साझा नेटवर्क
रवि रोषी, कतार जेठ १९।
लाग्छ कहिलेकाहिँ पिडाको कथा कहिलै लेख्नु नपरेपनि हुनेथियो । बुढो रुवाई संगै अब्यक्त दुखको भवसागर आँसु आँखाको डिलबाट भुकुभुकु झार्दै देश, गाउँघर र श्रीमति अनि बुढी आमाको पोल्टामा बस्दै र घुकुती खेल्दै गरेको काखे दुधे बालकको स्मृति अनुहारभरि पोतेर घुँडोमा चिउँडो अड्याएर भाग्यलाई सराप्दै परदेशमा दुख पाएकाहरुको विलौना कसैलाई समाचार बनाएर सुनाउनै नपरे जस्तो पनि लाग्छ । अवस्था त्यस्तै सिर्जना हुन्छ र लेख्न बाध्य हुनेगर्छ ।

घरदेश छोडेर परदेशमा पैसा कमाउन भासिएका कथाहरु लेख्दालेख्दा आजित म आज पुन १८५ जना नेपाली दाजुभाईको बिरह बेदनाको समाचार लेख्न बाध्य भएको छु । मैले यो समाचार लेख्नु उनीहरुलाई समाचारको पात्र बनाउन मात्र किमार्थ हुँदै होइन । यति बेला पौने दुई सय नेपाली दाजुभाईहरुले कतारमा हप्तौं देखि खान नपाएर बिचल्ली भएको समाचार लेख्नुको कारण भनेको सम्बन्धित निकायको यस अवस्थाप्रति गम्भीर ध्यानाकर्षण होस् र ५ लाख नेपाली दाजुभाईहरु बस्दै आउनुभएका कतारका नेपाली दाजुभाईहरुले विचल्लीमा परेका ति दाजुभाईहरुलाई न्याय नपाउन्जेल दुई छाक खाने प्रबन्ध गरिदिनुहुन्छ भन्ने आशा लिएर यसो गर्न पुगेको हुँ ।

सन्दर्भमा घटना जोड्दै जाँदा खान नपाएर अलपत्र परेका ति नेपाली दाजुभाईको कथा समाचारमा ल्याउने क्रम र पहिलो चरणमा रातारात भोकको गर्जो टार्न अहम् भूमिका निभाउने पत्रकार एमपि पोखरेल र करिमबख्स मियाँलाई म साधुवाद दिन चाहन्छु ।
एक महिना भन्दा पहिले देखि नै आफन्त र विभिन्न श्रोतबाट नेपाल फिर्तीका लागि टिकट जोहो गरेर जान नपाएकाहरुको विरहको कथा अलगै छ । उनीहरु भन्छन्, पहिले टिकट लिएर आउनेलाई एक्जिट पेपर दिन्छौं भनेर टिकट लिएर आयौं । हामीलाई एक्जिट पेपर नदिएकै कारणले नेपाल फिर्ता हुन पाएनौं । साहुको बाउ कतार छोडेर भागीसक्यो । छोरोलाई जेल हालेको छ । न्यायको लागि धेरै पटक भौंतारियौं । कतैबाट सहयोग भएन ।
अलपत्र अवस्थामा रहेका मध्येमा सुर्य म्यानपावर काठमाडौंबाट आएका ८५ जना, एसओएस म्यानपावर, शिखर म्यानपावर, एन आर सि अर्थात नेशनल रिक्रुटमेन्ट कन्सल्टेन्सी, साईकृष्ण म्यानपावर बाट आएका २० जना, अल अरेविया म्यानपावरबाट आएका १२ जना र मिराकल इम्प्लोयमेन्ट सर्भिस प्राईभेट लिमिटेडबाट आएका हरु गरी कुल १८५ रहेका छन् ।
बैदेशिक रोजगारको हकमा रोजगारदाता कम्पनीले कतारको कानुनतः सेवा सुविधा नदिएको अवस्थामा सम्बन्धित देशमा रहेको राजदुतावास र राजदुतावासको विशेष पहलमा श्रम अदालतमा गई न्याय दिलाउन पहल गर्नु राजदुतावासको दायित्वको कुरा आउँछ । दुतावास जानु अघि नै लेबर कोर्ट पुगेका पिडितहरु पटक पटक जाँदा पनि न्याय नपाएपछि दुतावासमा पहल गरिदिन याचना सहित गएका नेपालीहरुलाई दुतावासको नियमित संस्कार अनुरुप लेबरकोर्ट जानको लागि पत्र तयार गरेर पठाएको सोलुखुम्बुका पासाङ सेर्पाले बताए । लेबर कोर्ट गयो, किन आएको फर्केर जा भनेर पुलिसले फर्काइदिन्छ । दुतावास गए लेबरकोर्ट जाने कागज दिएर पठाउँछ । अब हामीले न्याय माग्न जाने कहाँ हो ? त्यसमध्येका अर्का नेपाली टोप बहादुर कुमालले बताए । हामीलाई खाने अन्नको दाना कम्पनीले नदिएको महिनौं भयो । ४ महिना देखि ११ महिना सम्म तलव नपाएर बस्दा न्यायको लागि कतारमा बस्दा बस्दा जोगीकै चाल भयो हजुर भनेर गुनासो सुनाउँछन् ।
म्यानपावरलाई फोन गरेर सरकारलाई भनेर हामीलाई उद्धार गरिदिनुपर्यो भन्दा हामीले पठाउने काम गर्यौं, ३ महिना पछि हाम्रो कुनै जिम्मेवारी रहँदैन भनी वेवास्ता गर्छ । हामीमा कसैले पनि मानवीय व्यवहार गर्दै गरेन । हामी १८५ जनामा आश्रित करिब १ हजार परिवारको नेपालमा बिचल्ली भईरहेको छ । त्यो पिडा हाम्रो मनमा नै गुम्स्याएर राख्न बाध्य भएका छौं । कमाएर पाल्छु भनेर कतार आएका केहि साथीहरुको आम्दानीको ढोका बन्द भएपछि कतिका श्रीमतीले घरबाट खुट्टा उचालेर हिँडिसकेको खबर सम्म सुनाउन भ्याए ।
पत्रकार एमपि पोखरेलले बिचल्लीमा परेका नेपालीको बारेमा जानकारी पाएपछि पिडितलाई भेटी समाचार तयार गरेर प्रकाशन गरेपछि पहिलोपटक गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितीका सदस्य आर के शर्माले १५ बोरा चामल लगायत अन्य सामाग्री प्रदान गरी राहत दिनुभएको थियो । १५ बोरा चामल आएपछि धेरै दिन देखि पेटभरि खान नपाएका हामीले पातलो दालको सहयोगमा केहि छाक खायौं । पिडित मध्येका एकले बताए ।
दोश्रो चरणमा पत्रकार करिमबख्श मियाँको पहलमा व्यवशायी अब्दुल वाशिद (NRNA-ICC (SOCIAL ENTREPRENEURSHIP DEVELOPMENT SUB-COMMITTEE QATAR-MEMBER ) र एन आर एन ए गल्फ उपसंयोजक उमेश अधिकारी द्धयले १२ बोरा चामल, २३ किलो दाल ११ लिटर तेल र १० पोका नुन प्रदान गर्नुभएको छ । हामी मात्र यहाँ अलपत्र परेका छैनौं । श्रीलंकन र अन्य मुलका गरी २१५ जना छौं । हामी जस्तै भोको पेटका उनीहरुलाई देखाई देखाई खान मानवताले दिँदै दिएन । त्यहि भएर १८५ जनालाई पकाएको भात बाँडीचुँडी खाने गर्छौ । हजुरहरु हाम्रो दाता बन्नुभएको छ सहयोग दाता अव्दुल वाशिदलाई देखाउँदै भने । भोको पेटमा हामीले दिएको खाएपछि उनीहरुले हामीलाई अन्नदाता भनेर करुणा व्यक्त गर्छन् ।
भोको पेट, गरीबी र परिस्थितीले सबै धर्म, जात र फरक भूगोलको मान्छेलाई एउटै परिवार जस्तै बनाईदिएको छ हजुर । यो खुशीको कुरा त हुँदै हो । अर्का एकजनाले भावुक हुँदै मन रित्याएर गम्भीर कुरा पेस गरे । तपाईहरुले राजदुतावासलाई र सरकारलाई भनेर नेपाल पठाईदिने कोशिश गर्नुहोस् । धेरै साथीहरु डिप्रेशनको शिकार जस्तै भईसक्नुभएको छ । कतिका श्रीमतीले घर छोडे भनेर हल्ला ल्याईदिन्छन् । त्यसले साथीहरुमा अर्को पिरलो थपिएको छ । जति दुख परेपनि नेपालमा कहिलै भोको पेट बस्नु परेको थिएन । परदेश आएर दुखको आगमन र खान्कीमा खडेरी लाग्यो हजुर । तपाईं जस्तै नेपाली हौं हामी पनि । विदेशमा खान नपाएर भोकै मर्यो भनेर समाचार तपाईंहरुले छाप्न नपरोस् भनेर जम्ला हात जोड्दै ४९ वर्षीय कपाल सेताम्मे भएका एक नेपालीले निन्याउरो मुख लगाएर बोले ।
गैर आवासीय नेपाली संघ कतार शाखाका अध्यक्ष विनेश तामाङसंग यस बारेमा एन आर एन ए को कस्तो भूमिका रहेको छ त ? भन्ने प्रश्नमा पिडित पक्षका क्याम्पवोस पासाङ सेर्पाले अवस्थाको बारेमा जानकारी गराएपछि संस्थागत रुपमा सम्बन्धित निकायलाई जानकारी गराईसकेको र अबको अवस्थालाई नियाल्दा थप दवाव दिएर यथाशक्य न्याय दिलाएर पठाउने काम गरिहाल्नेछौं । अध्यक्ष तामाङले बताए ।
पुनः म सबैमा विनम्रतापुर्वक अनुनय गर्न चाहन्छु । ५ लाख नेपाली भएको देशमा १८५ जना नेपाली दाजुभाईले खान नपाएर भोकभोकै बसेको हेर्न र अरु देशका नागरिकहरुलाई नेपालीमा मानवता भन्ने चीज कति रहेछ भनेर देखाउन भने पनि खाद्यान्न सामाग्रीको जोहो गरिदिएर भोको नराखिदिऔं । सुरुवाती क्रममा एन आर एन आईसीसी सदस्य आरके शर्मा, एन आर एन ए आईसीसी गल्प सहसंयोजक उमेश अधिकारी र अब्दुल वासिदले भोको पेटलाई खाद्यान्न प्रदान गरेर ठुलो गुन लगाउनुभएको छ । हामीले पनि आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्यौं भने यो भन्दा ठूलो अरु पुण्य मार्ग कुन चाहिँ हुन्छ र ?
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend