साझा नेटवर्क
गुल्मी, माघ २ ।
विगतका वर्षहरुमा जस्तै यस पटक पनि माघे संक्रान्तिको अवसरमा रिडी स्थित कालीगण्डकी नदीमा संक्रान्तिको दिन कालीगण्डकी नदीमा स्नान गर्न आउने श्रद्धालुहरुको घुँइचो बढेको हो । पाल्पा,गुल्मी र स्याङ्जा जिल्लाको संगम स्थल रिडीस्थित कालीगण्डकी नदीमा स्नान गर्न र ऋषिकेश भगवानको दर्शन गर्नका लागि नेपालका पाल्पा,गुल्मी स्याङ्जा, अर्घाखाँची, बाग्लुङ्ग,पर्वत,नवलपरासी, रुपन्देही, लगायतका जिल्लाहरु तथा भारतबाट समेत श्रद्धालुहरु रिडी क्षेत्र धाममा आउने गर्दछन् ।
रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिदै आएको छ । जसका कारण यस क्षेत्रको महिमा नेपाल बाहिर पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । मकर संक्रान्तिको अवसर पारेर पाँच दिनसम्म सञ्चालन हुने रिडी मेलामा विशेषगरी कम्मल, काम्ला, राडी, पाखी, बाँस तथा चोयाबाट निर्मित सामग्रीहरुका साथै ओखरका घाँजी, गुँड, सुन्तला लगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ ।
संक्रान्तिको अवसरमा रिडीमा व्यापार गर्नका लागि बाग्लुङ्ग, रुकुम, रोल्पा लगायतका ठाउँबाट तीन दिनसम्मको यात्रा गरी मानिसहरु रिडी आइपुगेका छन् । रिडी क्षेत्र धार्मिक, पौराणिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिलकोणले समेत निकै महत्वपूर्ण मानिन्छ ।
नेपालका चार धाम मध्ये एक धाम र धार्मिक तथा पर्यटकीय दृष्टिकोणले रुरु क्षेत्र निकै महत्वपूर्ण मानिन्छ । माघे संक्रान्तिको दिन काली गण्डकीमा स्नान गरेर रुरु कन्याको दर्शन गरेमा मानिसहरुले आफूले अञ्जानका गरेका सम्पूर्ण पापबाट मोक्ष प्राप्त हुन्छ भन्ने किंवदन्ती छ ।
माघे संक्रान्तिको दिनमा श्रद्धालुहरु काली गण्डकी नदीमा स्नान गरी नजिकै रहेको ऋषिकेष मन्दिरमा गई पूजा आराधना गरेपछि आफूले अञ्जानका गरेका सम्पूर्ण पापहरु नष्ट भई मोक्ष प्राप्ती हुन्छ भन्ने विश्वास रहिआएको छ ।
विशेषगरी संक्रान्तिको दिनमा काली गण्डकीमा स्नान गर्नाले देव ऋण, पितृ ऋण तथा ऋषि ऋण समेत तिरिने धार्मिक विश्वासका कारण हजारौं मानिसहरु माघे संक्रान्तिको अवसरमा यस क्षेत्रमा आउने प्रचलन रहेको छ ।
स्थानीय रुरु फ्रेण्ड्स युवा क्लव तथा रिडी उद्योग वाणिज्य संघको आयोजना र रुरुस्थित आधा दर्जन भन्दा बढी संघ संस्थाको सहयोगमा संचालित माघे संक्रान्ति मेलामा घरेलु उत्पादित सामग्री लगायत कृषि उपज वस्तुहरुलाई समेत प्रर्दशनमा राखिएको छ ।
मेलालाई लक्षित गरेर रिडीमा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको साथमा क्लवले विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ । उक्त स्थानमा मेला अवधिभर रिडी क्षेत्रमा बराहपुराण समेत संचालन गरिएको छ ।
भिडियो – नारायण प्राभात मरासिनी ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend