साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी कार्तिक १७।
विभिन्न पार्टीका केन्द्रिय नेता तथा राष्ट्रिय राजनीतिमै प्रभाव पर्ने नेताहरु गुल्मीमा एक आपसमा चुनावी मैदानमा उत्रिएका छन् । जसले गर्दा यसपटकको गुल्मीको निर्वाचन निकै रोचक हुने देखिएको छ ।
जिल्लामा मतका हिसाबले पहिलेदेखि नै नेकपा एमाले पहिलो, नेपाली काङ्ग्रेस दोस्रो र नेकपा माअोवादी तेस्रो पार्टी हुन् । तर तत्कालिन अवस्थामा तिन निर्वाचन क्षेत्र रहेको गुल्मीमा २०६४ सालमा २ क्षेत्र माओवादी केन्द्र तथा १ क्षेत्र एमालले जितको थियो ।त्यसैगरि २०७० को निर्वाचनमा दुई क्षेत्र काङ्ग्रेस र १ क्षेत्र एमालले जितेको थियो ।
१४ असारमा सम्पन्न स्थानिय निकायको निर्वाचनमा जिल्लाका १२ स्थानिय तहमध्ये ७ स्थानिय तह एमाले एक्लैले जितेको थियो । त्यसैगरि काङ्ग्रेस एक्लैले ३, काङ्ग्रेस–माओवादी तालमेलबाट एक तह माओवादी केन्द्र र एक स्थानिय तह काङ्ग्रेसले जितेको थियो ।
गुल्मीमा तुलनात्मक हिसाबमा काङ्ग्रेसभन्दा बाम गठबन्धनका मतदाताहरु धेरै रहेका छन् । तरपनि केन्द्रीय स्तरका नेताहरु चुनावी प्रतिस्पर्धामा आएपछि निर्वाचन निकै रोचक हुने अनुमान गरिएको छ । हाल गुल्मीमा प्रतिनिधिसभामा दुई निर्वाचन क्षेत्र रहेका छन् ।
सत्यवती, कालिगण्डकी, चन्द्रकोट, छत्रकोट, गुल्मी दरवार, रुरु गाउँपालिका र रेसुंगा नगरपालिकाको ७ देखि १४ वडासम्म क्षेत्र नम्बर एकमा समावेश छन् । एक नम्बर निर्वाचन क्षेत्रमा बाम गठबन्धनबाट एमालेका प्रदिप ज्ञवाली र काङ्ग्रेसबाट चन्द्र भण्डारी चुनावी प्रतिस्पर्धामा छन् ।
ज्ञवाली एमालेका केन्द्रिय सचिव हुन् । पार्टीमा गुटका हिसाबले उनी पार्टी अध्यक्ष के.पी. ओली निकट मानिन्छन् । भण्डारी काङ्ग्रेसका केन्द्रिय सदस्य हुन् । पहिलो संविधानसभाको निर्वाचनमा ज्ञवाली र दोस्रो संविधानसभाको निर्वाचनमा भण्डारी विजयी भएका थिए । उनीहरु दुवै संविधानसभाको निर्वाचनमा झिनो मत अन्तरले विजयी भएका थिए ।
यी केन्द्रीय नेताबीच क्षेत्रमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । दुवै नेता प्रदेश नम्बर ५ अखण्ड राख्ने आन्दोलनमा संगै सक्रियताका साथ लागिपरेका थिए । धुर्कोट, मदाने, इस्मा, मालिका गाउँपालिका, मुसिकोट नगरपालिका र रेसुङ्गा नगरपालिकाका वार्ड नम्बर १ देखि ६ निर्वाचन क्षेत्र नम्बर २ मा पर्छन ।
यस निर्वाचन क्षेत्रमा बाम गठबन्धनका तर्फबाट एमालेका गोकर्ण विष्ट र काङ्ग्रेसबाट चन्द्र केसीले उम्मेद्धवारी दिएका छन् । विष्ट पार्टीका केन्द्रिय सचिव हुन् । उनी ०७० को निर्वाचनमा झण्डै ६ हजार मतअन्तरले विजयी भएका थिए । केसी कांग्रेस गुल्मीका पूर्व सभापति र पूर्व जिविस सभापति समेत हुन् ।
दुई प्रतिनिधिसभासँगै गुल्मीमा चार प्रदेशसभा निर्वाचन क्षेत्र पनि निर्माण भएका छन् । जसअन्तरगत निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ मा रुरु गाउँपालिकाको वार्ड नम्बर २, ५ र ६, कालिगण्डगी, सत्यवती र चन्द्रकोट गाउँपालिका पर्छन् । यस प्रदेश सभामा गठबन्धनबाट माओवादी केन्द्रका सुदर्शन बराल र कांग्रेसबाट पृथ्वी फौदार चुनाव लड्दैछन् ।
गठबन्धनका बराल २०६४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी भएका थिए ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’ मा रुरु गाउँपालिकाको वार्ड नम्बर १, ३ र ४, रेसुङ्गा नगरपालिकाको वार्ड नम्बर ७ देखि १४, गुल्मीदरबार र छत्रकोट गाउँपालिका समावेश छन् ।
यस सभामा गठबन्धनबाट एमालेका कमलराज श्रेष्ठ र कांग्रेसबाट धनेन्द्र कार्कीले टिकट पाएका छन् । श्रेष्ठले गुल्मी २ बाट २०५१ सालमा प्रतिनिधि सभा चुनाव जितेका थिए । त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ को ‘क’ मा रेसुङ्गा नगरपालिकाको वार्ड नम्बर १ देखि ६, इश्मा गाउँपालिका र मुसिकोट नगरपालिका पर्दछन् ।
यस सभाको निर्वाचनमा बाम गठबन्धनबाट एमालेका खड्ग केसी र कांग्रेसका तर्फबाट शालिक पन्थीको उम्मेद्धावारी दर्ता छ । धुर्कोट, मदाने र मालिका गाउँपालिका गरी निर्वाचन क्षेत्र नम्बर २ को ‘ख’ निर्माण गरिएको छ ।
यसमा बाम गठबन्धनबाट माओवादी केन्द्रका दिनेश पन्थी र कांग्रेसबाट छन्द पहराई चुनावी प्रतिस्पर्धामा उत्रने भएका छन् ।
आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गुल्मीमा बाम गठबन्धन बलियो देखिएको छ । स्थानीय निकायको निर्वाचनमा दलहरुले पाएको मतको आधारमा गठबन्धन बलियो देखिएको हो । गुल्मीमा हाल २ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र छन् । कालीगण्डकी, सत्यवती, चन्द्रकोट र रुरु गाउँपालिकाको वार्ड नम्बर २, ५ र ६ समावेश गरि प्रदेश सभा १ निर्माण भएको छ ।
यो प्रदेशमा स्थानीय निकायको निर्वाचनको सदर मत ३५ हजार दुई सय ९१ हो । जसमध्ये नेकपा एमाले र नेकपा माओवादी केन्द्र अर्थात बाम गठबन्धनको २० हजार चार सय ६३, नेपाली काङ्ग्रेसको १४ हजार सात सय पाँच र अन्य दलको एक सय २३ मत रहेको जिल्ला निर्वाचन कार्यलय गुल्मीले जनाएको छ ।
प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा बाम गठबन्धन काङ्ग्रेस भन्दा पाँच हजार सात सय ५८ मतले अगाडी रहेको छ । रुरु गाउँपालिकाको वार्ड नम्बर १, ३ र ४ सहित छत्रकोट, गुल्मी दरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकाको वार्ड नम्बर ७ देखि १४ सम्म गरि प्रदेश सभा २ को निर्माण गरिएको छ ।
यस प्रदेश सभामा स्थानीय निकायको निर्वाचनमा ४५ हजार २६ कुल सदर मत रहेको छ । जसमध्ये बाम गठबन्धनले २२ हजार चार सय १६, नेपाली काङ्ग्रेसले १५ हजार एक सय ९४ र अन्य दलले एक सय ९५ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यलयका नायब सुब्बा श्याम पाण्डेले जानकारी दिए ।
प्रदेश नम्बर २ मा पनि बाम गठबन्धन काङ्ग्रेस भन्दा सात हजार दुई सय २२ मतले अगाडी देखिएको छ । रेसुङ्गा नगरपालिकाको वडा नं १ देखि ७ सम्म, इश्मा गाउँपालिका र मुसिकोट नगरपालिका गरी प्रदेश सभा ३ निर्माण भएको छ । स्थानीय तह निर्वाचनमा यो प्रदेशको कुल सदर मत २८ हजार ५३ रहेको थियो ।
जसमध्ये बाम गठबन्धनले १५ हजार आठ सय ७७, नेपाली काङ्ग्रेसले १२ हजार १५ र अन्य दलले एक सय ६१ मत प्राप्त गरेको नायव सुब्बा पाण्डेले बताए । यो प्रदेशमा पनि बाम गठबन्धन काङ्ग्रेस भन्दा तीन हजार आठ सय ६२ मतले अगाडी रहेको छ ।
गुल्मीको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ४ मा धुर्कोट, मदाने र मालिका गाउँपालिका रहेका छन् । स्थानीय निकायको निर्वाचन अनुसार यस सभामा ३२ हजार तीन सय ३८ मत सदर भएको छ । जसमध्ये एमाले र माओवादीको कुल मत २० हजार आठ सय ९५ र काङ्ग्रेसको ११ हजार तीन सय २३ रहेको छ ।
अन्य दलहरुले एक सय २० मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । यो प्रदेशमा गठबन्धन सबैभन्दा धेरै नौ हजार पाचँ सय ७२ मतले अगाडी रहेको छ ।
गुल्मीमा कुल एक लाख ९६ हजार तीन सय ४२ जना मतदाता रहेका छन् । जसमध्ये निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख पाँच हजार चार सय २५ जना र निर्वाचन क्षेत्र नम्बर २ मा ९० हजार ९ सय १७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यलयका प्रमुख गणेश बहादुर खत्रीले बताए ।
गएको स्थानीय निकाय चुनावमा गुल्मीमा एक लाख ८० हजार सात सय ७५ मतदाता रहेका छन् । प्रतिनिधिसभा सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ अनुसार गुल्मीमा दोस्रो चरण अन्तगरगत मंसिर २१ मा निर्वाचन हुन लागेको हो ।
जसका लागि कार्तिक १६ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने र उम्मेदवारको मनोनयनपत्र दर्ता भएको सूचि प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
त्यस्तै १७ गते उम्मेदवारको विरुद्धमा उजुरी दिने, १८ गते मनोनयनपत्र र उजूरी उपर जाँजबुझ गरी निर्णय गरी नामावली प्रकाशन गर्ने, १९ गते उम्मेदवारको नाम फिर्ता लिने, पुन उम्मेदवारको नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन अनुगमन अधिकृत दुर्गा प्रसाद बस्यालले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend