साझा नेटवर्क
पाल्पा, फागुन ७ ।
संविधानको कार्यान्वयन, आवधिक निर्वाचन निर्वाचनका लागि नागरिक दवाव अभियान नारासहित पाल्पामा क्रियाशील मानव अधिकारकर्मीहरुले संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन मिति तुरुन्त घोषणा गर्न दवाव दिने गरि अभियान थालेका छन् ।
नेपालको संविधानले विभिन्न तहको निर्वाचनका लागि अङ्गीकार गरिएका निर्वाचन प्रणाली, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, स्थानीय तह, प्रदेश सभा र संघीय संसदको गठन, राजनीतिक दल दर्ता आदि विषयमा गरेका व्यवस्थाले मुर्त रुप लिनु अहिलेको आवश्यकता रहेकोमा दुई मत छैन ।
यसको लागि आरम्भ विन्दु भनेकै स्थानीय तहको निर्वाचन हो जसको आयोजना जति ढिला भयो, बाँकी काम सबै अधुरो रहँदै जाने निश्चित भएकोले यस प्रकारको अभियान थालिएको मानवअधिकारकर्मीहरुले बताए ।
मानवअधिकार निगरानी समूह पाल्पाको पहलमा शनिवार तानसेनमा कोणसभाको आयोजना गरियो । कोणसभामा बोल्दै समूहका संयोजक भगवान भण्डारीले संविधान कार्यान्वयनका लागि तत्काल निर्वाचनको मिति घोषणा गर्नु आवश्यक रहेको बताए ।
उनले यसमा सबै पक्षको सक्रियता आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा बरिष्ठ पत्रकार मेघराज शर्मा, पत्रकार महासंघ पाल्पाका सचिव किरण कौशल, पत्रकार भोजराज भट्टराई , मानवअधिकार शिक्षा मञ्चका अध्यक्षका माधव बस्याल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा साहित्यकार निशान्त बरालले कविता सुनाएका थिए । कोणसभा पछि बसेको मानवअधिकारकर्मीहरुको बैठकले यो अभियानलाई निरन्तर रुपमा अगाडि बढाउने निर्णय गरेको इन्सेक पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend