साझा नेटवर्क
काठमाण्डौ, पुष २७ ।
आज अर्थात पौष २७ गते राष्ट्रिय एकताका धरोहर अनि दूरदर्शी राजा पृथ्वी नारायण शाहको जन्मदिनका रुपमा राष्ट्रिय एकता दिवस मनाईन्छ । २०६२ र ६३ को जन-आन्दोलन अगाडी राजसंस्थाको शासनकालमा काठमाडौ सिंहदरवारको पश्चिमीद्वारको पृथ्वी नारायण शाहको सालिकमा भब्यरुपमा मानिस भेला हुने र फूलमाला अर्पण गरेर मनाईने चलन थियो । गणतन्त्रको शुरुवातसंगै राजसंस्था अनि राज धरोहरप्रतिको अकास्मात वितृष्णाले केही महत्वपूर्ण चलनहरुपनि बगाएर लगेको छ ।
चाहे त्यो दशैंघरमा गोर्खाबाट ल्याईने फूलपाती होस् या पृथ्वीजयन्ति होस्, नेपाली सभ्यताका एतिहासिक स्वरूप बनाउन सफल साहसी अनि सिङ्गो नेपालका परिकल्पनाकार पृथ्वी नारायण शाहलाई नेपालीहरुले सम्झिन अावश्यक छ । पृथ्वी नारायण शाहका वाणी अनि देश बनाउन गरेका क्रियाकलापहरुका दस्तावेजले नेपाल अनि देशको सुशासनप्रतिको उनको मोहलाई स्पष्ट पार्छ, समग्रमा राष्ट्रिय एकताको सन्देश दिन्छ ।
“घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्”
“नेपाल दुई ढुङ्गाबिचको तरुल हो”
यस्ता दिव्योपदेशका दूरगामी तथा अर्थपूर्ण सरल परिभाषा अहिले पनि उत्तिकै सान्दर्भिक छन् । विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात् पौष २७ मा पिता राजा नरभुपाल शाह र माता कौशल्यावति देवीका प्रथम पुत्र पृथ्वी नारायण शाहले नै आधूनिक नेपालको खाका कोरेका हुन् । स-साना बाइसे र चाैबिसे राज्यहरुमा छरिएको भू-भागलाई सिङ्गो नेपाल बनाएको श्रेय इतिहासले यीनैलाई दिएको छ । पृथ्वी नारायण शाहको पालामा हालको भारत अधिन रहेको तत्कालिन पञ्जाबदेखि सिक्किमसम्म नेपाली भू-भाग रहेको र आजको वर्तमान नेपालभन्दा विशाल नेपाल उतिबेला रहेको थियो ।
पृथ्वी नारायण शाहको कुरा गर्दा यीनका साहसी सेनानीहरु कालु पाण्डे लगायतलाई ईतिहासले विर्षन हुँदैन । किर्तिपुर युद्धमा पृथ्वी नारायण शाहका दाहिने हात मानिएका कालु पाण्डेले वीरगति प्राप्त गरेका थिए । अन्त्येष्टि पश्चात स-सम्मान काठमाण्डौ थानकोट नजिक ईन्द्रदहमा उनको समाधी अझै पनि त्यहि ठाँउमा रहेको छ । आधूनीक नेपालको खाका कोर्ने यीनै राजाले नै गोर्खामा देखेको काठ्माण्डाैको सपनालाई सिङ्गो नेपालमा रुपान्तरण गर्दै नेपालमा शाहवंशको इतिहासको नयाँ आयाम प्रार्दुभाव गरेका हुन् ।
विक्रम सम्वत् १८३१ मा मृत्यु भएका यी दूरगामी शासकका छोरा प्रताप सिंह लगायत क्रमशः शाह सन्नततिका शाषकहरुले विक्रम सम्वत् २०६३ को जनआन्दोलनको माग अनुरुप शासन सत्ताबाट अपदस्त गराई गणतन्त्रामक नेपाल स्थापित गराईएको हो । पृथ्वी नारायण शाहका सालिकहरु नेपालका धेरै शहरहरु अनि चोकहरुमा छन् । प्रायः चोर औंला माथी उठाएर उभिएका स्वरूपमा देखिने यीनको सालिक तथा तस्बिरले नेपाली जनलाई सदैव एकताको शिक्षा दिई रहेको छ, दिइरहने छ ।
काठमाण्डौ र गोरखा विचमा पर्ने नुवाकोट भू-भागलाई जितेर काठमाडौ छिरेका यीनले काठ्माण्डाैको उत्तरपट्टि रहेको चन्द्रागीरी डाँडाबाट जब काठमाण्डौको खाडललार्इ नियाले त्यस क्षण काठ्माण्डाैको सौन्दर्यताले पृथ्वी नारायण शाहलार्इ लालाहित बनाएको थियो । रणकौशलमा कुशल यी राजाले छापामार शैली अनि रणनितीहरु लगाएर क्रमशः काठमाडौ, ललितपुर, भक्तपुर, किर्तिपुर अनि अन्य भू-भागहरु जितेका हुन् । परराष्ट्र मामिलामा पनि यीनको कुशल कूटनीति बडो रोचक र प्रेरणादायी छ ।
भक्तपुरको राज परिवारसंग मितेरि साईनो गाँसेर पनि आक्रमण गरि विजय प्राप्त गरेकाले अवसरवादीको आरोप पृथ्वी नारायण शाहमाथि लागेको छ । तैपनि राजनीति र युद्धको आधारभूत संरचनामा समबन्ध भन्दा पनि राष्ट्रियताले निर्देशित राष्ट्रसेवक र योद्धाका रुपमा सदैव नेपाली हृदयमा रहनेछन् ।
युद्धका क्रममा धेरै पटकको पराजय पछि विजय भएकोमा रिसले किर्तिपुर वासीका नाक कान काटिदिने आदेश दिएका पृथ्वी नारायण शाहको आज सम्म पनि किर्तिपुरवासीहरुले पुराना क्रुरताका कथाहरु भन्दछन् । जे होस् आधूनिक नेपालका यी रचयीताको आजको जन्मदिनमा सम्पूर्ण नेपालीहरु समक्ष एकता र मेलमिलाप मिश्रीत अमर भावको विकास होस् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend