logo
  • शनिबार, असोज १० २०८३

नेपालले आफ्नो कूटनीति प्रभावकारी बनाउनु पर्ने जोड दिदै विज्ञहरुको सम्मेलन सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

सुर्य चन्द,काठमाडौं,चैत्र २० ।
शनिवार राजधानीमा विज्ञहरुले नेपालले आफ्नो कूटनीति प्रभावकारी बनाउन नसकोको भन्दै प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन् । एसियन इन्स्टिच्युट अफ डिप्लोम्यासी एन्ड इन्टरनेसनल अफेयर्स (एआईडीए) र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको संयुक्त आयोजना भएको नेपालको विदेश नीति सम्बन्धी सम्मेलनमा सहभागी विज्ञहरुले उक्त धारणा ब्यक्त गरेका हुन् ।

उनीहरुले नेपालले कूटनीतिक क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको बताएका छन् । अहिले विश्वको ध्यान दुई छिमेकी मुलुक चीन र भारतमाथि परेको बेला नेपालले आफ्नो कूटनीतिक भूमिकालाई प्रभावकारी बनाउनु पर्ने उनीहरुले बताएका छन् । सहभागीहरुले राष्ट्रहितका लागि कूटनीति संवेदनशीलतामा ध्यान दिनुपर्ने बताएका छन् । ‘छिमेकी मुलुकलाई विश्वासमा राखेर राष्ट्रिय स्वार्थको रक्षा गर्नुपर्छ’, पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले भने । उनले विदेश नीतिले लिएका आधारभूत मान्यता र प्राथमिकतालाई समयानुकूल बनाउनुपर्ने धारणा व्यक्त गरे । त्यस्तै पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको शिर उच्च नभएसम्म व्यक्तिको शिर उच्च नहुने उल्लेख गर्दै राष्ट्रिय हितमा ध्यान दिन सबैसँग आग्रह गरेका थिए ।

‘आफ्नो देश समृद्ध नभएसम्म विदेशमा पनि सम्मान पाउन सक्किन’, उनले भने । यसैगरी ‘हाम्रो कूटनीति कमजोर हुँदै गएको छ, यसलाई समय सापेक्ष बढाएर लैजानु आजको आवश्यकता हो’, परराष्ट्रविद् डा. दिनेश भट्टराईले भने । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका कार्यकारी निर्देशक पन्नाकाजी अमात्यले छिमेकीलगायत अरू मुलुकले कूटनीतिक नीति लिँदा आफ्नो स्वार्थ हेरे पनि हामी भने छिमेकीले के भन्ला भनेर डराउने गरेको बताए । आफ्नो कूटनीतिक नीतिमा छिमेकीको राय र सल्लाह तथा प्रतिक्रिया लिनु जरुरी नभएकाले राष्ट्रहितमा सोचेर काम गर्नुपर्ने उनको भनाइ थियो । परराष्ट्र सचिव शंकर दास वैरागीले राष्ट्रहितको कुरा जुनसुकै अवस्थामा हुँदा पनि एउटै हुनुपर्ने स्पष्ट पार्दै राष्ट्रिय एकता र धराततीय अवस्था हरेर सम्बन्ध राख्न जरुरी रहेको बताए ।

नेतृत्व तहमा हुनेले नै छोराछोरी र नातागोताका लागि छात्रवृत्ति माग्न दूतावास धाउने प्रवृत्ति अन्त्य नभएसम्म देशको कूटनीतिमा नकारात्मक प्रभाव परिरहने प्रा. डा युवराज संग्रोलाको भनाइ थियो । कार्यक्रममा मधुकर शमशेर राणा, दीपप्रकाश भट्ट, डा. निर्मलमणी अधिकारी, अखिलेश उपाध्यय, डा. खडग केसी, डा शम्भुराम सिमखडा, मधुरमण आचार्य, गोआ युनिर्भसिटिका प्रोफेसर डा. दत्तेश प्रभु परुलेकर, फुदन युनिर्भसिटि चीनका डा. झ्याङ जीजेन, एमाले नेता प्रदिप ज्ञवाली, डा. उमेश भट्टराई, डा. पंकज झा, राजेश्वर आचार्य, उद्योग मन्त्री नविनराज जोशी, पोउल आइ नर्टन, भिम उदास, अस्ट्रेलियाका लागि नेपाली राजदूत सिफारिस भएकी लक्की शेर्पा, काठमाडौं विश्वविद्यालयका प्राध्यापक निर्मलमणि अधिकारीलगायत ३६ भन्दा धेरै वक्ताले नेपालको विदेश नीतिसम्बन्धी विभिन्न विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

एसियन इन्स्टिच्युट अफ डिप्लोम्यासी एन्ड इन्टरनेसनल अफेयर्स (एआईडीए)को सिओ सुनिल केसी र मध्यपश्चिमाञ्चल विश्वविद्यालयक उपकुलपति प्राडा उपेन्द्रकुमार कोइरालाले नेपालको विदेश नीतिसम्बन्धी यस्ता कार्यक्रमहरुले प्रभावकारी बनाउने विश्वासका साथ आफूहरुले यो कार्यक्रम आयोजना गरेको बताएका थिए । विभिन्न सत्रको कार्यक्रमको समायोजन, सुरेश आचार्य, अखिलेश उपाध्यय, गोपाल खनाल, डा उद्धब प्याकुरेल, श्याम केसी र विशाल न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend