साझा नेटवर्क
काठमाडौँ, माघ १ ।
आज माघ एक गते अर्थात माघे सङ्क्रान्ति, स्नान, दानलगायत विभिन्न धार्मिक कार्य गरेर देशभर आज यो पर्व मनाइदैछ । आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।

सौरमानको गणना बमोजिम आजदेखि ६ महिनासम्म सूर्य उत्तरायणमा प्रवेश गर्ने र धार्मिक मान्यता अनुसार सूर्य उत्तरायण भएको समय यज्ञ, दान आदि धार्मिक विधिका लागि शुभ मानिने भएकोले शुभ कर्महरु पनि यसै बेला गर्ने परम्परा छ ।
माघे सङ्क्रान्तिको अवसरमा आज बिहानैदेखि भक्तजनहरु नदी, तलाउ, त्रिवेणी, कुण्ड तथा जलाशयमा मकर स्नान गरिरहेका छन् । आजको दिन विशेष जनकपुरको गंगासागर, देवघाट, वराहक्षेत्र, रिडी, कन्काई लगायतका स्थानहरुमा ठूलो मेला लागेको छ । आज गुल्मीको रीडीमा स्नान गर्नेहरुको ठुलो भीड रहेको छ ।
स्नान, दान तथा पूजा गरिएपछि आआफ्नो घरमा तिलको लड्डु, तरुल, घीउ, चाकु, खिचडी, सेलरोटीलगायतका परिकार खाने चलन छ । यस्तै थारु समुदायले आजलाई नयाँ वर्ष मानेर विभिन्न नयाँ कामको योजना तथा शुरुवात पनि गर्ने प्रचलन छ ।
विधिपूर्वक बिहानैदेखि पूजापाठ गरेर थारु समुदायले आज सुगुर, बंगुरको मासु, नयाँ चामलको पिठोबाट बनाइएको ढिक्रीलगायतका परिकार खाने गर्छन् भने परम्परागत पहिरनमा नाचगान गरेर रमाउँछन् । माघ १ गतेलाई सरकारले २०६४ सालमा राष्ट्रिय पर्व घोषणा गरी त्यसयता सार्वजनिक बिदा दिंदै आएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend