साझा नेटवर्क
हुमाकान्त पोखरेल
२४ मंसिर, गुल्मी । गुल्मी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ प्रदेश ‘ख’ बाट निर्वाचित दिनेश पन्थीको जन्म विस २०२८ चैत १ गते मदाने गाउँपालिका वार्ड नम्बर ७ भनभनेमा भएको हो । पिता हुमाकान्त पन्थी र माता पवित्रा पन्थीको कोखबाट जन्म लिएका दिनेश सानैदेखि विद्यार्थी आन्दोलनमा सहभागि थिए । २०३७ सालमा अनेरास्वयुबाट राजनीतिक यात्रा सुरु गरेका पन्थीले भारतको बनारसबाट वि.ए. सम्मको अध्ययन गरेका छन् ।

निमाविमा पढ्दाखेरी प्रारम्भिक कमिटीको अध्यक्ष, ०३८ सालको अन्त्यतिर इलाका कमिटीको १२ नम्बर इलाकाको अध्यक्ष, ०४१ सालमा जिल्ला कमिटीको सदस्य, ०४१ को अन्त्यतिर अनेरास्ववियुको सह सचिव भई काम गरेका पन्थी ०४३ सालमा देश निकाला भएर भारत प्रस्थान गरेका थिए । भारतमा पुगेपछि पनि उनी निरन्तर विद्यार्थीकै काममा लागिरहे । त्यहाँ उनले अखिल भारत नेपाल स्वतन्त्र विद्यार्थी युनियन बनारस जिल्ला कमिटीको अध्यक्ष भई काम गरे । ०४४ सालमा भारतकै उत्तर प्रदेश कमिटीको सचिव र ०४६ सालमा अखिल भातर नेपाल प्रवासी संघकोसचिव भएका पन्थी ०४७ सालमा केन्द्रिय सदस्य भए । त्यस्तै ०५४ सालमा केन्द्रिय कार्यलय सचिव तथा ०५६ सालमा अखिल नेपाल भारत प्रवासी संघको महासचिव भई विद्यार्थीका समस्याहरु तथा सामाधानका उपायहरु तथा राष्ट्रिय राजनीतिलाई जनिकबाट बुझ्न पाए । जसले गर्दा उनलाई अझै जिम्मेवार र परिपक्व बनाउन सहयोग ग¥र्यो ।
यहि परिपक्वताले उनी ०५६ मा भारत प्रवास ब्युरोको कार्यलय सचिव र राष्ट्रिय परिषद् सदस्य भए । ०५८ सालमा नेकपा मालेको केन्द्रिय सदस्य भई काम गरे । देशको राष्ट्रिय राजनीतिले कोल्टे फेर्न लाग्यो । यसैक्रममा ०६५ मा नेकपा माले क्रान्तिकारी र नेकपा माओवादी बिच एकता भयो । कुशल र अनुशासन नेतृत्व भएका पन्थीलाई पार्टी एकता भएपनि कुनै गुट–उपगुट नभईकट सबैले सर्वसम्मत स्वीकारे । पार्टी एकताकै समयमा उनी केन्द्रिय सदस्य जस्तो गरिमामय पदमा रहेर काम गर्ने अवसर पाए । केन्द्रिय सदस्य रहेकै समयमा उनी पाल्पा, गुल्मी, अर्घाखाँचि लगायतका जिल्लाको पार्टी इन्चार्ज भएर अधिकाशं जिल्लाका समस्याहरु राम्रोसँग बुझे । त्यसबेला उनले पार्टीमा गरेको योगदान र त्यागकै कारणले गर्दा उनी हाल नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य छन् । एउटा कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्य जस्तो पदमा पुग्ने पन्थी गुल्मीकै निकै सोझा तथा इमानदार राजनितिज्ञको रुपमा चिनिन्छन् ।
के छन् अबका एजेण्डा
गुल्मीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ प्रदेश ‘ख’ मा बाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रबाट विजयी बनेका दिनेश पन्थीले प्रदेशको मुहारै फेरीने गरी काम गर्ने बताएका छन् । आगामी ३ महिनासम्म प्रदेशभित्रका सम्पूर्ण बिजुली बत्ति नभएका घरहरुमा बिजुली पु¥र्याउने, २ बर्षसम्म खरका छाना विस्थापित गरी जस्ता पाताको ब्यवस्था गर्ने र जस्ता पाता निःशुल्क उपलब्ध गराउने, ५ बर्षभित्र एक घर–एक धारा को ब्यवस्था गर्ने लगायतका कामहरु अगाडी सारेका छन् । जलविद्युतको उत्पादन गरी उद्योग धन्धाको स्थापना गरी आगामी ५ बर्षसम्म बेरोजगारीको अन्त्य गर्ने, प्रत्येक गाउँपालिकामा न्यूनतम २५ शैयाको अस्पताल स्थापना गरी सेवा सुचारु गर्ने, २ बर्षभित्र गाउँपालिका केन्द्र र ४ बर्षसम्म वडाकेन्द्रमा जाने बाटो पिच गर्ने, प्रत्येक वार्डमा न्यूनतम एउटा निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने जस्ता योजना अगाडी सारेको बताए ।
त्यसैगरि विचित्र गुफा, कंके देउराली, मदाने मालिका, धुर्कोटको कोट, नेटामा रहेको तिखेचुली, लेखपोखरा जस्ता धार्मिक एवम् पर्यटकिय स्थलको उचित संरक्षण गरी पर्यटन विकासमा सहयोग पु¥र्याउने, ति क्षेत्रहरुलाई प्रदेशको तर्फबाट पनि उचित बजेटको ब्यवस्था गरी प्रचार प्रसारमा सहयोग पु¥र्याउने र प्रदेशलाई नमुना प्रदेश बनाउने लगायतका योजना रहेको उनले बताएका छन् । प्रदेशमा सिंचाई, हाते ट्याक्टर लगायतका सामाग्रीहरुको ब्यवस्था गरी आधुनिक कृषि प्रणालीको ब्यवस्था गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत जस्ता विकासका पूर्वाधारहरुको प्रत्याभूत गर्ने पनि उनको भनाई छ । पशुपालनका लागि विशेष योजना बनाउने र प्रदेशलाई मासुमा आत्मनिर्भर बनाई निर्यात समेत गर्ने, उत्पादन भएका कृषिका सामाग्रीहरुको निर्यातको लागि बजार र यातायातको ब्यवस्था गर्ने, उत्पादित जनशक्तिलाई प्रदेशमै परिचालन गर्ने तथा सर्टिफिकेट राखेर रोजगारीको ब्यवस्था गर्ने पनि उनले प्रतिबद्धता जनाएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend