साझा नेटवर्क
गंगा खड्का, गुल्मी माघ १४।
दासढुंगा दुर्घटनामा ज्यान गुमाएका तत्कालिन एमाले नेता जिवराज आश्रितका सुपुत्र डा.सागर न्यौपाने सम्मानित भएका छन् । जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपाल रुपन्देहीले शुक्रवार बुटवलमा आयोजित प्रतिष्ठानको छैठौँ साधारणसभाको अवसरमा उनलाई सम्मान गरेको हो ।
प्रतिष्ठानसँग गाँसिएका न्यौपानेले चिकित्सा शास्त्रमा विद्यावारिधी(पिएचडी) गरेकाले उहाँको उच्च कदर गर्दै दोसल्ला ओडाएर सम्मान गरिएको प्रतिष्ठानका महासचिव चरण तिमिल्सिनाले जानकारी गराए । विभिन्न जिल्लामा पुगेर निःशुल्क रुपमा स्वास्थ्य परिक्षण र प्रशिक्षण संचालन गर्नका लागि न्यौपानेसँग अपेक्षा राखिएको उनले बताए ।
बुवाको सपना पुरा गर्नका लागि दुर्गममा पुगेर सर्वसाधरणको स्वास्थ्य परिक्षण गर्ने योजना बनाएको सम्मानित भएका डा.न्यौपानेले बताएका छन् । ‘कमजोर आय भएका व्यक्तिको निःशुल्क स्वास्थ्य परिक्षण गर्ने मन छ’,उनले भने,‘दुर्गमका गाउँबाट यसको शुरुवात गर्नेछुँ ।’ शुरुमा आफ्नै गृह जिल्ला गुल्मीबाट यसको शुरुवात गर्ने तयारी गरेको समेत उनले जानकारी गराए ।
यसैविच, गुल्मीमा जन्मिएका जीवराज आश्रितको सम्झनामा बुटवलमा ‘नमुना आश्रित संग्राहलय’ निर्माण गरिने भएको छ । आउँदो आर्थिक वर्षभित्रै निर्माण कार्य सम्पन्न गर्ने गरी प्रतिष्ठान भवन परिसरमै संग्राहलय निर्माण हुने भएको हो ।
संग्राहलय निर्माणका लागि विभिन्न निकायबाट गरी ८० लाख रुपैयाँ बजेट विनियोजन भएको प्रतिष्ठानका महासचिव तिमिल्सिनाले जानकारी गराए । जिविस रुपेन्दही, नगरपालिका, लुम्विनी बोर्ड, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयबाट बजेट प्राप्त भएको उनले बताए । उपभोक्ता समिति बनाएर संग्राहलयको निर्माण पुरा गरिने उनको भनाइ छ ।
साधारणसभामा बोल्दै प्रमुख अतिथी एमाले केन्द्रिय सदस्य एवं लुम्बिनी इन्चार्ज लिला गिरी, पूर्व सांसद् नजिरमिँया, एमालेकै यूवा नेता खिमलाल भटट्राई लगाएतले आश्रितको योगदानको उच्च कदर गर्दै अधुँरा कामहरु पुरागर्नुपर्ने दायित्व भएको औँल्याएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend