साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी जेठ ३१।
नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण बिष्टले गुल्मीमा कांग्रेस माओवादीको तालमेल बिरुद्ध नेकपा एमाले सुतेर नवसेको बताएका छन् । उनले तालमेल र त्यसको परिणामा पहिलो चरणको चुनावमै जनताले फैसला गरिसकेकाले आत्तिनुनपर्ने बताए ।
चुनावी अभियानका लागि जिल्ला आएका पुर्व मन्त्री समेत रहेका बिष्टले बिपक्षहरुको तालमेलले केहि फरक नपर्ने भएकाले आफुहरुका सम्पुर्ण संयन्त्र त्यसको बिरुद्धमा गाउँ र टोलटोलमा लागेको बताए ।
बिष्टले स्थानीय निकायको चुनावमा आफुहरुको लडाई नेपाली कांग्रेससंग भएको बताए छन् । तर आफुले सजिलै जित्न सक्ने ठाउँमा पनि कांग्रेसले अरु पार्टीसंग हार गुहार गरिरहेकाले एमाले बिजय नजिक रहेको बताए । ‘एमाले एक्लै लड्ने हो, जीत हार चुनाव हो,’बिष्टले भने,‘आफुहरुले आश नगरेको स्थानमा समेत कांग्रेसले माओवादीको साथ खोज्नु नै एमालेको जीत हो ।’
अब नेपाली जनताको पार्टी एमाले भैसकेकाले जनतालाई एमाले बन्न र समृद्ध नेपाल निर्माण गर्न कुनै शक्तिले रोक्न नसक्ने उनले बताए । नेता बिष्टले देशमा राष्ट्रियता जोगाउने र समाप्त पार्नेबिच दुई शक्ति बिचको लडाई रहेकाले राष्ट्रियताको पक्षमा एमालेलाई जिताउन आग्रह गरे ।
लामो समयपछि हुन लागेको स्थानीय तह निर्वाचनमा उत्साहका साथ सहभागी बन्न सम्पुर्ण मतदाता एवं कार्यक्रर्ताहरुसंग उनको आग्रह छ । उनले राष्ट्रिय मुद्धाहरुका साथ पहिलो चरणको चुनावमा आफुहरु पहिलो पार्टी भएकाले सवै तहको चुनाव पछि एमालेले दुई तिहाईका साथ सरकार चलाउन चाहेको बताए ।
मंगलबार उनले नेकपा एमाले इस्मा गाउँपालिका अन्तरगतको हस्तिचौरको टार, दोहलीको कोटकोटेरी र मुसिकोट नगरपालिकाको पौदी अमराईको चुनावी सभालाई संबोधन गरेका थिए ।
मंगलबार इस्मा गाउँपालिका २ को टारमा कांग्रेस नेता टामलाल केशी एमालेमा प्रवेश गरे । उनी कांग्रेसको तर्फबाट वडा नं २ को दावेदार हुन् । एमालेको राष्ट्रियताको पक्षमा र कांग्रेसको नचाहिँदो तालमेलको बिरुद्धमा एमालेमा प्रवेश गरेको केशीले बताए ।
उनी सहित १५ जना कांग्रेस पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेको बिद्यार्थी नेता राजेन्द्र बिक्रम कुवंरले जानकारी दिए । त्यस्तै मुसिकोट नगरपालिकाको पौदी अमराईमा विभिन्न पार्टी परित्याग गरि ३५ जना एमालेमा प्रवेश गरेको एमाले नेता महेन्द्र घिमिरेले बताए ।
इस्मा गाउँपालिका ४ को कोटकोटेरीमा भिमकान्त खनालको नेतृत्वमा थुप्रै नेता कार्यक्रर्तालाई नेता बिष्टले एमालेमा प्रवेश गराएका छन् । एमालेमा प्रवेश गर्ने धेरैले कांग्रेस माओवादीको अनावश्यक तालमेलबाट आक्रोशित भएको रेसुङ्गा बहुमुखी क्याम्पसका स्ववियु सभापति श्रीराम महतले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend