साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी फागुन ६ ।
बन डढेलो नियन्त्रणसम्बन्धि सरोकारवाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला वन कार्यलय गुल्मीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बन डढेलो नियन्त्रणका उपायहरु, जिल्ला बन कार्यलयले नियन्त्रणका लागि गरेका कार्यहरु, सामुदायिक बन उपभोक्ता समूहले गर्नुपर्ने कार्यहरु लगायतको विषयमा छलफल भएको थियो ।
फागुनदेखि जेष्ठसम्म हुने मौसमी गर्मी तथा तापक्रम बृद्दि, लाहापरवाही र आगोलाई सानो गल्तिको रुपमा लिने कारणले आगलागिका घटना बढी हुने गरेका छन् । त्यस्तै डढेलो नियन्त्रणमा समुदायको कम सक्रियता, गाउँघरमा झाडि सफा गर्ने, अरिङ्गाल पोल्ने, अर्को बर्ष घाँस पलाउने नाममा आगो लगाउने कार्यले पनि आगलागिका घटना बृद्धि भएका हुन् । आगो लागिसकेपछि नेपाली सेना, नेपाल प्रहरी लगायतका सुरक्षा निकायको मात्र भर पर्नु, आगो निभाउने उचित सामाग्री तथा जनशक्तिको अभाव लगायतका कारणले पनि आगलागिका घटना हुने सहभागिहरुले बताएका छन् ।
४५% अति भिरालो र भिरालो जमिन जिल्लामा छ । भौगोलिक विकटता, सरल तथा शिघ्र पहूंचको अभाव, मानवीय अज्ञानता, असावधानी तथा दुराशययुक्त कृयाकलाप र समुदायस्तरमा सकृय जनशक्तिको अभावले गर्दा पनि अगालागिका घटनाहरुमा बृद्धि हुने गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रमुख अनुरागकुमार द्धिवेदीले बताए । गुल्मी जिल्लामा रहेको कुल बनक्षेत्रमध्ये ३०% वनक्षेत्रमा सल्ला र साल रहेको छ । खोला किनार र गर्मी हुने क्षेत्र तथा भिरालो क्षेत्रमा सल्लाको रुख हुने भएकोले आगो नियन्त्रणबाहिर जाने जिल्ला बन कार्यलयका ना.सु. नविन पन्थीले बताए ।
जिल्लामा बन डढेलो नियन्त्रण गर्न जिल्ला बन कार्यलयले विद्यालय तथा समुदायमा अन्तरक्रिया, सुचना प्रवाह, प्रर्चा–पम्पलेट टाँस्ने लगायतका प्रयासहरु गरेको छ । समुदायमा आधारित ब्यवस्थापन, वन उपभोक्ता समूह स्तरमा छलफल, सचेतना अन्तरकृया, तालिम, भिडियो डकुमेन्ट्री, फिल्डस्तरमा वन डढेलो नियन्त्रण संजाल, जनशक्ति परिचालन, सावधानी, पूर्वतयारी र क्षमता विस्तारमा पनि बन कार्यलयले जोड दिएको कार्यलय प्रमुख विशाल घिमिरेले बताए ।
बन डढेलो नियन्त्रणका लागि उपयुक्त सामागी्रको अभाव, दक्ष जनशक्तिको अभाव आदिजस्ता बिषयहरु चुनौतिहरुको रुपमा देखिएका छन् । त्यस्तै सामुदायिक बनको नीति र स्थानियको जिवन मेल नखानु पनि नियन्त्रणका समस्याहरु देखिएका छन् । यसलाई जनचेतना विस्तार, यथासक्य शीघ्र सूचना, पर्याप्त तयारी, श्रोतसाधन प्राप्ति र जनशक्ति परिचालन, सवारी साधन र सामग्रिहरुको उपयोग, समन्वय र सहकार्य तथा कानूनी कारबाहीद्धारा नियन्त्रण गर्न सकिने सहभागिहरुले बताएका थिए ।
जिल्ला बन कार्यलय गुल्मीले जिल्लामा भएका वडाहरुलाई आगलागिको जोखिमका आधारमा तिन भागमा विभाजन गरेको छ । कार्यालयले बढी, मध्य र कम संवेदनशिल क्षेत्रमा विभाजन गरी काम गरिरहेको छ । जसअन्तरगत अर्खले, तम्घास, जुभुंग, हस्तिचौर, वडागाउँ, मुसिकोट, दर्लामचौर, वाग्ला, पराल्मी, दिव्रुंग, मर्भुंङ्ग, सिर्सेनी, नेटा, भनभने, हरेवा र शान्तिपुरलाई बढी संवेदनशिल क्षेत्र मानिएको छ । त्यस्तै सिमिचौर, वलेटक्सार, घमिर, वामी, दुविचौर, रुरु, हाडहाडे, अष्लेवा, दुविचौर, दरवारदेविस्थान, दोहोली, नयागाउँलाई मध्यम संवेदनशिल क्षेत्रमा राखिएको छ ।
त्यस्तै ठुलोलुम्पेक, दौंघा, छापहिले, पुर्कोटदह, इस्मारजस्थल, धुर्कोट रजस्थल, वस्तु, जैसिथोक, बाँझकटेरी, भार्से, भुर्तुंङ्ग, अर्वेनी, हर्मिचौर, तुरांग, हंसरा, दिगाम र पल्लीकोटलाई पनि मध्यम संवेदनशिल क्षेत्र र अन्य सबै वडाहरुलाई कम संवेदनशिल क्षेत्रमा विभाजन गरिएको जिल्ला बन कार्यलयले जनाएको छ ।
गुल्मीमा ४४९ सामुदायिक वन उपभोक्ता समूहहरु रहेका छन् । जिल्ला, इलाका र चौकी गरेर १८ वटा प्रहरी कार्यालयहरु, नेपाली सेना, सशस्त्र प्रहरी बन डढेलो नियन्त्रणमा सक्रिय भूमिका खेलेका छन् । जिल्ला वन कार्यालय अन्तर्गतका २ वटा सवारी साधन र जिल्ला बन कार्यालयमा रहेका १२ सेट डढेलो नियन्त्रणका सामग्रिहरु डढेलो नियन्त्रणमा प्रयोग हुँदै आएका छन् ।
जिल्लामा डढेलो नियन्त्रणका लागि जम्मा एक सय ९० जनाले मात्र तालिम लिएको बन कार्यालयको तथ्याङ्क रहेको छ । जसअन्तरगत ८० जना नेपाली सेना, ३४ जना नेपाल प्रहरी, ५० जना शसस्त्र प्रहरी बल र २६ जना नेपाल रेडक्रस सोसाइटी रहेको जिल्ला बन कार्यालय गुल्मीका प्रमुख विशाल घिमिरेले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend