logo
  • शुक्रबार, असोज ९ २०८३

कविता “घरदेशको दशैँ”


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अचेल दिनहुँ जसो
घामका पारिला किरणहरु
दैलामा आँउछ्न्
आनन्दले गुन्द्री बिछ्याइ बिछ्याइ बस्छन् ।
जसरी तिम्रा यादहरु
हरपल आईरहन्छ्न्
उसै गरि आँउछ फेरि
रातमा चाँदनी पनि
तिमिले जस्तै स्पर्श गरेर जान्छ ।

 

सयौं दिनहरूले
कयौं महिनाहरूले कोल्टे फेरेर गए
लाखौँपटक घाम उदायो-अस्तायो
दिन-महिनाहरू
समयसंग कोल्टे फेर्दै आए-गए
लाखौँपटक
उदायो-अस्तायो होला घाम
यहि बीचमा
पोहोरझैँ समुद्र पारिबाट
यसपटक पनि दसैं आएको छ ।

 

रातो माटोले घर पोतेर
भित्तामा
सेतो कमेराका डोराहरु बनाउँदै
खाँबाहरुमा रङ्ग दलेर
तिमी पस्ने ढोकाहरुमा छानी छानी
रङ्ग लगाएर
छेउछाउका झार उखेली
बाटो बनाउदैँ
घरको अँध्यारो कुनामा
जमरा छरेर
तिम्रै प्रतीक्षामा बस्न लागेको पनि
वर्षौँ हुन लागेछ ।

 

बिरामी पर्दा
तितो सिटामोल
आँखा चिम्म गरि खुर्लुक्क
निले जस्तै
बासी खपुस पानीसँग निल्दै
खाडीको चर्को घाममा
पानी जस्तै खलखली
पसिना बगाएर
हातमा ठेला पारी पारी
जोहो गरेको त्यो रुपैयाँ
रेमिट्यान्स गरिदिन्छौ
दशै मनाउनु भन्दै ।

 

पसिनालाई बन्धकी राखेर तिमीले
अरबबाट पठाएको पैसाले
यो दसैंमा अलिकति
खुसी किन्न पाइन्छ कि पाइदैन कुन्नि ?

 

मिल्छ भने यो दशैँमा
हातको पाली लगाएर
तिमि आउने बाटो नियाल्दै
फुङ्ग उडेको सेतो कपालमा
रातो डोरी बटार्दै
आँगनको छेउमा बसेकी
तिम्री आमा ,
अनि
तस्बिरसँग गन्थन गर्दै
जवानी गुजार्दै गरेकी
तिम्री प्यारीका लागि
थोरै भए पनि
उमंग सहित अलिकति
खुसी रेमिट्यान्स गरिदिनु है ।

 

बदलामा
म यता बाट
पहेँलो जमरा अनि
रातो टीकासंगै
तिम्रो बाटो नियाल्दै
तप्प तप्प आँशु खसालेर बसेकी
तिम्री आमाको आशीर्वाद पनि
रेमिट्यान्स गरिदिन्छु ।

 


कुसुम नेपाली
गुल्मी

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend