साझा नेटवर्क
एउटा सुन्दर जीवन
रहरको रंगशालामा
म्यारथुन दौड दौडिरहेछ
जीवनको चंगा समात्न
घरि बताससँग दौडिएछ
घरि बादलसँग
घरि हावापानीसँग
प्रदेशी नयनहरूमा
किशोरी रहर बोकेर
कुदिरहेछ कुदिरहेछ
म्याराथुन दौड
एउटा सिंगै जीवन
कुर्लुम्मै बोकेर
निस्किएछ पुन:
सपनाहरू भेट्न
उज्यालो छोप्न
एक हुल छायाहरूसँगै
कुदिरहेछ
सगरको बलेसी हुदै
बेसुरा धूनहरू बजाउदै
मुटु छाम्दै छाम्दै
जीवनको सौन्दर्य खोज्न
कहिले सुस्तरी हिड्छ
कहिले बेस्सरी कुद्छ
बेस्सरी कुद्दा भेटाउछ
तिनै पत्र पत्रहरूमा
फूलको स्पर्शले चुटिएको
कुटिल हाँसोले लुटिएको
तैपनि कुदिरहन्छ
म्याराथुन दौड़
एक थुंगा मुस्कानसँगै
एक थुंगा जीवन बोकेर
जीवनकै स्टेशनतिर
रहरहरू कार्गो गरी फुलाउन
कहिले कही
हिड्दा हिड्दै
बाटामै भेटिएर
छुट्टिएका मान्छे
जस्तै लाग्छ उसलाई
आफ्नै जीवन
तैपनि
छातिकै कुइनेटामा
बलजफ्ति रोपेर
शून्यतालाई
उमार्छ चुनौतीको बिज
फुलिरहन्छ माटोको
फूलदानीमा ढकमक्क
माछापुच्छ्रेको जस्तै
आफ्नै छाति निचोरेर
निकाल्छ अटल आस्था
उडाउदै खुसीकै चंगा
कल्पनिक जीवनको
शाहदत गर्छ
जीवनको रंग खोज्न
स्मृतिको धूलो उडाउदै
कुदिरहन्छ रफ़्तार
कुमारी रातहरुसँगै
बूढो पासपोर्ट बोकेर
तन्नेरी दिनहरूसम्म
जीवनकै एयरपोर्टतिर
एउटा किशोरी जीवन
कुर्लुम्मै बोकेर
फूलदानीको सौन्दर्यतिर
सौन्दर्यको फूलदानीतिर
रंगीन जीवन खोजिरहन

जमुना रोका
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend