logo
  • शनिबार, असोज १० २०८३

सेवाप्रदायक निकाय र सेवाग्राहीबीच जिल्ला स्तरीय अन्तरक्रिया सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

पाल्पा, फागुन २५।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवा प्रदायक निकाय र सेवाग्राही बीचको एक दिने अन्तरक्रिया कार्यक्रम बुधवार तानसेनमा सम्पन्न भएको छ ।
अन्तरक्रियामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल गर्ने कार्यक्रम अन्तर्गत इन्सेकले संचालन गरेको परियोजना सञ्चालित चापपानी र खानीगाउँ गाविस सहित जिल्ला स्तरको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा छलफल गरिएको थियो । गाविस स्तरबाट पहिचान गरि ल्याएका समस्याहरु कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा जिल्ला कृषि बिकास कार्यालय पाल्पाका बरिष्ठ कृषि बिकास अधिकृत किशोरमान श्रेष्ठले राज्यको कृषि नीति र जिल्ला स्तरमा कार्यान्वयनको अवस्था बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुअ अतिथि प्रमुख जिल्ला अधिकारी बावुराम गौतमले इन्सेकले मानवअधिकार निगरानी समूह गठन गरि जिल्ला स्तरमा रचनात्मक अभियान चलाएकोमा धन्यवाद ज्ञापन गरे । उने गाविस स्तरबाट आएका समस्या समाधानका लागि आफ्नो तर्फबाट सहयोग रहने प्रतिबद्वता जनाए ।

सो अवसरमा निमित्त स्थानीय बिकास अधिकारी निर्मल प्याकुरेल, प्रहरी उपरीक्षक हरिराज वाग्ले, नेपाली कांग्रेस पाल्पाका सचिव अजय कर्माचार्य, नेकपा माले पाल्पाका अध्यक्ष धनराज पौडेल, माओवादी केन्द्रका प्रतिनिधि गिर बहादुर थापा, उपभोक्ता मञ्च पाल्पा अध्यक्ष माधव नेपाल, गैरसरकारी संस्था महासंघ पाल्पाका अध्यक्ष भेषराज तिमिल्सिना, पत्रकार महासंघका सचिव किरण कौशल, पत्रकार माधव अर्याल, चापपानी मानवअधिकार निगरानी समूहका संयोजक रणप्रताप खाँण लगायतले बोल्दै जिल्ला स्तरमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा रहेका समस्या राखेका थिए ।

सेवाप्रदायक निकायका तर्फबाट जिल्ला कृषि बिकास कार्यालय पाल्पाका बरिष्ठ कृषि बिकास अधिकृत किशोरमान श्रेष्ठ, जिल्ला शिक्षा कार्यालय पाल्पाका निमित्त जिल्ला अधिकारी रेशमलाल न्यौपाने, स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ अधिकृत बिश्वनाथ न्यौपाने, जिल्ला पशु सेवा कार्यालय पाल्पाका प्रतिनिधि कपिल श्रेष्ठ लगायतले उठेका जिज्ञाशाहरुको जवाफ दिएका थिए ।

वक्ताहरुले यसरी उठेका सवालहरुबारे आगामी कार्यक्रमहरुमा सम्बोधन गर्ने प्रतिबद्धता समेत जनाए । कार्यक्रममा इन्सेक पश्चिमाञ्चल संयोजक शिव खकुरेलले स्वागत सहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा जिल्लामा रहेका सेवा प्रदायक निकायका प्रमुख तथा प्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरु, जिल्लास्तरीय र गाविस स्तरीय मानव अधिकार निगरानी समूह तथा सञ्जालका पदाधिकारीहरू, युवा समुहका प्रतिनिधि, बाल अधिकार चेतना समूहका प्रतिनिधि, मानवअधिकारकर्मी, सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

कार्यक्रम मानवअधिकार निगरानी समूह पाल्पाका संयोजक भगवान भण्डारीको अध्यक्षता र इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend