साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी जेठ १९ ।
शुक्रबार दिउँसो १२ बजे । स्थानीय र सुरक्षाकर्मी मतदान स्थल बनाउँदै थिए । निर्वाचन कार्यालयका कर्मचारी निर्वाचन साम्रागी व्यावस्थापनमै व्यस्त । धुमिलो आकाश । धेरै जनाले आकाशतिर हेरेर विभिन्न अडकलबाजी गर्दै थिए । आज पक्कै पानी पर्छ । नभन्दै केहिबेरमै पानी पर्न थाल्यो । खुल्ला चौरमा मतदान केन्द्र भएकाले पानीले समस्या नै पुरायो । पानी झन दर्कियो ।
सुरक्षाकर्मी मतपेटीका र निर्वाचन सामग्री बोकेर ओत खोज्दै दौडिए । ‘यो पनि सिकाई हो, अहिले केहि भएन चुनाव त मध्ये बर्खामा हो,’नमुना मतदान गर्न गएका मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासेनीले भने,‘ पानी नरोकिए असारमा समस्या हुने भो ।’ उनले मध्ये असार भएकाले पानीनै पर्छ भन्ने मान्यताका साथ तयारी अवस्थामा रहनुपर्ने बताए ।
खुल्ला चौरमा मतदान केन्द्र भएकाले प्रक्रिया शुरु हुनासाथ पानी परेको थियो । पछि अर्खबाङ्ग स्वास्थ्यचौकीमा नमुना मतदान गरिएको थियो । नमुना मतदान गर्न आएकी अर्खाबाङ्गकी लक्ष्मी भटराईले सरकारले निर्वाचन सारेर असारमा लैजाँदा कस्तो हुन्छ भन्ने आजको दिनले सिकाएको बताइन् ।
निर्वाचन कार्यालय गुल्मीले बदर मत कम गर्न नमुना जिल्लाको विकट गाउँ अर्खाबाङ्गमा नमुना मतदान गरेको छ । अत्यन्तै विकट र मतदानकेन्द्रको लागि उच्च जोखिममा रहेको मालिका गाउँपालिकाको अर्खबाङ्गमा मतदान केन्द्रमा पुगेर नमुना मतदान गरिएको हो । नमुना मतदानमा एक सय दुई मतदाता सहभागी भएका थिए ।
खसेको मत मध्ये ९ मत आंशिक र एक मत पुर्णरुपमा बदर भएको छ । गत मंगलबार सत्यवति गाउँपालिकाको हँसरामा पनि नमुना मतदान भएको थियो । ९६ मतदाता मतदानमा सहभागी भएका थिए । खसेको मत मध्ये ७ मत आंशिक बदर भएको थिए ।
मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासेनी, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुंङगाना, प्रहरी उपरिक्षक भोला रावल, मालिका गाउँपालिकाका निर्वाचन अधिकृत शसस्त्र प्रहरी नायव उपरिक्षक दिग बिजय सुवेदी, नेपाली सेनाका सेनानी दिपक बडुवाल अनुसन्धान अधिकृत प्रभु मल्ल, निर्वाचन अधिकृत गणेश थापा, मालिका गाउँपालिकाको कार्यकारी निर्देशक ऋषिराम पन्थी सहित पुगेको टोलीले मतदातालाई निर्वाचनमा मतदान गर्ने तरिका, केन्द्रको व्यवस्थापन लगायतका विषयमा पनि सिकाएको थियो ।
महिला, पुरुष, अशक्त, वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारहरूलाई मत दिन सिकाइएको थियो । स्वस्तिक छाप लगाएपश्चात मत बदर नहुने गरी पट्याउने विधि पनि सिकाइएको थियो ।
नमुना मतदानमा सहभागीहरूले अन्य व्यक्तिहरूलाई मतदान गर्न सिकाउने र जिल्लामा कम मत बदर हुने अवस्था सिर्जन गर्न खोजिएको जिल्ला निर्वाचन अधिकारी गणेश थापाले बताए । साथै सोहि अवसरमा मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासेनीले निर्वाचन आचारसंहिता र निर्वाचन शिक्षाका बारेमा मतदान स्थलमा आएका मतदाताहरुलाई जानकारी दिए ।
गुल्मीका २ नगर र १० गाउँपालिका मध्ये २ स्थानमा नमुना मतदान गर्ने कार्यक्रम रहेको निर्वाचन कार्यालयले जनाएको छ । गुल्मीमा १४ असारको चुनावका लागि एक लाख ८० हजार सात सय ७५ मतदाता छन् । निर्वाचन कार्यालयले निर्वाचनका लागि एक सय ४० केन्द्र निर्धारण गरेको छ । भने एक सय ३८ मतदान स्थल तय गरेको छ ।
मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, चार वटै सुरक्षा निकायका प्रमुख र निर्वाचन कार्यालयको टोलीले विहिबार विभिन्न मतदान केन्द्रहरुको निरिक्षण गरेको छ । इस्मा गाउँपालिका र मालिला गाउँपालिकाका विभिन्न मतदान केन्द्र, निर्वाचन अधिकृतको कार्यालय, मतगणना स्थलको अवस्था र व्यावस्थापनका बारेमा निरिक्षण तथा अवलोकन गरेको छ ।
बर्खाको समय भएकाले मतदानकेन्द्रहरुमा पालको व्यावस्था कसरी गर्ने, केन्द्र टाढा रहेका स्थानहरुबाट मतपेटीका गणना स्थलसम्म कसरी ल्याउने लगायतका बारेमा निर्वाचन संयन्त्र र स्थानीय सरोकारवालबिच छलफल समेत भएको छ ।
मालिका गाउँपालिका अन्तरगत अर्खबाङमा बदरमत कम गर्न शुक्रबार निर्वाचन कार्यालयले आयोजना गरेको नमुना मतदानको झलक ।





© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend