साझा नेटवर्क
अनिल खत्री, गुल्मी असार २५ ।
सत्यवती गाउँ कार्यपालिकाको पहिलो बैठकले अपाङ्गता भएका व्यक्तिहरुलाई घर घरमा परिचय पत्र उपलब्ध गराउने निर्णय गरेको छ ।
नव निर्वा्चित पदाधिकारीहरुको स्वागत पछि बसेको बैठकले जिल्ला प्रशासन कार्यालय, महिला बालबालिका कार्यालय तथा जनस्वास्थ्य कार्यालयसँग समन्वय गरी अपाङ्गता भएका व्यक्तिहरुलाई सहज र सरल ढंगले परिचय पत्र उपलब्ध गराउने निर्णय गरेको हो ।
त्यस्तै सामाजिक सुरक्षा भत्ता वितरणलाई प्रभावकारी बनाउन सम्बन्धित बैंकहरुसङ्ग समन्वय गरी झन्झटीलो मुक्त बनाउने निर्णय गरेको छ ।
अध्यक्ष, उपाध्यक्ष र ८ वटै वडाका वडा अध्यक्षहरु संलग्न कार्यपालिकाको बैठकले यस गाउँपालिकाका अधिकांश सर्वसाधारणले प्रयोग गर्ने रिडी रुद्रवेणी सडक खण्डलाई कालोपत्रे गर्नका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय समेत गरेको छ । सत्यवती गाउँपालिकाको केन्द्रदेखि प्रत्येक वडाको केन्द्रसम्म पुग्ने मोटरबाटो बाह्रै महिना सुचारु गर्न र दुर्घटना मुक्त बनाउनका लागि आवश्यक उपाय अबलम्बन गर्ने निर्ण गरेको छ ।
गाउँपालिकामा बैंकिङ्ग कारोबार गर्नका लागि त्यस अनुसारको सुविधा भएको बैंकको अभाव रहेकाले सरकारी कामकाज तथा सर्वसाधारणको बैंकिङ्ग कारोबारलाई सुरक्षित र सरल बनाउनका लागि गाउँपालिकामा राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय स्थापनाका लागि सम्बन्धित निकायमा माग गर्ने निर्णय गरेको सत्यवती गाउँपालिकाका कार्यकारी अधिकृत बिष्णुप्रसाद आचार्यले जानकारी दिए ।
गाउँपालिकामा संचालित विकास निर्माणका कार्यलाई प्रभावकारी र गुणस्तरीय बनाउन यसको नियमित अनुगमन र तिब्रतामा जोड दिँदै गाउँपालिकामा यसको नियमित प्रतिवेदन गर्ने, जिर्ण भएका विद्युत पोलहरुको व्यवस्थापन गरि गाउँपालिकाका सबै वडाहरुमा ३ फेज विद्युत लाइनको व्यवस्था गर्न विद्युत प्राधिकरणसँग समन्वय गर्ने निर्णय पनि गरेको अधिकृत आचार्य जानकारी दिए ।
बैठकले मतदाता, कर्मचारी, सुरक्षाकर्मी लगायत निर्वाचन सम्पन्न गर्न भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिएको छ ।
गाउँ कार्यपालिकाको बैठक अघि भएको स्वागत कार्यक्रममा बोल्दै नवनिर्वा्चित अध्यक्ष पारिश्वर ढकालले गाउँपालिकाको विकास सबैको साझा विषय भएकाले सबैको सहकार्य तथा साथको जरुरी भएको बताए ।
कार्यक्रममा निर्वाचन अधिकृत रमेश गौतम, नवनिर्वा्चित उपाध्यक्ष सुवर्ण शाहि शेरचन, अध्यक्ष पदका प्रतिष्पर्धी अमरसिंह सिंजापति, उपाध्यक्ष पदका निकटतम प्रत्यासी टोपलादेवी राहदी लगायतले शुभकामना दिएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend