logo
  • सोमबार, असोज १२ २०८३

सरकार, सक्छौ भने भारतिय बजारको नेपाली तिहार अन्त्य गर


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल,गुल्मी कार्तिक १।
तिहारमा दिदीबहिनीले दाजुभाईलाई सुःख–शान्ति,दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै टिका र माला लगाईदिन्छन्।घरमा फुलेको फुलको माला र चिउरीको पातबाट बुनेको टपरिमा सेलरोटी दिई तिहार पर्व मनाउने प्रचलन छ। यसरी आफ्नै शैलिमा मनाउने तिहारमा आजभोलि भने फरकपन आउन थालेको छ। त्यत्तिमात्र होइन,सदरमुकामका तिहार बजारमा पनि अहिले स्वदेशि उत्पादन समेत विक्रिको लागि राखेको देख्न मुस्किल पर्छ ।

बार्षिक करोडौको फुल र माला आयात गरिने नेपालमा त्यसको असर गुल्मीमा पनि परेको छ। गुल्मीका सदरमुकाम तम्घासमा अहिले सबै भारतबाट ल्याइएका उनिका मालाहरु विक्रिको लागि राखिएको छ । जसले गर्दा गाउँघरको फुलको मालाको महत्व घट्दै गएको छ। माला मात्र होइन, अहिले अधिकाशं तिहार बजार भारतबाट आयात गरिएका बस्तुहरुले भरिएको छ।

एकदिन म म रेडियोबाट बिहान ८ बजेको समाचार पढेर कोठामा फर्कदै थिँए। त्यत्तिबेला बिहानको करिब ९ बजिसकेको थियो । तम्घासको चिदिचौरमा बदाम, कपडा, थरिथरिका माला,घाँजि लगायका विभिन्न तिहारका सामाग्री बेच्न बसेका एकजना बुद्धकोमा ओखर किन्न सोधे । म एकछिन त्यहि उभिए । मैले सोधे,यीनि तिहारका सामाग्री कहाँबाट आयात हुन्छन बुबा ? उहाँले सजिलैसित भन्नुभयो,‘भातरबाट । यहाँ त के छ र ?’

प्रत्येक बर्ष तिहारको समयमा बर्षौदेखि चिदिचौरमा फुटपात पसल गर्दै आउनुभएका उहाँले आफूले बेच्ने सामान ओखर बाहेक अरु सामाग्रीहरु त भारतबाटै आयात गरिएका हुदाँरहेछन् । उहाँकै छेउमा एकजना दिदीले तिहारका लागि चाहिने थरिथरिका टिकाहरु विक्रिको लागि राख्नुभएको थियो । छ÷सात थरि रङहरु विक्रिको लागि राख्नुभएकी उहाँले पनि भारतबाटै ल्याएका रङहरु विक्रि गर्नुहुँदो रहेछ । उहाँलाई पनि मैले कहाँबाट रङको बारेमा जिज्ञासा राख्दा भारतबाट ल्याएको हो भन्नुभयो ।

कुनै समय ओइलिएर वा कुहिएर खेर जाने प्रत्येक गाउँघरको फूल समेत अहिले बजारमा देख्न सकिन्न । गाउँघरमा फूलका बोट÷बिरुवाहरु पनि आफै उम्रिए उम्रियो, नत्र मानिसहरुले रोप्न छाडे । तिहार भित्रिएलगत्तै गाउँका स–साना हाट बजारदेखि सदरमुकाम तम्घासमा हाडे ओखर र झिनियाँ रोटि बाहेक अधिकाशं बजार भारतिय उत्पादनले भरिएको छ।

स्थानिय उत्पादनमा कसैको नजर पर्दैन । झ्याप्पै नजर पर्ने गरेको छ,तिनै भारतिय उत्पादनका कृतिम फूलमाला र खानेकुराहरुमा । विस्तारै सेलरोटीको चाख पनि नेपालीहरुमा हराउदैँ गएको छ । पसलका मिठाइमा आकर्षण बढ्दो छ। दाजुभाइलाई उपाहार दिने सामाग्री पनि अधिकाशं भारतिय उत्पादन नै रहेको ब्यवसायीहरु बताउछन् ।

तिहारका सामाग्री भारतिय बजारबाट बुटबल हुँदै सदरमुकाम तम्घास भित्रिने गरेका छन् । गलाभरी फूलका माला लगाउने कुरा अहिले बुढापाकाहरुलाई रहर भइसकेको छ । तिहारका सामाग्रीसँगै तिहारको मौलिक सँस्कृति पनि लोप हुँदै जान थालेको छ। मादल, मजुरा, मुरली अहिले देउसीँ भैलोमा कमै बज्छन् । जसका कारण स्थानिय मादल लगायतका बाद्यबाधन उत्पादन पनि धरापमा परेको छ। हरेक घर र पसल–पसलमा क्यासेटबाट सोरठिहरु घन्किरहेका छन, जुन हरेक नेपालीहरुलाई दोहो¥याई–दोहो¥र्याई सुनिरहुँ जस्तो लाग्छ। तर उ आफै गाउन भने जान्दैन । तिहारमा फेद न टुप्पाको भैलो भट्टाउनु र सोरठीका नाममा झाम्रे गाउनुसिवाय अरु ढङ्ग छैन ।

पछिल्ला कलाकारहरुले पनि देउँसी भैलोको नाममा झाम्रेलाई झाम्रे गित परिस्कृत गरेका छन् । त्यसमा सबै कलाकारहरुलाई मुछ्नु अन्याय हुन्छ । विभिन्न धार्मिक चरित्रमा गाइने सोरठीहरु निकै मर्मस्पर्शी छन् । विदेश हिड्न लागेका श्रीमानलाई विदेश जानबाट रोक्न परिवारजनसँग एउटी महिलाले गरेको विलौना कम मार्मिक छैन ।

‘कालिको शिर, सेतिको शिर, सोरठी रानीको दरिबार’, ‘बसै माइति राजै, मत जान्छ स्वामीको साथ’ जस्ता बर्षौ पुराना पश्चिम नेपालको झ–झल्को दिने देउसीँ भैलोमा गाइने गितहरु आजभोलि लोपुन्मुख अवस्थामा छन् । बदलिदो समय, परिस्थिति र बढ्दो बैदेशिक रोजगारिले हाम्रा कलाँ र सस्कृँतिहरु लोपुन्मुख अवस्थामा रहेका हुन ।

त्यसैले यस्ता विदेशी तथा आधुनिक सस्ँकृतिको अन्त्य गर्दै फेरी आफ्नै सँस्कृतिलाई जोगाउने बेला आएको छ। जसका लागि अघिल्लो पुस्ताले नेतृत्व हस्तान्तरण गर्न सक्नुपर्छ र अहिलेका युवापुस्ताले पनि बुढापाकाबाट लोपुन्मुख अवस्थामा रहेका धर्म सँस्कृति, समाजका मूल्य मान्यता र परम्परा सिक्दै ब्यवहारमा उतार्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend