साझा नेटवर्क
काठमाडौँ, जेठ २३।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपालको ४० औँ प्रधानमन्त्रीमा मंगलबार निर्वाचित भएका छन । देउवा आफ्नो जीवनमा चौँथो पटक नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएका हुन । सत्ताका माहिर खेलाडीको उपमा पाएका देउवा गणतन्त्र स्थापनापछि भने पहिलो पटक प्रधानमन्त्री निर्वाचित भएका हुन ।
मंगलबार व्यवस्थापिका संसदमा भएको प्रधानमन्त्रीको निर्वाचनमा ५५८ मत खसेकाेमा ३८८ मत पाएर बुहमतबाट निर्वाचित भएका हुन । उनको विपक्षमा एमाले लगाएतका दलका १७० मत पर्यो । देउवालाई नेकपा माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीको समर्थन रहेको छ ।
शेरबहादुर देउवा नेपाली काँग्रेसको संसदीय दलको समेत नेतृत्व गर्दै वि.सं. २०५२ सालमा पहिलोपटक नेपालको प्रधानमन्त्री बनेका थिए । नेपाली काँग्रेसको बिभाजन पछि उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक)को सभापति थिए । काँग्रेस पुनर्मिलन पश्चात उनी आफ्नो पार्टीसंगै नेपाली काँग्रेसमा गाभिएका हुन ।
शेरबहादुर देउवा चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित नेपाली कांग्रेसका सभापति देउवा डडेल्धुरा जिल्ला क्षेत्र नं. १ बाट संविधानसभामा प्रतिनिधित्व गर्छन । देउवा २०४८,२०५१ र २०५६, २०६४ र २०७० को निर्वाचनमा डडेलधुरा जिल्ला क्षेत्र नं. १ बाट विजयी हुँदै आएका छन । राजनैतिक संघर्षका क्रममा उनले नौ वर्ष जेलजीवन बिताएका छन ।
–कांग्रेसको मात्रै नभएर नेपाली राजनीतिकै एक प्रमुख पात्र हुन् देउवा । उनीसँग एकपटक गृहमन्त्री र चारपटक प्रधानमन्त्री बनेको अनुभव छ । नेपाली कांग्रेस प्रजातान्त्रिक सहित अहिलेको कांग्रेसको गरी पार्टीको सभापति दुई पटक भएको अनुभव पनि छ ।
–देउवाको अन्तर्राष्ट्रिय सम्वन्ध राम्रो छ । उनी पहिले अमेरिकानिकट मानिन्थे भने पछिल्लो समयमा भारतको संस्थापन निकट मानिन्छन ।
–झट्ट हेर्दा हडबडे देखिए पनि राजनीतिक चालबाजीमा पोख्त छन् देउवा । आफ्ना समकालीन नेताहरु एकपटक पनि पुग्न नसकेको प्रधानन्त्री पद उनले चारपटक हासिल गर्नु उनको राजनीतिक चातुर्यकै नतिजा हो ।
–आफ्नो छत्रछायाँमा रहेका नेता–कार्यकर्तालाई हदैसम्म संरक्षण दिन्छन् देउवा । त्यसैले उनको गुट त्यति चलायमान हुँदैन ।
–सत्ता र शक्तिका लागि जस्तोसुकै सम्झौता गर्न तत्पर हुने छवि देउवाको छ । विगतमा प्रधानमन्त्री पद हासिल गर्न र त्यसमा टिकिरहन थुप्रै जायज–नाजायज सम्झौता गरेको आरोप देउवा माथि छ । त्यस्तै प्रचण्ड नेतृत्वको सरकारलाई आइजिपी प्रकरण लगायतमा विवादित देउवाले बनाएका हुन ।
–पढे लेखेका भए पनि देउवाको व्यक्तित्वमा बौद्धिकता झल्किँदैन । कुनै पनि विषयवस्तुको गहिरो विश्लेषण गरी भिजन दिन सक्ने उनको क्षमता अहिलेसम्म प्रकट भएको छैन । कांग्रेसमा उनले कुनै नयाँ विचार र दृष्टिकोण दिन सकेका छैनन् ।
–देउवा असल वक्ता होइनन् । उनको भाषण गोलमटोल हुने गर्छ भने पत्रकार वा कार्यकर्ताबीच तार्किक रुपमा प्रस्तुत हुन सक्दैनन् । अनायास आवेशमा आउने रिसाहा स्वभाव छ ।
–सामान्य परिवारका व्यक्ति भएता पनि पछिल्लो समय देउवा विलासी जीवनशैलीका लागि आलोचित छन् । मदिराप्रेमीका नेताका रुपमा समेत कतिपयले उनलाई चित्रण गर्ने गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend