आफूहरुलाई अफ्ठ्यारो परेको वडा अध्यक्षहरुले गुनासो गरेका छन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend