साझा नेटवर्क
????????????????????????????????????
टोपलाल अर्याल, गुल्मी कार्तिक ७ ।
आगामी मंसिर २१ गते हुने प्रदेश तथा प्रतिनिधी सभा निर्वाचनका लागि सरकारले म्यादी प्रहरी भर्ना आह्वान गरेसंगै सदरमुकाम तम्घास युवायुवतीले भरिएको छ । गुल्मी, अर्घाखाँची, प्युठान र बाग्लुङ्ग लगायतका स्थानबाट म्यादीमा भर्ना हुन आएकाहरुले सदरमुकामका होटल, चोक र गल्लीहरुमा भिड लागेको छ ।
गुल्मीका लागि आवश्यक एक हजार ८४ कोटामा दुई हजार दुई सय ४४ जनाले आवेदन दिएका छन् । जसमा एक हजार आठ सय ५३ पुरुष र तीन सय ९३ जना महिलाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाले बताए ।
दोहारिदै रेसुंगा नगरपालिका ७ का मोहन पन्थीले दोस्रो पटक म्यादी प्रहरीको फाराम भरेर लिखित समेत दिए । उनी गएको स्थानीय निकायको चुनावमा पनि म्यादी भई काम गरिसकेका छन् । पन्थी पहिले पनि म्यादी प्रहरीमा काम गरेकाले छनौट हुनेमा विश्वस्त छन ।
गाउँमा खाली बसेर के गर्ने, उनले भने,’ ‘केहि दिनलाई भएपनि पैसा र अनुभव दुवै हुन्छ ।’ गुल्मी सिर्सेनीका २० बर्षिया ऋषिराम पन्थीको मनसाय पनि उस्तै छ । ‘गाउँमा रोजगारी छैन,’ उनले भने,‘गफिएर समय बर्बाद गर्न भन्दा घरखर्च र अनुभवका लागि आवेदन दिए ।’
उनी पनि स्थानिय निकायको निर्वाचनमा म्यादी प्रहरी भई काम गरिसकेका छन् । इस्मा गाउँपालिका २ की बिष्णु बाहोरा भाई टिकाको भोलीपल्ट नै कुदेर सदमुकाम तम्घास आइन् । बोहोरा जस्तै अधिकांश आवदेकहरु भाई टिकाकै साँझ नै सदरमुकाम आए थिए ।
म्यादी प्रहरीका आवेदक पुरुषहरु मध्ये अधिकांश विदेश गएर फर्किएका छन् । गुल्मी दरबार ४ विरबास भट्टेचौरका केयरसिंह राकस दुवईमा तीन वर्ष बसेर फर्किए । ‘ज्यानको बाजी थापेर प्रदेश पसेपनि पुगेन,’उनले भने,‘ सधै गाउँमै म्यादी प्रहरी बन्न पाए बिदेश जाने मन छैन् ।’ बिदेश गएका मात्र होइन माविदेखि स्नातक अध्ययन गर्ने बिद्यार्थी समेत म्यादीमा भर्ना हुने सोचका साथ आएका छन् ।
सत्यवति गाउँपालिका ४ लिम्घा एक्सीङ गाउँकी नविना सारु स्नातक तह अध्ययन गर्छिन । गाउँमा डिग्री गरेपनि रोजगारी छैन,‘उनले भनिन,‘भरखर्चकै कारण दुई महिना पढाई छोडेँ ।’ त्यस्तै छिमेकी जिल्ला अर्घाखाँचीबाट आएकी सिता पुरी पनि स्नातक दोश्रो वर्षमा अध्यान गर्छिन । उनको पनि समस्या उस्तै छ ।
आगामी मंसिर २१ गतेको प्रदेश तथा प्रतिनिधी सभा निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुनेहरुले सदरमुकामका होटलहरु भरिएका छन् । जसका कारण होटल व्यावसायी समेत उत्साहित भएका छन् । ‘आवेदन शुरु भएसंगै नै होटलमा भिडभाड छ,’ सृजना होटलका संचालक ढाल बहादुर कुवंरले भने,’एक हप्तादेखि १०÷१२ जना नियमित खाने बस्ने गर्छन् ।’
यो क्रम तालिम अवधिसम्म रहने उनले बताए । अहिले करिव २३ सय जना आवेदक सदरमुकामका विभिन्न होटलमा छन् । लगभग आधा जसो छनौट पश्च्यात घर फर्कन्छन भने करिव ११ सय जना सदरमुकाममै रहनेछन् । ‘अहिले सम्म दुई हजार÷२५ सय खर्च भइसक्यो,’इस्मा गाउँपालिका ४ का खिम बहादुर बस्नेतले भने,‘होटलमा बसिएको छ, अझै कति पुग्ने हो ।’
कार्तिक ५ देखि ८ सम्म छनौट हुने म्यादी प्रहरीको अन्तिम नतिजा प्रकाशन भने कार्तिक १० गते हुनेछ । कार्तिक १२ देखि २४ गतेसम्म तालिममा सहभागि हुने म्यादी प्रहरीको कार्यअवधि ५५ दिनको हुने जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
म्यादी प्रहरीका लागि पूर्वसुरक्षाकर्मी, विदेशी सेनामा काम गरेका, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको भर्ना छनोटमा शारीरिक परीक्षा पास गरेका तर लिखितमा छनोट नभएका, सेवानिवृत्त वनरक्षक म्यादी प्रहरी छनोटको प्राथिमकतामा पर्ने जिल्ला प्रहरी कार्यालयका प्रवत्ता गंगा बहादुर थापाले बताए ।
हरेक म्यादी प्रहरीले नेपाल प्रहरीको जवानले पाए सरहको तलव भक्ता तथा सेवा सुविधा पाउनेछन । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको छनौट समितिले म्यादी प्रहरी छनौट गर्ने उनले बताए ।
म्यादी प्रहरीको सेवा अवधी ५५ दिनको हुनेछ । म्यादी प्रहरीको छनौट प्रक्रियामा शसस्त्र प्रहरी बल गुल्म गुल्मी र नेपाली सेनाको टोलीले व्यावस्थापनमा सहयोग पुराइरहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend