साझा नेटवर्क
साझा नेटवर्क , काठमाडौं फागुन २८ ।
पृथ्बी राजमार्ग अन्तरर्गत त्रिशूलीबाट देवीघाटतर्फ गइरहेको मिनीबस दुर्घटना हुँदा गम्भीर घाइते भएकामध्ये दुई जनाको आइतबार राति मृत्यु भएको छ ।
उपचारका लागि काठमाडौँ ग्राण्डी लैजाँदै गर्दा विदुर नगरपालिका–५ पिपलटारका २७ वर्षीय ईश्वर नेपाली,२५ वर्षीया बिमला डंगोलको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।
उक्त मिनिबस त्रिशूलीबाट देवीघाटतर्फ जाँदै गरेको बा.१ ख ६५१९ नं को बस गुडिरहेको समयमा आइतबार अपराह्न पांग्रा खुस्किएर विदुर नगरपालिका–५ पिपलटारमा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका बेलकोटगढी नगरपालिका–८ जिलिङका ३५ वर्षीय गुरुप्रसाद नेपाल र उनको पाँच वर्षीय छोरा प्रवेश नेपाल, धादिङ बैरेनीका ३७ वर्षीया दीपा सुनारलाई थप उपचारका लागि काठमाडौ पठाइएको प्रहरीले जनाएको छ ।
अन्य चार जना घाइतेको जिल्लास्थित नुवाकोट सिटी अस्पताल विदुर र सञ्जीवनी अस्पताल बट्टारमा उपचार भइरहेको बताए । घाइते भएका नौको अवस्था सामान्य भएपछि घर फर्किएका छन् । दुर्घटना भएको गाडीधनी एवम् चालक विनपा–५ पिपलटारका देवेन्द्रराज गजुरेललाई कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend