साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी असोज २९ ।
आगामी मंसिर १० र २१ हुने प्रदेशसभा र प्रतिनिधिसभाको लागि म्यादी प्रहरीको आवेदन खुल्ला गरेसँगै गुल्मीमा फारम भर्नेहरुको घुँइचो लागेको छ । नेपाल प्रहरीले असौज २४ गतेदेखि ३० गतेसम्म आवेदन खुल्ला गरेपछि गुल्मी, अर्घाँखाचिँ, बाग्लुङ, प्यूठान लगायतका जिल्लाहरुबाट गुल्मीमा दरखास्त फारम भर्नेहरुको घुँइचो लागेको हो ।
बेरोजगार भएका कारण अहिले धेरैजसो युवाहरु म्यादी प्रहरीमा आवेदन दिन आउने गरेका छन् । ‘घरमा खालि बसेर जिन्दगी चल्दैन ।’ गुल्मी सिर्सेनीका २० बर्षिया ऋषिराम पन्थीले भने, ‘म्यादी प्रहरीमा काम गरेको पैसाले घरखर्च चलाउने योजना छ ।’ यसअघिको स्थानिय निकायको निर्वाचनमा म्यादी प्रहरी भई काम गरिसकेको उनी यसपालिको निर्वाचनमा पनि आफू छानिनेमा ढुक्क भएको बतउछन् ।
मालिका गाउँपालिका सिमलटारीका ४० बर्षिय खिम बहादुर दमाई पनि म्यादी प्रहरीमा फारम भर्न सदरमुकाम तम्घास आएका छन् । उनले पनि स्थानिय निकायको निर्वाचनमा म्यादी प्रहरी भई काम गरेका हुन् । घरमा बेरोजगार भएका कारण म्यादीमा भर्ना हुन आएको उनको भनाई छ । ‘गाउँघरतिर खासै काम पनि पाइदैन् ।’ उनले भने, ‘म्यादी प्रहरीमा काम गरेको पैसाले घरमा रासनपानी ल्याउने योजना छ ।’
भर्खरै भारतबाट घर फर्किएका इश्मा गाउँपालिका ५ रजस्थलका लक्षमण परियार पनि म्यादी प्रहरीको फारम भर्न तम्घास आएका छन् । यसअघिको स्थानिय निकायको निर्वाचनमा अयोग्य भएका उनी फेरी भर्ती हुने आशाका साथ फर्म भएका आएका हुन । घरमा खालि बसेर पैसा नआउने र रोजगारिका अन्य माध्यम पनि नभएकोले म्यादी प्रहरीमा भर्ति हुन आएको उनको भनाई छ ।
जसका लागि उनले बिहान–बेलुका दगुर्ने लगायतका नियमित ब्यायामहरु गर्दै आएका छन् । ‘बिहान बेलुका नियमित रनिङ जान्छु र अन्य समयमा पनि शारिरीक ब्यायामहरु गर्छु ।’ उनले भने, ‘यसअघिको निर्वाचनमा छनोट नभएपनि अब त पक्कै म्यादी प्रहरीमा छनोट हुन्छु ।’
पुरुष मात्र होइन् धेरैजसो महिलाहरु पनि बेरोजगार छन् । उनीहरु पनि केहि पैसा भएपनि आम्दानी गर्नको लागि म्यादी प्रहरीमा भर्ना हुने गरेका छन् । भर्खर बर्खायाम सकिएकोले धेरै मानिसहरु खालि छन् । यहि खालि समयको मौका छोप्दै अहिले धेरै महिलाहरु पनि म्यादी प्रहरीमा भर्ना हुन आएका छन् ।
‘हिँउदको समयमा खासै काम पनि पाइदैन, खालि बसेर पनि फाइदा छैन ।’ इश्मा गाउँपालिका हस्तिचौरका जमुना खत्रीले भनिन्, ‘बेरोजगार भइयो, त्यसैले खालि समयको सदुपयोग गर्दै दुई÷चार पैसा भएपनि आम्दानी गर्न म्यादी प्रहरीको फर्म भर्न आएकी हुँ ।’
म्यादी प्रहरी हुनको लागि नेपाली नागरिक हुनुपर्ने, कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रुपले तन्दुरुस्त रहेको र साधारण लेखपढ गर्न सक्ने हुनुपर्छ ।
एकजना म्यादी प्रहरीले एकजना नेपाल प्रहरी जवान सरह आधारभुत तलब १७,२३० का दरले ५५ दिनको पारिश्रमिक र राशन भत्ता, ७ दिनको लागि प्रतिदिन रु. २५० का दरले विशेष भत्ता र ७ दिनको लागि रु २५० का दरले खाजा खर्च, निर्वाचनको क्रममा घाइते भएका म्यादी प्रहरीलाई बढीमा एक लाख ५० हजार सम्म उपचार खर्च उपलब्ध गराइने जिल्ला प्रहरी कार्यलय गुल्मीका सुचना अधिकृत गगां बहादुर थापाले बताए ।
त्यसका साथै निर्वाचनको क्रममा म्यादी प्रहरीको मृत्यु भएमा निजको परिवारलाई १५ लाख, निर्वाचन अवधिभर तोकिए बमोजिम पोशाक प्रयोग गर्नका लागि प्रति म्यादी प्रहरी रु. ४००० खटिएको ठाउँमा आउन र जान तयारी स्वरुप प्रति म्यादी प्रहरी रु. १००० का दरले तयारी खर्च उपलब्ध गराइने जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
कार्तिक ५ देखि ८ सम्म छनौट हुने म्यादी प्रहरीको अन्तिम नतिजा प्रकाशन भने कार्तिक १० गते हुनेछ । कार्तिक १२ देखि २४ गतेसम्म तालिममा सहभागि हुने म्यादी प्रहरीको कार्यअवधि ५५ दिनको हुने जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend