logo
  • शुक्रबार, असोज ९ २०८३

जब प्रेमिकाको छोराले “मामा” भनेर बोलायो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

देबेन्द्र केसी, नयाँ दिल्ली ।
बसन्त ऋतु को पालुवा संगै पलाएको मेरो माया, स्कुलमा चियो र चर्चोको कारण बनेछ । बिचरीको नामको पछाडी मेरो थर जोडेर केतुकीको पातमा लेखिदिएर संगीले गिज्याउन थालेपछि स्कुल जाँदा रुन्चे मुख लगाएर मलाई सिकायत गरिन ।

म भने भित्री मनलाई प्रफुल्लित बनाउदै बाहिर रिसाएको भावमा संगीलाई सम्झाउने सर्त राखें तर उनको सिकायतमा पनि अघात माया लुकेको । सानु ! संगी लाई गाली गरेनी बन्नि त मेरै हो हैन र ? तपाई पढेर डाक्टर बन्नुस अनि मात्र ! फेरी अर्को सर्त अगाडी सारिन । म पनि मनको दैलो उघारेर तानाबाना बुन्छु अहो !

डाक्टर बनेर म सेतो कोटमा अनि मेरी सानु रातो साडीमा साँच्चि कस्तो देखिएला हगी । सपना साँचेको छु आफुले सेतो कोट लाउने र सानुलाई रातो साडी लगाईदिने । छिमेकी गाँउकी भएपनि पढने स्कुल एउटै थियो हाम्रो । स्कुल आँउदा सेतो कमिज, निलो पाईन्ट र गलामा टाई लगाएर आउने उनी साँच्चिकै परी थिईन ।

उनी साँच्चिनै राम्री हुन या मलाई राम्री लागेको खै, अघात माया लाग्थ्यो । मिलेका दन्त लहर , लामो केश अनि ठुला आँखा सबै भन्दा भाग्यशाली म नै छु जस्तो लाग्थ्यो उनको निश्चल माया पाउदा । म दश कक्षा मा थिए सानु आठमा पढ्थिन। स्कुलमा सामान्य हल्ला भएपनि मेरो अनि उनको घरमा हाम्रो मायाको सुईको पनि थिएन ।

मंसिर सुरु भए संगै गाँउमा लगनका पन्चेबाजा बज्न थाले । छिमेकको दाईको जन्ति भएर बुवा र म उनको गाँउमा जानु पर्ने भयो म प्रफुल्लित हुदै एक महिना अगावैबाट साँचेको लुगा लगाँए र जन्ति उनको गाँउमा हिड्यो । मनमनै सोचेँ आज बालाई लिएर म उनैलाई लिन हिंडेको छु । जन्ति उनको गाँउमा पुगेछ हर्ष बडाईं का साथ स्वागत गर्दै माईतिपक्षले सबैलाई फलैचामा लगेर राखे तर म उनैलाई खोजिरहेको छु नजर डुलाएर ।

खानपिन पछि मण्डपमा दुलही ल्याउन पण्डित बाट कासन भयो । केहीबेर पनि एक हुल केटीहरुले दुलहीलाई ल्याएर मण्डपमा राखे । म गदगद भएँ त्यहि हुलमा मेरी सानु पनि थिईन त्यो रातो सुट, निधारमा रातो टिका अनि रातो स्कार्फ साँच्चि बेहुली भन्दा राम्री भएर मेरी सानु मण्डपमा साथी बनेर बसेकी थिईन। नजर जुध्यो उनी मुसुक्क हाँसेर मुन्टो तल गरिन म भुतुक्कै भएँ। उनी बेहुली की साथी बेहुलाको साथी गजवको तारम्यता छ ।

प्रिति भोज सड्गै खायौ । जग्गेमा नबस्दा एकान्त मा माया साटेर बस्यौ। ‘अब हाम्रो पालो हैन र ? उनी लजाईन ।  जन्त आएका केटाहरु सबै रक्सी खाएर नाचिरहेका छन हजुरले नखाने अनि नाच्न नजाने’ ? अहँ न त छुदै छुन्न ! प्रतिकृया दिएँ । ‘केही पनि छुनुहुन्न’ उनी थप उत्सुक्ता पोखिन । ‘नाई ! तिमलाई बाहेक अरु केही छुन्न’। उनी रातोपिरो भईन । हुन पनि नसाले मेरो जिवनमा कहिल्यै घर गर्न सकेन ।

दुव्लो भएर पनि होला सोझो र सिधा सम्झिन्छ मेरो गाँउले । सानुको साथमा रात कट्यो । ‘किस ‘गर्न खुब मन भयथ्यो तर सानुले रोकिन ‘बिहेपछि मात्र ‘ । उज्यालो को लाली किरण सँगै दुलही अन्माएर जन्ती बाटो लाग्यो म सानुलाई हेरिरहेँ नेपथ्य सम्म । अश्रुको थोपा टप्प खस्यो म सम्हालिंए । राती घरमा बुबाले अन्यासै बोलाउनु भयो ।

अनि आमाकै अगाडी रिसाए जस्तो गरि सोध्नु भयो ‘त्यो केटी मन पर्छ तँलाई’ म छाँगा बाट खसे जस्तै भएँ । को केटी बुवा ? थाहा नभए जस्तो नगर बिहे मा त्यो राति, त्यो जग्गेमा बस्या केटी, हँ त्यो रातो सुट लाउने … तलाई गधा ! था छैन भन्ठान्या छस । लौ बित्यास पर्यो । हैन बा त्यतिकै ..म उम्किन खोजें ।

‘मैले त्यो केटीको बारेमा बुझेको थिए । राम्रो घरान की केटी रे,एक्ली छोरी ,पढाई मा अब्बल अनि अनुशासित छे रे ‘ तलाई मन पर्यो र ? बुवाको कुरा सुनेर म हर्ष र उत्कण्ठाले भरिएछु । मनमनै भने ‘सानु ! मेरो परिवारले पनि तिमीलाई स्विकार गरिसक्यो । थाहा छ सानु हामी कति भाग्यमानी छौ ।

बर्खे बिदामा स्कुल बन्द हुंदा छटपटी हुन्थ्यो । नहोस पनि कसरी मेरो मनको शोभा ,स्कुल को शोभा जे भनेपनि मेरी सानु थिईन । उनी आउदा स्कुल पनि उज्यालो लाग्थ्यो । मायामा चुर्लुम्म डुबेपनि पढाई को साह्रै हेक्का राख्थिन सानुले । उनकै हौसलाले उनी जस्तो प्रथम , द्धतिय नभएपनि फेल हुनु परेको थिएन मलाई ।

स्कुल बिदा हुंदा चिठी लेखेर छिमेककी बहिनी संग पठाउथें । चिठीमा लेखेको एक भावना यस्तो थियो ।

चिया पाकि सक्यो !
चिनी हाल्न बाँकी छ !!
माया प्रेम भईसक्यो !
सिन्दुर हाल्न बाँकी छ !!

शसस्त्र माओबादी द्दन्दको चपेटामा देश त परेकै थियो मेरो माया पनि पर्यो । भर्खर एसएलसी सकाएर उच्च शिक्षाको तयारी गरिरहेको म माओबादीको उच्च च्वाईस बनें । दस कक्षामा पढदा माओबादीका तत्कालिन गाजस र वाजसहरुले मलाई कालीगण्डकी श्रोत केन्द्र स्तरिय क्रान्तिकारी सचिव बनाई पुर्णकालिन कार्यकर्ता बनाउन लागिपरे ‘यो बुर्जुवा शिक्षामा बिधार्थीको भविस्य छैन ‘ भनेर सार्वजनिक रुप बहिस्कार गर्ने र आन्दोलनलाई उत्सर्कमा पुर्याउने लक्ष्य लिएर बिधार्थीहरुको ‘ब्रेनवास’ गर्न पार्टीले अलग्यै टिम परिचालन गरेको थियो ।

सोही टिम दिनहुं मेरे घरमा धाउन थालेपछि मेरो परिवारले मलाई लुकाउने अर्थात “नयाँ दिल्ली” पठाउने निणय गर्यो । ‘काठमाण्डौमा पढेर डाक्टर बन्ने सपना छ ‘ नयाँ दिल्ली किन जाने ? मैले प्रति प्रश्न तेर्सयाए पनि मलाई गाँउ छोड्नै पर्ने भयो । मलाई मेरो सपनाको भन्दा पनि मेरी सानुको पिर बढिरहेछ ।

म दिल्ली अाउनु एक दिन अघिल्लो रात भेटेर खुब रोई मेरी सानु मेरा पनि अश्रु थामिएनन । ‘ दिल्ली पुगेर भुल्ने होला नि मलाई ‘संका गर्थिन सानुले । ‘आफ्नो मुटुलाई पनि कसैले भुल्याछ र लाटी ‘ मैले ढाडस दिंए ।’ नयाँ दिल्लीमा एमबिबियस गरेर फर्किन्छु अनि नेपालमा डाक्टर बनेर तिमी संग बिहे गर्ने नि ‘ केश सुम्सुमाउदै सानुलाई बचन दिंए ।

‘चिठी पठाईरहनु है नत्र मर्छु मत ‘ सानु रुदै थिईन अनि भन्दै थिईन । ‘यो संसारमा तिमी बाहेक मेरो को छ र ? चिठी तिमले पनि बरावर पठाउनु नि ‘ किन किन सानुलाई चुम्न मन लागिरहेछ । अनुमति मागेर निधारमा चुमें । अनयासै टप्प अश्रु झर्यो उनको केशमा । छुट्न मन नहुदाँ पनि छुट्न पर्यो सानुले रुमाल चिनो दिईन मैले हिरो पेन दिँए जोडले झम्टिएर रोएपछि सानु बिदा भईन ।

नयाँ दिल्ली छिर्ने बित्तिकै सानुलाई चिठी लेखें र पठाए ‘ प्रिय सानु ! सकुसल दिल्ली पुगेँ । बिरानो ठाँउमा तिम्रो असिम याद आईरहेछ । अव छिट्टै क्लास ज्वाईन गर्छु । सानु ! छुट्ने बेलाको त्यो रात अनि त्यो साथ याद आईरहेछ । मेरो सपना र कल्पना अव छिट्टै तिम्रो बन्ने र सानुलाई मेरो बनाउने छ । नेपालमा तिमी आफ्नो ख्याल गरे ।

स्कुलबाट आउदा पानीमा नरुझ्नु रुघा लाग्ला । चिठी पाउने बित्तिकै यै ठेगानामा चिठी पठाए अन्त्यमा मिठो चुम्बन सहित बिदा, भाव यस्तै समेटिएको थियो चिठीमा । चिठी लेख्दा लेख्दै नयनहरु रसाईसकेछन । प्रदेशी भुमीबाट सानुलाई लेखेको पहिलो पत्र । मनमनै सोचें केहि दिनमै सानुले चिठी पाईहाल्छिन बिचरी कति मन आत्तिएको होला ? चिठी को प्रतिउत्तर छिट्टै ल्याई दिनुस है कुलदेवता ! मनमनै कुल देवतालाई सम्झें ।

“भारतिय डाँक”को लेटर बक्स चिठी खसाउदा अनयासै टप्प आँसु पनि खसेछ त्यै लेटर बक्स भित्र । त्यै रात सानुसित भेटेको मिठो सपना देखें । “तेत्रो दिल्लीबाट आउदा मलाई क्यै नल्याको ? म बोल्दिन” म झल्यास्स बिंउझे अनि मुस्कुराउदै मनमनै भन्छु “तिम्रो लागि मेरो ज्यान त छ नि लाटी “!

चिठी पठाएको पनि महिना दिन पुगिसक्यो तर प्रतिउत्तर आउने छाँटकाँट नै छैन । कतै ठेगाना त गलत परेन ? संगै बस्ने अंकललाई ठेगाना भेरिफाई गरांए “ठेगाना त यै हो किन के भयो” ? मैले यत्तिकै भनेर टारिदिए । एक मन भन्छ , काली ! नेपालमा मस्त भईहोली प्रदेसीको पिडा के थाहा ? मेरो आधा ज्यान भईसक्यो ।

खाना खा, होला या नाई कति पिर गर्या होला मेरो खै, त्यसको बुद्धिमा कहिले बतास पस्ने हो ? गाली गर्न मन लाग्छ तर अर्को मन भन्छ बिचरी ले पत्र पाई कि नाई कुनै समस्या पो पर्यो की ? कुनै अनहोनीको आसंकाले घर जमाउदै थियो । मनमा एकोहोरो उनैको चिन्ता छ ।

मेडिकल साईन्स को प्राटिक्ल्स परिक्षा मा उत्कृष्ठ नतिजा ल्याए मात्र मेडिकल साईन्स पढ्न पाउने गाईडलाईन जारी भएकोले अंकलले पढाईमा केन्द्रित हुन भनिरहनुहुनछ तर मन, मुटु, हँस सबै नेपालमा छ त्यै बुबुरीको साथमा अनि कसरी आउने राम्रो नतिजा ? म असफल भएँ म डाक्टर बन्ने सपना बुबुरी कै यादमा डुबेर तुहियो । मलाई थप तनाव भएको छ सेतो कोट लाउने सपनामा तुसारापात हुँदाखेरी ।

एक बर्ष बित्यो तर बुबुरीको रातो, सेतो कुनै कागजको टुक्रा मेरो नाममा पुगेन । म नसाझोलमा डुब्न थालें खाली बस्दा “मेन्टालिटी ट्रर्चर” भएर होकी भन्ठानेर सानो जागिर खाँए तर त्यो जागिरले नसाझोल किन्न बाहेक अरु सघाएन । अहिले जस्तो मोबाईल भए फोन गरेर कत्ति रुदों हुं । बिस्तारै उसको नाम संग पनि घृणा लाग्न थाल्यो ।

मलाई पिडाको आहालमा डुबाएर नेपालमा चैन काटेकी छेस भगवानले तलाई सुख कहिल्यै दिने छैनन । एक पटक नेपाल गएर बुबुरीको काखमा पल्टिएर धित मरुन्जेल भन्ने अनि अंगालो मारेर रुने मन छ तर समय जुरेको छैन । गाँउको सोझो र सिधा म, सहरको “नसेडी” बनि सकेछु।

तिन सालसम्म नयाँ दिल्लीका गल्लीहरु अल्लाहरिदै हिंडदा कुकुरहरुले पनि चिन्न थालेछन मलाई देख्दा केवल पुच्छर हल्लाउछन भुक्न छोडेर । मलाई अर्धपागल बनाउने “बेवफा”को कुरुप रुप हेर्न मन लाग्छ सम्झिल्याउदा, अनि नेपाल जाने निधो गर्दछु ।

“आबुई, तिन बर्षसम्म सहरमा बसेर मोटाएर आ होला भनेको त के साह्रो दुब्लाएछ” घरपरिवार र छिमेकीले ताना कस्न थाले। “साह्रै गर्मी रहेछ दिल्लीमा त्यसै ले होला” बनिबनाउ जवाफ मेरो तर सानुको सुर्ताले घर गरिसकेको छ ।

म सानुलाई भेटन उनको गाँउमा जाने तयारी गर्दै थिए छिमेककी बहिनी जस्को हातबाट स्कुल बिदामा सानुलाई चिठी पठाउथें उनी आईन र मलाई “उसैले दिएको” भन्दै चिठी र कागजको पोका दिईन । सानु लाई सन्चै छ ? सोध्न मन लाग्यो “सबै यहि लेख्या छ” बहिनी ले संक्षिप्त उत्तर दिईन । हतार हतार पत्र खोलें ,लेखिएको थियो !

दिलको राजा ….

जुन दिन तपाई सहर पस्नु भयो त्यही दिनबाटै हाम्रो मायामा नराम्रो संग ग्रहण लाग्यो। हजुरले पठाएको पत्र स्कुलका केटाहरुले पहिला आफुले पढेर मेरो दादालाई दिएछन । त्यही पत्रमा हजुरले लेखेको कुरालाई लिएर दादाले हजुर संग समन्ध राखेमा हामी दुबैलाई मारिदिने धम्की दिनुभयो ।

मलाई त मर्न डर थिएन तर मलाई हजुरको एकदमै चिन्ता लाग्न थाल्यो । मलाई हजुर सँग “रात बिताएको”निच आरोप लगाएर गाँउभरि ढ्याड्ग्रो ठोक्दै हाम्रो प्रेमका दुश्मनहरु हिंडेपछि दादा र बाबा ले बुटवल लगेर मेरो बिवाह गरिदिनु भयो । म कति रोंए ,करांए, सानै छु भनेर रहमको भिख मांगे तर मैले बिहे गर्नै पर्ने भयो र गरें। अहिले मेरो छोरा छ र तिन बर्षको भईसकेको छ ।

राजा..मलाई माफ गरिदिनु म हजुरको बन्न यो जन्ममा सकिन तर अर्को जुनी हजुरकै हुन पाँउ र हजुरकै चरण छुन पाँउ । मेरो सिंउदो मा पराईको सिंउदो परेर म जुठी भएपनि मेरो मन सदा सर्वदा हजुरको हो र रहिरहने छ । राजा…हजुरको “नासो”फिर्ता दिएकी छु ,लिनुहोला हजुरलाई सेतो कोटमा देख्ने मेरो सपना पुरा होस । आई अलवेज लभ यु मेरो राजा…. बाई !

उही हजुरकी अभागी “सानु”

 

चिठी पढ्दा पढ्दै हात गोडा लगलग काम्न थाले म शिथिल भएर थ्याच्च भुंईमा बसें । चिठीलाई मुखमा लगेर जोडले चिच्याए सा…नु ! नयन भरी ति दिनहरु फन्फनी घुम्न थाले । त्यो स्कुले जिवन , त्यो बिहेको क्षण अनि त्यो अन्तिम रात । सोचें गल्ती मेरै हो पत्र नपठाउनु पर्ने शहरबाट। सहरमा बस्दा मैले सानुलाई गलत सम्झेछु कति पिरको अहालमा डुबेकी रहेछिन ।

त्यो कोमल मुटु छिया छिया पारिदिएछन आफ्नैले झुटो सानको नाममा । मैले सम्झना स्वरुप दिएका “मेरा याद”हरु प्लास्टिकमा पोको पारेर फर्काईदिईछन भन्थिन रे !मान्छे नै आफ्नो बनाउन नपाएपछि यो उपहारको हकदार म हैन ।

परचक्रीको कसुरले म अर्धपागल बनिसकेछु र जिउने आधार नसाझोल बनिसकेछ । “निष्ठुरी”का यादहरु भुलाउन म छापचौर बजार झरेको छु । “रजिता रजिष्मा होटल एण्ड रेष्टुरेण्ट”को क्याबिनमा मेरो यादहरु भुलाउन स्थानिय कुखुरा सहिद बनिसकेर “तन्दुरी चिकेन”को उपमा पाएको छ र उसलाई “रुस्लान”ले साथ दिदैछ ।

प्याक बनाएर मुखमा राखें अनि एकै सासमा गिलास रित्यायर टेबुलमा पछारें । मुखमा अनयासै सब्द निस्क्यो “मलाई छोड्ने निष्ठुरी”। फेरी प्याक बनाएर मुखमा मात्रै के पुर्याएको थिएं नेपथ्यमा मधुरो ध्वनि सुनियो “दाई मम पाईन्छ “? होटलको साहु सँग भएको त्यो बार्तालाप सुनेँ र उत्कुण्ठाले प्वलित हुंदै क्याविन बाहिर निस्कें ।

मेरै आँखा सामुन्ने उनी मेरै सानु थिईन साथमा खाई लाग्दो केटा अनि करिव चार बर्षको देखिने सानो बाबु । मोटो ज्यान,साडी लगाएकी ,सिंउदोमा सिन्दुर अहो,मेरी सानुको रुप, रंग,ढड्ग सबै फेरिएछ । साथमा रहेको खाईलाग्दो केटा सानुको जिवन साथी रहेछ । मलाई सधै साथ दिने नसाले आज साथ दिएन ,छोड्यो चट्क्कै। म पछाडी फर्किन खोज्दै थिए “हजुर सन्चै हुनुन्छ” त्यहि ध्वनि ठोक्कियो ।

गहभरी आँसु थिए हतार हतार पुछ्दै सानु तिर फर्किएं अनि मुन्टो हल्लाएर सन्चै भएको ईसारा गरें । “उहाँ मेरो श्रीमान “मैले नमस्ते गरेँ उताबाट प्रतिउत्तर आयो । हत्पत्त सानो बाबुले लाब्रो पारेर भन्यो “मामु….यहाँ को हो ? सानुले कुरा लुकाउदै सम्झाईन “उहाँको घर तिम्रो मामाघर तिर हो ” ए हाम्रो मामा हो ? फुच्चेले कुरो पक्रियो । सानुले पुलुक्क मलाई हेरेर मुन्टोले ईसारा गरिन “हो” ।

“मामा यो नाना ड्याडी ले ल्याईदिएको ,घर मा घ्यार घ्यार गर्ने गाडी पनि छ मेरो , अनि मामा हजुर लाई थाहा छ ? मेरो ड्याडी र मामुले मलाई दुई वटा गालामा एकै चोटी किसी गर्न खोज्नु भएथ्यो तर म झुक्काएर बेडमा पल्टिए अनि मामु र ड्याडी त हिहि हि हि” फुच्चे ले बेलिबिस्तार लगायो म वस मुन्टो हल्लाईरहें, सानु लाजले रातोपिरो भईन ।

थुक्क मेरो जिवन, आफैलाई थुक्न मन लाग्यो । सानुको छोराले “मामा” भनेर बाँकी रहेको मुटु पनि चिरिदियो । त्यहि पिरले कति प्याक हुत्याँए आफैलाई पत्तो छैन । देउरालीको उकाली, दश बजे रातीको समय एक्लै हिंडिरहेछु अनी एक्लै बोलिरहेछु । सानु सँगको मायाजालले गाँउ भरि कहलिएको सोझो नसामा डुब्ने भएं, अव त डाक्टरको सेतो कोट मरेपछि त होला नि लाउने त्यो पनि कात्रो रुपी ।

साथ दिने केवल यै बोतल छ अब !थुक्क म ,थुक्क मेरो प्रेम अनि थुक्क ….सानु लाई थुक्न किन किन मनले मानेन । देउराली मा पुगेर सुस्ताएँ ,खल्तिमा राखिएको मोवाईल बाट लिड को बाटो एउटा गित गएर कानमा ठोक्कियो “एउटा आत्मा छ…. त्यहि आत्मा नि रुवाउने कि हँसाउने तिम्रै हातमा छ …..।  “अर्थ लगाँए “एउटा आत्मा छ ….। यै आत्मा नि रुवाउने कि हँसाउने …. प्रभु तिम्रै हातमा छ …….. ।”

प्रस्तुत कथा काल्पनिक हो कसैको जिवन सँग मेल खान गएमा संयोग मात्र हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend