logo
  • शनिबार, असोज १० २०८३

बाजागाजा सहित गाउँ निकाला गरिएका जोडी पुर्नस्थापित


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

टोपलाल अर्याल गुल्मी माघ १६ ।
अन्तर जातिय प्रेम सम्बन्ध राखेको आरोपमा स्थानीयले गाउँ निकाला गरेका अर्वेनी गाविस–५ का ८१ वर्षीय लालबहादुर सुनार र सोही स्थानकी ४२ वर्षीया सावित्रा न्यौपाने एक भव्य समारोहकाबिच पुर्नस्थापित भएका छन् । पुस १ गते लालबहादुरको घरमा बसेको अवस्थामा सावित्रालाई भेटाएपछि स्थानीयले उनीहरूलाई बाँधेर निर्घात कुटपिट गरी गाउँ निकाला गरेका थिए ।अर्वेनी गाविस कार्यालय सहायक झविलाल न्यौपाने र सावित्राका ४३ वर्षीय भतिज चिन्तामणी न्यौपानेको अगुवाइमा स्थानीयले एक्कासी उनीहरू दुवै जनालाई गाउँ निकाला गरेका थिए । आरोपित र स्थानीयले भत्काएको घर बनाई दिएपछि जिल्ला प्रसासन कार्यालय,अर्वेनी गाविस कार्यालय,जिल्लाका दलित अगुवा, मानवअधिकारकर्मी सहितको टोलीले उनीहरुलाई बाजागाजाको साथ घर भित्राइएको दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य कृष्ण सुनारले बताउनुभयो । साझा मञ्चले आयोजना गरेको लाल बहादुर, सावित्रा पुर्नस्थापना कार्यक्रममा उनीहरुलाई सम्मान गर्नुका साथै घर प्रवेश गराइएको थियो । पुर्नस्थापीत हुने जोडीलाई स्वागत गर्दै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुंगानाले उनीहरुलाई ढुक्कसंग समाजमा जिउने वातावरण प्रदान गर्न स्थानीयहरुलाई आग्रह गर्नुभयो । गाउँ निकाला गर्ने काम मानव अधिकार बिरोधी कार्य भएकाले दोषी माथी कारबाहि बाँकी नै रहेपनि उनीहरुलाई समाजले संगसंगै हरेक गतिविधीमा समावेश गर्नुपर्नेमा ढुगांनाले जोड दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढुगांना, शसस्त्र प्रहरी प्रमुख दिग विजय सुवेदी, दलित अगुवा कृष्ण सुनार, झविन्द्र सुनार, दल बहादुर विक, धर्म विक, गोपाल सुनार, चक्र विक लगायत साविस सचिव भरत राना, मानव अधिकारकर्मी गणेश श्रेष्ट, पत्रकार शिव सुवेदी, प्रेम सुनार लगायतको सहभागीता रहेको थियो । गाउँ निकाला गर्ने बिरुद्ध पुस ७ गते जिल्ला प्रहरी कार्यालयमा सामाजिक अपराध अन्तरगत उजुरी समेत दर्ता भएको थियो ।पीडितका छोरा अनुराम सुनारले गाउँ निकाला गर्ने र घर भत्काउन लगाउने सोही स्थानका चिन्तामणी न्यौपाने र अर्वेनी गाविस कार्यालय सहायक झविलाल न्यौपाने विरुद्ध उजुरी दर्ता गरेका थिए । तर ३९ दिन काट्दा समेत आरोपितहरुलाई प्रहरीले गिरफतार गर्न सकिराखेको छैन । गाउँ निकालाको बिषयलाई लिएर इन्सेक अनलाइन तथा विभिन्न संचार माध्यममा समाचार तथा रिर्पोटहरु प्रकाशन तथा प्रसारण भएपछि दलित आयोगका सदस्य गोविन्द सुनार लगायतको टोलीले स्थलगत अनुगमन समेत गरेको थियोे । साथै जिल्लाका दलित अगुवा र पत्रकार एवं मानव अधिकारकर्मीको टोलीले जिल्ला प्रसासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई पुस १८ गते ज्ञापनपत्र समेत पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend