साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असार ९ ।
२ नगरपालिका र १० गाउँपालिका रहेको गुल्मी जिल्लामा चुनावको मिति नजिकिंदै गर्दा प्रचारप्रसारको रौनक पनि बढ्दो छ । कांग्रेस र एमाले बिच नै मुख्य प्रतिस्प्रधा रहेको गुल्मीमा अहिले सबै राजनीतिक दलहरुले प्रचारप्रसार तिब्र पारेका छन् । कतै तालमेल त कतै छुट्टाछुट्टै प्रतिस्पर्धामा उत्रिएका दलहरुले स्थानीय आवश्यकताका आधारमा चुनावी एजेण्डा अघि सारेका छन् । तर पनि अधिकांश स्थानमा राजनीतिक दलका एजेण्डा उस्तैउस्तै देखिन्छन् ।
प्रमुख पदका उम्मेदवारले बाटो, खानेपानी, सिंचाई, शिक्षा, स्वास्थ्य, बिद्युत बाहेक अन्य नारा अघि सारेका छैनन् । केही गाउँ र नगरपालिकामा खरले छाएका विपन्न समुदायका घर एमाले र माओवादीको नजरमा परेका छन् । विपन्न समुदायको मत आर्कषित गर्न उम्मेदवारले खरको छाना हटाएर जस्तापाताको छाना लगाईदिने प्रतिबद्धता जनाएका छन् ।
गुल्मी जिल्लाका स्थानीय तहमा आइतवार हुने उम्मेदवार मनोनयनका लागि कांग्रेस, एमाले, माओवादी केन्द्र, जनमोर्चा, राप्रपा, नेकपा क्रान्तिकारी, नयाँ शक्ति, अखण्ड नेपाल र परिवार दलले उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । निर्वाचन कार्यालयमा १३ दल दर्ता भएपनि स्थानीय तहको निर्वाचनमा सहभागी हुने गरी ९ दलले चुनाव चिन्ह पाउने छन् ।
गुल्मीका २ नगरपालिका मध्ये जिल्लामै जनसंख्या र क्षेत्रफल दुवैको आधारमा मुसिकोट नगरपालिका जिल्लाकै ठुलो हो । मुसिकोट नगरपालिकाको ९ वार्डमा ३२ हजार ८ सय २ जनसंख्या छ । १९ हजार ४ सय ८५ मतदाता रहेको नगरपालिकामा कांग्रेस, एमाले, माओवादी छुट्टाछुट्टै प्रतिस्पर्धामा छन् । २०७० सालको संविधान सभाको मतको आधारलाई विश्लेषण गर्ने हो भने एमालेको पोल्टामा नगरपालिका सजिलै पर्ने छ । तर उम्मेदवारलाई भने त्यति सजिलो छैन् ।
मुसिकोट नगरपालिकाका मतदाता विकास, समृद्ध नगर र बेरोजगार विहिन नगरको परिकल्पनामा रहेकाले त्यसलाई सहजै पुरा गर्न सक्ने एक मात्र पार्टी एमाले र त्यसका उम्मेदवारहरु रहेको भन्दै जितको दावी गर्छन मुसिकोट नगरपालिकाका प्रमुख पदका उम्मेदवार सोमनाथ सापकोटा । उनले सजिलै जित हात पार्ने दावी गर्ने चुनावी ऐजेण्डा भने यस्ता रहेछन् ।
मुसिकोट नगरपालिकालाई सुविधा सम्पन्न गाउँ र आधुनिक नगरको रुपमा विकास गर्ने मेरो पहिलो प्रतिबद्धता हो । त्यसका लागि नगरपालिकासंग जोडिएका सबै बाटो कालोपत्रे गर्ने, खानेपानीका लागि एक घर, एक धारा, एक शौचालय अभियान चलाएर सबैलाई खानेपानी र सरसफाईको पहुँच बृद्धि गर्ने ।
सञ्चारको पहुँच, बृद्धि गर्दै सबै गाउँ बस्तीमा फोन र इन्टरनेट सुविधा विस्तार, शिपमुलक तालिम, एक युवा एक रोजगार, दलित, महिलाहरुका लागि सशक्तिकरणका कार्यक्रम उनको प्रथामिकतामा छन् । लघु जलविद्युतका नामबाट चिनिएको वामीटक्सारलाई आधुनिक उर्जाको माध्यमबाट केन्द्रिय प्रशारण लाईनमा जोड्ने र सबैमा विद्युतको पहुँच विस्तार गर्ने ।
गाउँ जोडेर विस्तार गरिएको नगरपालिकाको समृद्ध विकासका लागि विकासोन्मुख मुलुकहरुको मापदण्ड अनुसारको नमुना गाउँको विकास गर्ने स्पष्ट खाका छ । नगरपालिका भित्रका युवाहरुका लागि उनीहरुकै प्रस्तावका आधारमा कृषिका लागि ५० प्रतिशत लागत अनुदान दिने प्रस्ताव गर्दै त्यसलाई सबै युवा माझ प्रतिवद्धता व्यक्त गरेका छन् ।
त्यस्तै मुसिकोट नगरपालिका भित्र रहेका विपन्न समुदायका सबै खरले बनेका घरहरुलाई जस्तापाता उपलब्ध गराएर खरका घर मुक्त नगरपालिका घोषणा गर्ने मेरो प्रमुख एजेण्डा बनेको हो त्यो बाहेक कृषिमा आधुनिकीकरण, बडीघाट खोला र खरबाङ खोलाको दोभानमा रहेको वामीटक्सारलाई जलपर्यटकको केन्द्र बनाउँदै नगरबासीको समृद्ध नगरपालिका बनाउने सपना पुरा गर्ने उनको प्राथमिकतामा छ ।
नेपालमै कफि खेतीका लागि प्रमुख मानिएको आँपचौरलाई कफि विकास र अध्ययनका लागि नेपालमै पहिलो कफि अध्ययन गाउँका रुपमा विकास गर्ने परिकल्पना छ । वामीटक्सारमा बालउद्यान, जेष्ठ नागरिक गृह, खेलकुद मैदान, उज्यालो घर, विद्यालयहरुको स्तरोन्नती, प्राविधिक शिक्षालय, ५० शैयाको अस्पताल र वार्ड वार्डमा एम्बुलेन्स पनि चुनावी ऐजेण्डामा छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend