साझा नेटवर्क
गंगा खड्का, गुल्मी पुष २३ ।
संभावना भएरपनि मालिका गाउँपालिका – ५ छापहिलेको पर्यटकीय स्थल लेखपोखरा ओझेलमा परेको छ । वर्षका एकदिन माघे संक्रान्तिका दिन विशेष मेला लागेपनि अन्य समयमा यस ठाउँको चर्चा कम मात्रामा हुने गरेको छ । समुन्द्री सतहदेखि करिव २ हजार मिटर उचाइमा अवस्थित लेखपोखरामा आकर्षक ऋषिकेश मन्दिर निर्माण गरिएको छ ।
ग्रामीण पर्यटनको उच्च संभावना भएकाले यस ठाउँलाई सम्वन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन् । छापहिलेको बस्तीदेखि माथीको जंगलको बीचभागमा आकर्षक मन्दिर र स्नानका लागि पोखरी निर्माण गरिएको छ । माघी मेलामा आएका दर्शकहरुले पोखरीमा स्नान र मन्दिरमा पुँजापाठ गर्दै आइरहेको छापहिलेका स्थानीय राम बहादुर जिसीले जानकारी गराए ।
यस क्षेत्रलाई पिकनिकस्थलको रुपमा समेत विकास गर्न सकिन्छ उनले भने, फाट्टफुटट् आन्तरिक पर्यटकहरु आएपनि भौतिक पूर्वाधारको अभावले विकास हुन सकेन । रोजगारका लागि कतारमा पुगेका गाउँका यूवाहरुले मन्दिर निर्माणका लागि करिव १३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको उनले जानकारी गराए ।
यस क्षेत्रलाई ग्रामीण पर्यटनसँग जोडेर विकास गर्नुपर्ने उनले बताए । लेखपोखराको डाँडाबाट अन्नपूर्ण, धौलागिरी, माछापुच्छ्रे लगाएत हिम श्रृखंलाहरुको नजिकबाट दृश्वालोकन गर्न सकिन्छ । गुल्मीका अधिकांश गाउँसहित छिमेकी जिल्ला बाग्लुङ, पर्वत, प्यूठान र अर्घाखाँची लगाएतका गाउँहरुको समेत यस स्थानबाट दृश्वालोकन गर्नसकिने स्थानीयले बताए ।
स्थानीय बयोवृद्ध ७७ वर्षिय नर बहादुर खड्काका अनुसार लेखपोखरा क्षेत्र नजिकै रहेको उल्टेढुंगा (भ्यूस्टोन)बाट पञ्चायतकालमा राजा चढ्ने घोडा लडेर भीरको पहरोमा टाँसिएको इतिहास छ । पहरोमा रहेको ढुंगामा घोडाको छाप टाँसिएको जस्तो आकृति हेर्नका लागि आन्तरिक एवं बाह्य पर्यटकहरु बेलाबेला पुग्ने गरेको उनले जानकारी गराए ।
ऐतिहासिक र पुरातात्विक हिसावले यसक्षेत्र महत्वपूर्ण रहेको बुढापाकाहरु बताउछन् । वि.सं १७१२ मा रुरु गाउँपालिका स्थित बलेटक्सारका तपस्वि बालानन्द ज्ञवालीले तपश्या भ्रमणको शिशिलामा लेखपोखरीको निर्माण गरेको इतिहास रहेको छ । उक्त समयमा ज्ञवालीले जंगलको बासबसी, कन्दमुल खाएर फलामको ‘चिम्टा’ले पोखरी निर्माण गरेको किम्वदन्ती रहेको छ ।
शुरुशुरुमा यस पोखरी क्षेत्रमा कुस्ती, भजनकिर्तन र दोहोरी गाउँने गरिएपनि हिजोआज बन्द गरिएको छ । पछिल्लो समय नयाँ पुस्ताहरुको पहलमा मेलाको आयोजना गरिँदै आएपनि राज्यले ध्यान नदिँदा यस क्षेत्रको विकास हुन नसकेको गाउँलेहरुले गुनासो गरेका छन् ।
यस क्षेत्रको अवलोकनका लागि आउने पर्यटकहरुलाई लक्षित गरी छापहिले गाउँमा ‘होमस्टे’ संचालन गर्नसकिने समेत स्थानीयले बताएका छन् । सालझण्डी–ढोरपाटन सडक नजिकै रहेको यस क्षेत्रमा पुग्नका लागि सडकको सहज सुविधा पुगेको छ ।
माघी मेलामा जिल्लाको रुरुक्षेत्रधाम (रिडी) र लेखपोखरामा मात्र मेला लाग्ने गर्छ । माघीमेलामा करिव सात हजार दर्शालु भक्तजनहरु पुग्ने गरेको लेखपोखरा तिखाचुली पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष अशोककुमार खड्काले जानकारी गराए ।
यस क्षेत्रको प्रवद्र्धन गर्न सके समग्र जिल्लाको आर्थिक विकासमा टेवा पुग्न सक्छ, उनले भने, जिल्लामा थुप्रै पर्यटकीय संभावना छन् । तर, राज्यको ध्यान नपुग्दा ओझेलमा परे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend