साझा नेटवर्क
काठमाडौं ।
महाभूकम्मको दोस्रो वार्षिक उत्सवको अवसर पारेर लेखक तथा डाक्टर रवीन्द्र समीरको एघारौं कृति भूकम्ममा मल्हमपट्टी बजारमा आएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पबाट भएको मानवीय, मानसिक तथा भौतिक क्षतिबाट द्रवित भएर डाक्टर समीरले भूकम्पप्रभावित १० जिल्लाका दर्जनौं गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दे ९ हजारभन्दा धेरै पीडितलाई उपचार गरेका थिए ।
विभिन्न विकट गाउँमा न्याना कपडा वितरण, मनोपरामर्श कार्यक्रम तथा बालबालिकालाई सरसफाइ, पोषण शिक्षा तथा स्वास्थ्यका अतिरिक्त सेवा पनि प्रदान गरेका थिए । त्यस क्रममा देखेका, सुनेका, गरेका तथा भोगेका कारुणिक अनुभूति तथा आशाको आगतलाई सजीव ढङ्गले लिपिबद्ध गरेका छन् उनले भूकम्ममा मल्हमपट्टीमा ।
महाभूकम्पले ल्याएको मानसिक, शारिरिक तथा भौतिक असरका बाछिटाहरुलाई बुझ्न पुस्तक उपयोगी हुने ठान्छन् लेखक समीर । त्यस्तै कलाकार हरिवंश आचार्य भन्छन्, ‘भूकम्पबाट सृजित अकल्पनीय अवस्था, पीडितको संवेदनशील मनोभाव तथा परकम्पको पर्वाह नगरी भूकम्पपीडित बस्तीमा गरेको यात्राको दर्पण हो भूकम्ममा मल्हमपट्टी ।’
जनस्वास्थ्य विशेषज्ञ रवीन्द्र समीर लघुकथा विधाका सशक्त हस्ताक्षर हुन् । ‘तेस्रो आँखा’ (२०५३), ‘पोस्टमार्टम’ (२०६२), ‘विकिरण’ (२०६३), ‘ईश्वरका कथा’ (२०६५), ‘अर्जुनदृष्टि’ (२०६७), ‘अणु र पहाड’ (२०६९), ‘व्यङ्गम् शरणं गच्छामि’ (२०७०) र ‘एकलव्य दृष्टि’ (२०७१) गरी उनका ८ ओटा लघुकथासङ्ग्रह प्रकाशित छन् । यसबाहेक समीरका ‘चाँदीको घेरा’ (मुक्तकसङ्ग्रह, २०६२) तथा ‘ग्रेटवालको ग्रेट अनुभूति’ (नियात्रासङ्ग्रह २०६६) पनि प्रकाशित छन् ।
समीरले पद्मश्री साहित्य पुरस्कार, युवावर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, नेपाल विद्याभूषण पदकलगायत करिब दुई दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार एवम् सम्मान प्राप्त गरेका छन् ।
पुस्तक फाइन प्रिन्टले प्रकाशन गरेको हो । मोटो गाता भएको यस पुस्तकको मूल्य ३४८ रुपैयाँ रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend