logo
  • शुक्रबार, असोज ९ २०८३

नयॉं शक्तिले प्रधानमन्त्रीलाई १० लाख नागरिकको हस्ताक्षर संकलन गरी बुझायो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

ध्रुब क्षेत्री, चैत १ ।
नयाँ शक्ति पार्टी, नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्थाको पक्षमा दबाव सिर्जना गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १० लाख नागरिकको हस्ताक्षर संकलन गरी बुझाएको छ । सोमबार काठमाडौंको माइतीघर मण्डलामा दबावस्वरुप एक घन्टा धर्नापछि पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले उक्त हस्ताक्षर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउनुभएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नयाँ शक्तिका नेताहरुको नेतृत्व गर्दै पुग्नुभएका संयोजक भट्टराईले प्रधानमन्त्री दाहाललाई नयाँ शक्तिका मागहरुबारे ध्यानाकर्षण गर्नुभयो ।भेटमा संयोजक भट्टराईले प्रधानमन्त्री दाहाललाई नयाँ शक्ति पनि निर्वाचनको पक्षमा रहेको स्पष्ट पार्दै निर्वाचनमा सबै पक्ष सहभागी हुन सक्ने वातावरण बनाउन पहल गर्न आग्रह गर्नुभयो ।
भेटमा संयोजक भट्टराईले प्रधानमन्त्री दाहाललाई संविधान संशोधन गरेर निर्वाचनमा जानु नै उपयुक्त हुने सुझाव दिनुभयो । प्रधानमन्त्री प्रचण्डलाई एनसेलको कलछली प्रकरणलाई सघाउने गरी मन्त्रिपरिषदले गरेको निर्णय फिर्ता लिन पनि संयोजक भट्टराईले आग्रह गर्नुभयो । भेटमा उहाँले प्रधानमन्त्रीलाई कञ्चनपुर घटनाबारे छानबीन गरेर दोषीलाई कारबाही गर्नसमेत माग गर्नुभएको थियो । संयोजक भट्टराईले प्रधानमन्त्री दाहालसँग सीमा समस्यालाई दीर्घकालीनरुपमा व्यवस्थापन गर्न आग्रहसमेत गर्नुभयो ।
घरघरमा नयाँ शक्ति अभियान अन्तर्गत प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्थाको लागि १० लाख हस्ताक्षर संकलन गर्ने घोषणा गरेको नयाँ शक्तिले फागुन ३० सम्ममा दश लाख नागरिकको हस्ताक्षर संकलन गरेको हो । यसैगरी हस्ताक्षर बुझाउनुपूर्व काठमाडौँको माइतिघर मण्डलामा १२ देखि १ बजेसम्म बसेको भर्ना कार्यक्रममा बोल्दै संयोजक डा. बाबुराम भट्टराईले देशमा सदाचार र स्थिर सरकारको निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा सदन र सडकबाट दवाव सृजना गर्ने बताउनु भएको थियो ।

सोही कार्यक्रमा बोल्दै पार्टीका सहसंयोजक रामचन्द्र झाले संविधान संशोधन गरेर मधेशी जनताको भावनाको कदर गर्न माग गर्नुभयो । उहाँले जनतालाई गोली दागेर समस्याको समाधान नहुने बताउनुभयो । संगठन विभागका प्रमुख देबेन्द्र पौडेलले सरकारले संविधान संशोधन गरेर समस्या समाधान गर्नुभन्दा सप्तरीमा परिवर्तन चाहने जनतालाई गोली हानेर निरंकुशता प्रदर्शन गरेको बताउनुभयो ।

उहाँले कन्चनपुर घटनामा देशभक्त नेपाली गोविन्द गौतमको गोली हानी हत्या गरेको घटनाको भर्त्सना गर्दै दोषीमाथि कारवाहीको पहल गर्न राज्यसँग माग गर्नुभयो । माइतीघर मण्डलामा भएको धर्नालाई नयाँ शक्ति पार्टी, नेपालका महिला विभाग प्रमुख कल्पना धमला, तीन नम्बर प्रदेश संयोजक गंगा श्रेष्ठलगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend