साझा नेटवर्क
शिव सुवेदी, गुल्मी असार ९ ।
गुल्मी जिल्लाको पर्यटकीय र धार्मिक महत्व बोकेको रुरु गाउँपालिकामा स्थानीय तहको चुनावको रौनक बढ्दो छ । नेपालकै पर्यटकीय एवं धार्मिक क्षेत्र रुरु धाममा पर्ने यो रुरु गाउँपालिकामा ६ वार्ड छन् । रिडी, थानपति, बलेटक्सार, बम्घा, रिमुवा र ग्वादी गाविस मिलेर बनेको यो गाउँपालिकामा असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेका उम्मेदवारसंग कांग्रेस र माओवादीको संयुक्त प्यानलले प्रतिस्पर्धा गर्दै छ । २०७० को संविधान सभा निर्वाचनको मतपरिणाम अनुसार एमालेको बर्चश्व रहेको यो गाउँपालिकामा अहिले दुई पक्षिय प्रतिस्पर्धा छ ।
कांग्रेस र माओवादीले संयुक्त मोर्चा बनाएर एमाले बिरुद्ध उभिएपनि जित्न त्यति सजिलो र सहज छैन् । कम्युनिष्ठ आन्दोलनको इतिहास समेत बोकेको रुरु गाउँपालिकामा यस पटक पनि एमालेका उम्मेदवार निलकण्ठ गौतम सजिलै जित्ने दावी गर्छन् । उनले झण्डै १ हजार मत अन्तरमा जित्ने दावी गर्दैगर्दा उनका चुनावी ऐजेण्डा यस्ता छन् ।
रुरु गाउँपलिका जिल्लाकै कृषि जन्य उत्पादनको नमुना र उर्वर क्षेत्र हो । यहाँका किसान कृषिको बहुआयामिक उत्पादनका क्षेत्रमा अघि बढेका छन् । किसानले उत्पादन गरेका सबै कृषिजन्य उत्पादनहरुको प्रशोधनका लागि उद्योग स्थापना गर्ने । त्यसमा अहिलेको बेरोजगारी समस्या समेत समाधान गर्ने गरी स्थानीय युवालाई रोजगारीको प्राथमिकता दिएर अघि बढ्ने ।
रुरु गाउँपालिकाका बलेटक्सार, बम्घा, रिमुवा, थानपति र रुरुका खानेपानी अभाव भएका गाउँका लागि लिफ्टिङ खानेपानीको व्यवस्था गर्ने । गाउँमै भएका मुहान खोजी गर्दै खानेपानीको व्यवस्थापन गरेर वितरण गर्ने, आकाशे पानी संकलन गरी कृषि उत्पादनमा प्रयोग गर्ने र प्रशोधन गरी खान योग्य बनाउने ।
शिक्षालाई व्यवसायीक र आधुनिकीकरण गर्दै बैज्ञानिक शिक्षा लागु गर्ने । रुरु गाउँपालिका भित्र निर्माण भएका सडकहरुको स्तरोन्नती र कालोपत्रे गर्दै सडक पुग्न गाउँ र बस्तिमा सडक पु¥याउने र सिंगो गाउँपालिकालाई रिङरोडले जोडेर सुविधायुक्त बस सेवा संचालन गर्ने ।
स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, खानेपानीको समग्र समस्याको योजनाबद्ध रुपमा गाउँपालिका भित्रका विज्ञहरुको समुह बनाएर छलफल गरी योजना निर्माण गर्ने र त्यसलाई कार्यान्वयन गर्न स्थानीय तहमा छलफल गर्दै अघि बढाउने । यस जिल्लाकै धार्मिक क्षेत्र रिडीको रुरुमा पर्यटन आर्कषणका लागि बृहत ताल निर्माण गरेर देशकै नमुना जल पर्यटकीय स्थल निर्माण गर्ने ।
धार्मिक पर्यटनको ऐतिहासिक र पौराणिक महत्वलाई प्रचारप्रसार गर्दै विश्वमा रुरु क्षेत्रको पहिचान फैलाउने । बलेटक्सारको गुफा र पुरातात्वीक महत्वलाई संरक्षण गर्ने । कालीगण्डकी र रिडी खोला सहित तिन जिल्लाको संगमस्थल रहेको पवित्र धाममा व्यवस्थित शबदाह स्थल निर्माण गर्ने ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend