साझा नेटवर्क
गुल्मी फाल्गुण २५ गते ।
सडक निर्माणको क्रममा धुलोको मात्रा अत्याधिक हुँदा गुल्मीमा प्रदूषणको दर बढेको छ । धुलो ब्यबस्थापनको लागि चासो नदिँदा गुल्मीबासीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ । हुनत हिउँद महिनामा धुलाम्य सडक नहुने कुरै भएन तर पनि जताततै डोजर चलाइएका कारण यस बर्ष सडकहरु अत्याधिक धुलाम्य भएका छन । बिशेष गरी रीडि – रुद्रबेणी वामीटक्सार सडकखण्ड निर्माणको क्रममा अहिले सडक निकै धुलाम्य बनेका छन ।
यो सडक मात्र होइन सदरमुकाम तम्घासदेखी सीमलटारी सम्मको सडक आयोजना, तम्घास–इन्द्रगौडा सडक आयोजनाको अवस्था पनि उस्तै छ । सडक वारपार बनाउन लागीएका नाली तथा भित्ताहरु उठाउने क्रियाकपाल भइरहँदा धुलोको मात्रा बढेको छ । साथै पिच नगरीएसम्म सडक अत्यन्तै धुलो हुने देखिएको छ । जसले गर्दा यात्रुहरु तथा सडक वारीपारी बसोबास गर्ने जनताहरुको जनजीवनमा नकारात्मक असर परीरहेको छ ।
‘दिनभर धूलो आएर दिक्क बनाउँछ, यसले हाम्रो स्वास्थ्यमा गम्भीर असर भइरहेको छ’ मुसिकोट नगरपालिका ७ वामीका सिटि एक्सप्रेस मनि ट्रान्सफरका मेनेजर बिष्णु चुँदालीले भने ‘सडक पक्की गर्न भनेर निर्माण थालीएदेखी झन धुलोको मात्र ह्वात्तै बढ्यो’ । बिष्णु जस्तै धुलोसँग सम्बन्धित समस्या नभोग्ने मानिसहरु शायदै भेटिएलान्। वर्षातको समयमा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकको नियती हो। यस क्षेत्रका बासिन्दाले हिलो र धुलोबाट मुक्ति अझै सकेका छैनन् ।
धुलोकै कारण विभिन्न रोगहरु पाल्न बाध्य छन् गुल्मीबासी । धुलो छल्न मास्क, मफलर प्रयोग गरे पनि धुलाका मसिना कण हावासँगै फैलिएर फोक्सोसम्म सजिलै पुग्ने चिकित्सकहरु बताउँछन्। साथै धुलोका कारण आँखामा पनि उस्तै समस्या देखिने गरेका छन । ‘सवारी हाँक्दा चस्मा नलगाएसम्म हिड्न सकिदैन, आँखा भरी धुलोका कण गएर समस्या हुन्छ’ धेरै मोटरसाइकल चालकहरुको गुनासो यस्तै हुने गर्छ ।
वातावरण मन्त्रालयको तथ्यांक अनुसार धुवाँ र धूलोमा २.५ पीएमभन्दा साना कणहरु प्रत्यक्ष मानिसको फोक्सोमा पुग्ने गर्छ । विभिन्न अनुसन्धान अनुसार खाना नखाई मानिस तीन हप्तासम्म र पानी नपिई २–३ दिनसम्म बाँच्न सक्छ। तर, हावा बिना ३ मिनेटभन्दा बढी बाँच्न गाह्रो हुन्छ।
एउटा स्वस्थय मानिसले औसत प्रतिमिनेट ९२ पटकसम्म सास फेर्छ। त्यस क्रममा लगभग ६ लिटर अक्सिजन शरीरले ग्रहण गर्छ। हावा प्रदुषित बनेपछि मानिसले लिने अक्सिजनमा पनि प्रदुषण मिसिएको हुन्छ। प्रदूषित हावाका कारण ७२ प्रतिशतलाई मुटु रोग, १४ प्रतिशतलाई दम तथा खोकी, १४ प्रतिशतलाई फोक्सोको क्यान्सर चिकित्सकहरुले बताउछन ।
अक्सिजन नै प्रदुषित लिएपछि मानिसहरुलाई हरेक प्रकारका रोगहरु लाग्ने वामीमा मेडिकल ब्यबसाय गरीरहेका निरज भण्डारीले बताए । मासिनलाइ सबैभन्दा बढी हावा, पानी र खाद्यान्नले रोग सिर्जना गर्ने उनले बताए । हामीले सास फेर्ने हावामा सामान्य आँखाले देख्न सकिने र नसकिने धुलोका अनेक कण हुन्छन्।
तीमध्ये केही धेरै हानिकारक हुन्छन् त केही सामान्य हानी गर्ने हुन्छन्। सडक निर्माणमा वातावरणीय असर नपुग्ने गरी काम गर्दा धुलो कम हुने बताइन्छ । सडकमा जथाभावी फोहोर नफाल्ने र नजलाउँने हो भने पनि प्रदूषण कम हुने बिश्वास गर्न सकिन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend