logo
  • आइतबार, असोज ११ २०८३

प्रहरी, कर्मचारी र गाउँपालिका उपाध्यक्षले भत्काइदिए गरिब महिलाको घर


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल, गुल्मी फागुन १४ ।
गुल्मीकी एक महिलाको घर अर्घाखाँचि प्रहरी र गाउँपालिकाका उपाध्यक्ष सहित बन कार्यालयले सोमबार साँझ भत्काइदिएको छ । गुल्मीको धुर्कोट गाउँपालिका वार्ड नम्बर १ नयाँगाउकी ४२ बर्षिय पमिता खनालको घर अर्घाखाँचि प्रहरी, मालारानी गाउँपालिका र गुल्मी, अर्घाखाँचि बन कार्यालयले भत्काइदिएका हुन् । पिडित खनालका श्रीमान २२ बर्षदेखि बेपत्ता छन् । खनालको घरमा केहि बर्षअघि चट्याङ परेको थियो ।

घरमा चट्याङ पर्दा एक बच्चासहित गोठमा भएका वस्तुभाउको समेत ज्यान गएको थियो । घरमा चट्याङ परि घर पनि भत्किएपछि स्थानिय समाजसेवी, बुद्धिजिवी लगायतले उनलाई नजिकैको खालि जग्गा घर बनाउन दिएको धुर्कोट गाउँपालिकाका प्रवक्ता तथा नयाँगाउका वडा सदस्य कविता विकले बताइन् । १० बर्षअघि ति महिला स्थानियले प्रदान गरेको जग्गामा छाप्रो बनाएर गुजारा चलाउदै आएकी थिइन् । अहिले घर पनि बनाउन लागेकी थिइन् तर प्रहरी र केहि अर्घाखाँचिका मानिस आएर पक्कि घर समेत भत्काइदिएको पिडित महिलाले गुनासो गरिन् ।

घर भत्काइदिएसँगै गरिब खनाल परिवारको अहिले सडकको बास भएको छ । घर भत्काउने टोलिमा स्थानिय राजनीतिक ब्यक्तित्व जनार्दन खनाल समेत रहेको ति महिलाले बताइन् । महिलाले घर बनाएको जग्गामाथि मुद्धा परेकोले प्रशासनले भत्काएको बुझिएको छ । यससम्बन्धि खन प्रहरी चौकी कर्यालयका प्रमुख गम्भिर थापाले महिलाको घर आफूहरुले नभई बन कार्यालयले भत्काएको बताए । प्रहरीले भत्काउने नभई सुरक्षा दिने भएकोले आफूहरुले नभत्काएको दाबी गरे ।

किन भत्काइयो खनालको घर ?

अर्घाखाँचि मालारानी गाउँपालिकाको मसुरा सामुदायिक बनले खन प्रहरी चौकिलाई बन अतिक्रमण रोक्ने बिषयमा पत्र पठाएको थियो । पत्रमा ति महिलाले बनाउदै गरेको घर निर्माण कार्य रोक्न पनि प्रहरीलाई आग्रह गरेको खन प्रहरी चौकिका प्रमुख गम्भिर थापाले बताए । ११ गते आएको पत्रबारे प्रहरीले महिलालाई जानकारी गराएको थापाले दाबी गरे । तर आफूहरुको घर निर्माण कार्य रोक्ने अनुरोध महिलाले नमान्दा घर भत्काउन सुरु गरिएको प्रहरीले बताएको छ ।

मालारानी गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्री, मालारानी गाउँपालिका वार्ड नम्बर ३ का कार्यवाहक वडाअध्यक्ष दिपा पोखरेल सहितका वडा सदस्यहरु, जिल्ला बन कार्यालय गुल्मीका प्रमुख विशाल घिमिरे, अर्घाखाँचिका बन कार्यालयका प्रमुख, नयाँगाउँका वडाध्यक्ष नविन जिसी, वडासदस्य चेतमान कुँवर लगायतको रोहवरमा घर भत्काउने प्रयास गरिएको खन प्रहरी चौकीका प्रमुख थापाले स्वीकार गरे ।

गाउँपालिका उपाध्यक्ष घर भत्काउनमा ब्यस्त रहदा भने मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य शर्माले आफूलाई घटनाबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिए । त्यस्तै अर्घाखाँचिका प्रमुख जिल्ला अधिकारीले पनि आफूलाई घटनाबारे कुनै जानकारी नआएको बताए । मालारानी ३ का कार्यवाहक अध्यक्ष पोखरेलले आफूलाई एक्कासी जानकारी दिई बन कार्यालयले आफूहरुको कुरै नसुनी घर भत्काएको प्रतिक्रिया दिइन् ।

नयाँगाउँका अध्यक्ष जिसीले आफूहरुलाई मालारानीका जनप्रतिनिधि र बन कार्यालयका प्रतिनिधिले अपमान गरी महिलाको घर भत्काएको बताए । त्यस्तै वडासदस्य चेतमान कुँवरले आफूहरुले घर भत्काउने सुचना टाँस्न भन्दापनि नटासिकन जबरजस्ती घर भत्काइएको बताए । धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले मालारानी गाउँपालिका र मसुरा सामुदायिक बन उपभोक्ता समूह र दुवै जिल्लाका वन कार्यालयका प्रतिनिधिहरुले गतल काम गरेको आरोप लगाए ।

धुर्कोट गाउँपालिकाको घर भत्काउदा समेत आफूहरुलाई कुनै जानकारी नदिइनु निन्दनिय भएको पोखरेलले बताए । धुर्कोट गाउँपालिका उपाध्यक्ष शिव खत्रीले आफूहरु अब मालारानी गाउँपालिका उपाध्यक्ष, बन कार्यालयका प्रतिनिधि लगायत विरुद्ध कानुनी प्रक्रिायमा जाने बताए । मसुरा सामुदायिक बनमा पर्ने भनिएको उक्त जग्गा धुर्कोट गाउँपालिकाभित्रै पर्ने गाउँ प्रवक्ता विकले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend