logo
  • आइतबार, असोज ११ २०८३

घरमै निशुल्क कुखुरा पाएपछि विपन्न आमाहरु खुसी


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल, गुल्मी माघ १७ ।
इस्मा गाउँपालिका २ की गीता कुवंर २ मंसिरमा सुत्केरी भइन् । उनको घरमा साढे दुई महिनाको छोरा छ । यो बेला उनलाई पौष्टिक आहाराको निकै जरुरत पर्दछ । गाउँमा खान मन लागेको सवै थोक सहज रुपमा पाइदैन् । मन लाएको तरकारी र माछा मासु खान सदरमुकाम पुग्नै पर्छ,’सुआहारा २ कार्यक्रम गुल्मीले वितरण गर्ने कुखुरा लिन आएकी गीताकी सासु बेल कुमारी कुवंरले भनिन,‘अव अण्डाको लागि सहज भयो ।

त्यस्तै सोहि स्थानकी कल्पना कुवंरको पनि १५ महिनाको छोरी छन् । पाँच वटा कुखुरा निशुल्क पाएपछि उनी पनि निकै खुसी छन् । ‘गाउँमा मासुको लागि बोइलर बाहेक पाइदैन, त्यो स्वास्थयकर हुँदैन रे,’उनले भनिन,‘स्याल र चिलबाट बचाउन सके अण्डा प्ररस्तै हुने भए ।सोहि स्थानकी गंगा मुखियाको घरमा पनि चार महिनाकी सुत्केरी बुहारी छन् । बिपन्न परिवार भएकाले हप्ता दिनमा एक पटक पनि माछा मासु सम्भव छैन् । त्यसैले पनि कोखिलामा कुखुरा च्यापेर घर फर्कदै गरेकी गंगाको मुहारमा फिका मुस्कान थियो । ‘पाँच वटा कुखुरा फ्रि मा पाउँदा खुुसी नहुने त कुरै भएन,’उनले भनिन,‘ अझ दैनिक एउटा अण्डा दिन्छ रे ।

झण्डै १६ हजार कुखुरा वितरण

गुल्मीका गर्भवतीदेखि सुत्केरी अवस्थासम्मका अति बिपन्न तीन हजार एक सय ५४ जना आमाहरुलाई झण्डै १६ हजार कुखुरा वितरण गरिदैछ । एच.के.आईको आर्थिक तथा प्राविधिक सहयोगमा सुआहारा २ कार्यक्रमले यो बर्ष १५ हजार सात सय ७० कुखुरा वितरण गर्दैछ ।

सुआहारा कार्यक्रम मार्फत जिल्ला विकास समिति गुल्मीले निर्धारण गरेका अति विपन्न घर परिवारहरुलाई कुखुरा बितरण गरिरहेको छ । साविकका १९ गाविसका तीन हजार एक सय ५४ घरधुरीका लागि १५ हजार सात सय ७० कुखुरा वितरण गर्ने सुआहारा कार्यक्रमको घरयासी खाद्यान्य उत्पादन तथा बजारीकरण अधिकृत प्रदिप थापाले बताए ।

अहिलेसम्म साविकका १५ गाविसमा १२ हजार पाँच सय २८ वटा कुखरा वितरण गरिएको छ । अब पाँच वटा स्थानमा कुखुरा बितरण गर्न बाँकी रहेको सुआहारा गुल्मीले जनाएको छ ।

इस्मा गाउँपालिकाका १ र दुई वडामा मात्रै मंगलबार दुई सय ७५ आमाहरुलाई एक हजार तीन सय ७० कुखुरा बितरण गरिएको छ । एक घरपरिवार वा एक आमाहरुलाई पाँच वटाका दरले कुखुरा वितरण गरिएको छ । उनीहरुलाई दुईवटा भाले र तीन वटा पोथी वितरण गरिएको छ ।

पौष्टिक आहारको उपयोग दर बढाउने उदेश्य

सुआहारा गुल्मीका कार्यक्रम संयोजक ज्ञानदिप आचार्यका अनुसार आमाहरुलाई न्यू हेम्पसायर र ब्ल्याक स्टरलक नामक कुखुरा वितरण गरिएको हो । यो प्रजातीका कुखुराले वर्षदिनमा दुई सय ८० भन्दा बढी अण्डा उत्पादन गर्दछ ।

सुनौलो हजारका आमा र बच्चालाई पोषणयुक्त खानाको रुपमा अण्डा राम्रो हुने भएकोले आफुहरुले कुखुरा वितरण गरेको कार्यक्रम संयोजक आचार्यले बताए । गर्भवती भएदेखि बच्चा दुई वर्षको हुँदासम्मको दिनलाई सुनौला हजार दिन भनिन्छ ।

यो अवधिमा बच्चाको ८० प्रतिशत दिमागको विकास हुने भएकोले पनि यो समयमा पौष्टिकयुक्त खानाको निकै आवश्यकता पर्दछ । जुन तत्व अण्डाबाट बढी प्राप्त हुने सुआहारासंगको साझेदार संस्था एकिकृत ग्रामिण विकास समाजका कार्यकारी निर्देशक गणेश श्रीपालीले बताए ।

‘अण्डामा एउटा सिंगो शरीर निर्माण हुने तत्व पाइन्छ,’उनले भने,‘गर्भवती हुँदा आमाले खानुपर्ने र बच्चा छ महिनाको भएपछि स्वयमलाई नै खुवाउनुपर्छु ।’ कुखुरा वितरण गर्दै इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले सुआहारा कार्यक्रमले महिला र विपन्न समुदायका लागि खेलेको भुमिका अत्यन्तै महत्पूर्ण भएको बताए ।

‘सुआहारा मार्फत धेरै महिला दिदि बहिनीहरुको खानपान र आनीबानीमा समेत परिवर्तन आएको पाएका छौ,’उनले भने,‘सुआहारा र गाउँपालिकाको संमन्वयमा धेरै काम गर्नुपर्ने छ ।’

कुखुरा पालत तथा नर्सरी व्यावस्थापन तालिम

कुखुरा पाउने साढे ३१ सय आमाहरुलाई दुई किसिमको तालिम समेत प्रदान गरिएको एकिकृत ग्रामिण विकास समाज गुल्मीका अध्यक्ष हिरा एसीले बताए । सवै आमाहरुलाई एक दिने कुखुरा पालन तथा एक दिने नर्सरी व्यावस्थापन सम्बन्धि तालिम प्रदान गरिरहेको उनले बताए ।

उनीहरुलाई १० प्रकारका तरकारीका बिउहरु पनि प्रदान गरिएको छ । भने कुखुरा पाउने साढे ३१ सय आमाहरु मध्ये ३० प्रतिशत झनै बिपन्न घर परिवारलाई वडा तथा गाउँपालिकाको सिफारिसको आधारमा खोर निर्माणका लागि १२ सय पनि प्रदान गरिएको अध्यक्ष एसीले बताए ।

तीन हजार एकसय ५३ को ३० प्रतिशत अर्थात नौ सय ४७ आमाहरुले अर्धबन्धित खोर निर्माणका लागि १२ सय पाउने छन् । जसका लागि ११ लाख ३६ हजार चार सय खर्च हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend