साझा नेटवर्क
पाल्पा, साउन १३ ।
बिदेशी भुमिमा रहेर पनि आफ्नो जन्मभूमिको बिकासका लागि सहयोग गर्न सकिन्छ भन्ने कुराको उदाहरण इश्वर काफ्लेले पेश गरेका छन् ।
रोजगारीका लागि कतारमा रहेका रम्भा गाउँ पालिका वडा नं. १ हुँगीका काफ्लेले कतारमा रहेर पनि आफ्नो जन्मभूमि नेपालको लागि सहयोगका लागि रचनात्मक अभियान चलाउँदै आएका छन् ।
उनै काफ्लेले यतिबेला आफ्नो जन्मस्थल रम्भा गाउँपालिका १ का लागि एम्बुलेन्स ल्याउनका लागि सामाजिक संजाल अभियान चलाएका छन् । अहिलेसम्म एम्बुलेन्सका लागि ७ लाख रुपियाँ संकलन भइसकेको र यो कार्यले ३ महिनाभित्र पूर्णता पाउने उनले बताए ।
गाउँलेहरु बिरामी हुँदा स्वास्थ्य चौकी सम्म पुग्न र अस्पताल लैजानका लागि आवश्यक परेको बेला गाडी नपाउँदा स्टेचरमा बिरामी बोक्नुपर्ने समस्या यस क्षेत्रमा रहेको छ । यही समस्या समाधानका लागि आफूले यो अभियान चलाएको काफ्लेले बताए ।
उनले एम्बुलेन्स अभियानमा सहयोग गर्ने ब्यक्तिको नाम र संकलित रकमबारे आफ्नो फेसबुक मार्फत सार्वजनिक समेत गर्दै आएका छन् । यो अभियानमा सबै क्षेत्रका ब्यक्तित्वहरुको सहयोग रहेको उनले बताए ।
कतारमा रही नेपाली गीत संगीत र कलाकारिताको बिकासका लागि स्थापित संस्था बसन्त फिल्मस्का प्रवन्धक समेत रहेका काफ्लेले यसअघि पनि पाल्पाका बिभिन्न समस्या समाधानका लागि ब्यक्तिगत र संस्थागत सहयोग प्रदान गर्दै आएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend