साझा नेटवर्क
सुवास विश्वकर्मा,पाल्पा, चैत्र १८ ।
स्थानीय तहको चुनावको मिति नजिकिदै जादा नेकपा (माओवादी केन्द्र) पाल्पाले गाउँपालिका तथा नगरपालिकामा उम्मेद्वार चयन प्रक्रिया अगाडि बढाएको छ । माओवादी केन्द्र पाल्पाले तानसेन र रामपुर नगरपालिका सहित जिल्लाभरीका ८ वटा गाउँपालिकामा चुनावी प्रतिष्पर्धामा उतार्ने उम्मेद्वार छनौट गर्ने तयारी थालेको हो ।
नेपालकै पुरानो तानसेन नगरपालिकामा मेयरमा माओवादीका तर्फबाट नेत्रप्रसाद पाण्डे, नविन थापा, केशव पौडेल, गोपाल पौडेल, विन्दु रावलको नाम चर्चामा छ । माओवादीबाट महिला उपमेयर प्रतिक्षा सिंजालीको नाम चर्चामा आएको छ । माओवादीले तानसेन नगरपालिकामा पार्टी फुटको बेलामा समेत तेस्रो शक्ति दावी गर्दै पार्टी एकीकरणपछि संगठन सुदृढ भएको माओवादी केन्द्रको दावी छ ।
त्यस्तै रामपुर नगरपालिकाबाट मेयरमा जीतबहादुर थापा, कमलराज भट्टराई, तारानाथ ढकाल, गीता सुनार र जनक ढकालको नाम चर्चामा छ । यस्तै रैनादेवी छहरा गाउँपालिकामा अध्यक्षमा फर्सबहादुर खाम्चा, तुलाराम गरम्जा, चन्द्रप्रकाश परियार (डिफेन्स), रामबहादुर गरम्जा (यसकुमार), खेममाया सुनारी र कृष्ण भण्डारीको नाम चर्चामा छ । माओवादीले फागुन देखि संचालन गरेको घरदैलो अभियान र संगठन निर्माण अभियानले छहरा रैनादेवी गाउँपालिका आफ्नो संगठनले जित्ने दावी गरेको छ ।
रिब्दीकोट गाउँपालिकामा प्रमूखमा नविन वली, मिरा राना, मेघराज आचार्य, आशिष दुधराजको नाम चर्चामा छ । माओवादीले स्वतन्त्र र चर्चित सामाजिक व्यक्तिलाई समेत उम्मेद्वार बनाउने नीति लिएकाले लिला कार्कीको नाम समेत यो गाउँपालिकामा चर्चा छ । स्वतन्त्र तथा सामाजिक व्यक्तिलाई उम्मेद्वार बनाउदा चुनावी परिणाम आफ्नो पक्षमा पर्ने माओवादीको आँकलन गरेको छ ।
बगनासकाली गाउँपालिकामा भने अखिल नेपाल शिक्षक संगठनका पूर्व अध्यक्ष मथुरा ढकाल, कृष्ण भुसाल, खुमबहादुर विक, शान्ता न्यौपाने र गीता रेग्मीको नाम चर्चामा छ । तिनाउ गाउँपालिकामा माओवादीबाट चक्रव्यूह थापा, राजेश श्रेष्ठ, जानुका घर्ती, रेवन्त छहरी, नारायण थापाको नाम चर्चामा छ । यस गाउँपालिकाबाट सामाजिक क्षेत्रमा क्रियाशिल चोपलाल गिरी समेत उम्मेदवार बन्ने सम्भावना छ ।
माथागढी गाउँपालिकाबाट हरि चौहान, नवल श्रेष्ठ, तिलकुमारी पोखरेल, टिका काफ्लेको नाम चर्चामा छ । यस्तै रम्भा गाउँपालिकामा अर्जुनकुमार श्रेष्ठ, सुवि विक, दिनेश अर्याल र कल्पना केसीको नाम चर्चामा छ । निस्दी गाउँपालिकामा विद्यार्थी नेता बलु गैरे, नवलकुमार वयम्बु, भुपिन सुनारी र पूर्वखोला गाउँपालिकाबाट भने प्रेम गैरे, शिव भट्टराई, धनबहादुर दर्लामी र भीमबहादुर सारुको नाम चर्चामा छ ।
माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले आगामी बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेपछि माओवादी पाल्पाले चैत मसान्तभित्रमा वडापालिका र गाउँपालिकाबाट वडा सदस्य, वडा अध्यक्ष उपाध्यक्ष गाउँपालिकाको प्रमूख उपप्रमूखको नाम सिफारिस गर्न निर्देशन गरेको छ । आगामी चैत मसान्तभित्र उम्मेद्वारको टुंगो लगाएर बैशाख पहिलो साताभित्र केन्द्रमा उम्मेद्वार पठाउने तयारी भएको माओवादी केन्द्र पाल्पाका संयोजक गीरबहादुर थापा वीरबलले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस र एमालेभित्र रहेको चरम गुटबन्दी र आन्तरिक द्वन्द्वलाई मौका छोपेर माओवादीले जित्ने दाउ गरेको छ । जिल्लाका अधिकांश स्थानमा एमाले र कांग्रेसको प्रतिष्र्धा हुने भएपनि पछिल्लो समयमा माओवादी समेत प्रतिष्पर्धी दलको रुपमा क्रियाशिल रहेको छ । गत वर्ष दश माओवादी घटकहरुका बीचमा भएको एकताले माओवादीले संगठन सुदृढ र विस्तार राम्रो हुँदै गएको माओवादी पाल्पाका इन्चार्ज वसन्त शर्मा कुशलले दावी गर्नुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend