साझा नेटवर्क
सानु घिमिरे,अष्ट्रेलिया।
५ अगस्ट,२०१७ हप्परक्रसिङ, मेलबर्न: अष्ट्रेलियाको पश्चिम मेलबर्नमा भव्यताका साथ तीज कार्यक्रम सम्पन्न भएको छ । नेप्लिज अर्गनाइजेसन अफ विनडम र मेलबर्न नेप्लिज कम्युनिटी वेस्टको संयुक्त आयोजनामा गत शनिबार करीब ढाइ सयको उपस्थितिका साथ कार्यक्रम सम्पन्न भएको हो ।
नेपाली कला संस्कृतिको जगेर्ना गर्दै अष्ट्रेलियामा रहेका पछिल्लो पुस्तालाई नेपाली मौलिकताको ज्ञान दिने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रम अस्ग्ट्रेलियाकी सांसद श्रीमती जोंने रायनको प्रमुख आतिथ्यतामा आयोजना भएको थियो र अन्य अतिथिहरुमा भिक्टोरियाका लागि नेपाली महावाणिज्यदूत चन्द्र योञ्जन, मेयर हेनरी बार्लो, लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ, काउन्सिलर इन्ताज खान, एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष केशव कंडेल, न्याभ अध्यक्ष डा. अनुपम पोखरेल हुनुहुन्थ्यो ।
नेपाली र अष्ट्रेलियन राष्ट्रिय गानबाट शुरु गरिएको कार्यक्रममा नेपाली चेलीहरुको शृंगार र नाचगानबाट अतिथिहरु मन्त्रमुग्ध हुनुभएको थियो । प्रमुख अतिथि रायनले आफ्नो मन्तव्यमा नेपाली चाडपर्व र संस्कृति अत्यन्तै मन पर्ने भन्दै आफू सधै नेपाली समुदायको साथमा रहेको बताउनुभएको थियो भने मेयर हेनरी बार्लोले नेपाली समुदायलाई सहयोग गर्न आफू तत्पर रहेको र नेपालीहरुको समस्या सुन्न आफ्नो कार्यालयको ढोका सधै खुल्ला रहेको बताउनुभयो । त्यस्तै एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष केशव कंडेलले पश्चिम मेलबर्नमा बस्ने नेपाली समुदायको एकता देखेर आफू निकै प्रभावित भएको बताउनुभएको थियो ।
रोशनी श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको उक्त रमाईलो तथा भव्य तीज कार्यक्रममा न्याभ बाल चौतारी पश्चिमका भाइबहिनीहरुले राष्ट्रिय गान तथा स्वागत नृत्य प्रस्तुत गरेका थिए ।कार्यक्रमको सभापतित्व ग्रहण गर्नुभएका कमल प्याकुरेलले धन्यवाद मन्तव्यका साथमा पश्चिम मेलबर्नमा बस्ने सम्पूर्ण नेपालीहरुलाई आफ्नो मौलिक संस्कृति र पहिचानको जगेर्नाको लागि एकताबद्ध हुन अपिल गर्नुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend