साझा नेटवर्क
हुमाकान्त पोखरेल , गुल्मी चैत १९ ।
गुल्मीका विभिन्न स्थानिय तहका नागरिकले स्थानिय स्वास्थ्य सँस्थाले प्रदान गर्ने सेवाप्रति गुनासो गरेका छन् । उनीहरुले स्थानिय स्वास्थ्यचौकीले प्रदान गरेको स्वास्थ्य सेवा सुविधाको पहुँच प्रभावकारी नभएको भन्दै गुनासो ब्यक्त गरेका हुन् ।
सेवा सुविधाको संबन्धमा नागरिक संस्था गा्रमीण साझेदारी विकास केन्द्रद्धारा जिल्लाका विभिन्न स्थानमा आयोजित सामाजिक परीक्षण कार्यक्रममा उपस्थित स्थानियले गुनासाहरु व्यक्त गरेका थिए । स्थानीय स्वास्थ्य संस्थाहरुमा दरवन्दी अनुसार स्वास्थ्यकर्मी अपुग भएको, प्रसुति केन्द्र स्थापना गर्नुपर्ने संचालनमा नआएको जस्ता समस्या स्थानियले राखेका छन् । ‘निशुल्क भनेका स्वास्थ्य सँस्थामा औषधी नै पाइदैन ।’ मदाने गाउँपालिका वार्ड नम्बर ७ का गुमा ओलेले भने, ‘स्वास्थ्य चौकि नाम मात्रका भए ।’
बिनाकारण स्वास्थ्य चौकिमै बस्नुपर्छ सेवाग्राही
जिल्ला सदरमुकाम तम्घासमा जिल्ला अस्पताल र केहि ठूला निजी अस्पताल भएपनि अधिकाशं नागरिकले सेवा लिने गाउँकै स्वास्थ्य सँस्थाबाट हो । तर गाउँका स्वास्थ्य सँस्थाका कर्मचारीले विभिन्न कारण देखाउदै आफ्नै कार्यालय सम्म पनि ब्यवस्थित बनाएका छैनन्। जसले गर्दा स्वास्थ्य संस्थाको व्यवस्थापकिय पक्ष फितलो देखिएको नागरिकको गुनासो छ । गाउँका स्वास्थ्य चौकिमा नागरिकका गुनासा सुन्ने र अनुगमन गर्ने कोहि नहुँदा उपचार गर्न अस्पताल जाने नागरिक हैरान बनेका छन् । ‘अस्पतालमा गएपनि कसैबाट राम्रो ब्यवहार पाइदैन, बिरामी पनि धेरैबेर बिनाकारण स्वास्थ्य सँस्थामा कुर्नपर्छ ।’ मदाने ५ का विजुला विकले भनिन्, ‘त्यसैमाथि समयमा औषधी पनि पाइदैन् ।’
आयब्यवय समेत सार्वजनिक हुँदैन
त्यसका साथै स्वास्थ्य संस्थाको आम्दानी खर्चको आन्तरिक लेखा परीक्षण गरी सार्वजनिक नगरेको पाइएको छ । ‘अस्पतालको आयब्ययबारे स्थानियलाई अहिलेसम्म कुनै जानकारी छैन ।’ मदाने गाउँपालिका वार्ड नम्बर ६ का असिम विकले भने, ‘स्वास्थ्य सेवाको पारदर्शिताबारे कसरी विश्वास गर्ने ?’ यसका अतिरिक्त ग्रामीण क्षेत्रमा अझैपनि दलित, विपन्न र अल्पसंख्यक समुदायका नागरिकहरुको पहुँचमा स्वास्थ्य सेवा पुग्न नसकेको स्थानीय नागरिकहरुको भनाइ रहेको छ ।
सरोकारवाहरुलाद्धारा सुधार्ने प्रतिबद्धता
मदाने गाउँपालिका वडा नम्बर ५ मलायगिरी, ६ पुर्कोटदह र ७ भनभनेका स्वास्थ्य सँस्थामा चैत्र १४ देखि १६ गतेसम्म सामाजिक परिक्षण गरिएको थियो । कार्यक्रममा गाउँपालिका प्रतिनिधि क्रृषिराम पोखरेल, स्वास्थ्य संयोजक वावुराम मरासिनी, सम्बन्धित वडाका वडाध्यक्षलगायतका जनप्रतिनिधिहरुले उठेका जिज्ञासाको जवाफ दिएका थिए । सरोकारवालाहरुले भने स्थानीय स्वास्थ्य संस्थाहरुमा कर्मचारी, औषधी र उपकरण अभावका कारण स्वास्थ्य सेवाको गुणस्तर कमजोर हुदै गएको बताउदै अब त्यसालाई सुधार्ने प्रतिबद्धता जायर गरेका छन ।
सामाजिक परीक्षणमा सहभागी स्वास्थ्य सरोकारवालाहरुले आगामी आर्थिक वर्षदेखि थप कर्मचारी व्यवस्था गर्न गाउँपालिका, प्रदेश र केन्द्रमा माग गर्ने, प्रसुति केन्द्र स्थापनाका लागि तत्काल पहल शुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै अत्यावश्यक औषधी नियमित आपुर्ति गराउन पहल गरिने, स्वयंसेविकाहरुलाइ न्युनतम प्रोत्साहन भत्ता व्यवस्था गरिने, स्वास्थ्य संस्था आन्तरिक लेखापरीक्षण गरी आय व्यय सामाजिक परीक्षण मार्फत सार्वजनिकिकरण गरिने पनि प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य सेवामा लक्षित समुदायका नागरिहरुको पहुँच बढाउने, स्वास्थ्य संस्थाको नियमित अनुगमन गर्ने, गुनासो सुनवाईको तत्काल व्यवस्था मिलाउने, जस्ता साझा सार्वजनिक प्रतिवद्धताहरु जारी गरेका थिए । यसभन्दा अगाडी धुर्कोट गाउँपालिका वार्ड नम्बर ३ हाडहाडेका नागरिकले पनि स्वास्थ्य चौकिप्रति असन्तुष्टि राखेका थिए ।
समग्र जिल्लाका हालत उस्तै
स्थानीय नागरिक संस्था गा्रमीण साझेदारी विकास केन्द्रका सामाजिक परीक्षक रामप्रसाद खनालले अझैसम्म पनि जिल्लाका अधिकाशं भेगमा स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको बताए । केहि ठाँउहरुमा सामाजिक परिक्षण गर्दा नै ठूलो गुनासो आउनुले जिल्लाको समग्र स्वास्थ्य अवस्था दयनिय अवस्थामा रहेको उनको भनाई छ । ‘अझैपनि नागरिक विभिन्न स्वास्थ्य सेवाबाट बञ्चित भइरहेका छन् ।’ खनालले भने, ‘यसप्रति सम्बन्धित निकायले छिट्टै ध्यान दिनुपर्छ ।’
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend