logo
  • शुक्रबार, साउन ८ २०८३

बाध्यता र मोहले खोसेको अधिकार, खुसी र सम्बन्ध


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

 हिम शिखर रसाईली, गुल्मी ।

करिब २ वर्षदेखि प्रत्येक जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउने, राष्ट्रिय परिचयपत्र र पासपोर्ट बनाउनेको भिड कम भएको छैन। स्थानीय तहको वैदेशिक रोजगार शाखामा श्रम स्वीकृति र पुन:कृतिको लागि भिड, विभिन्न ठाउँका ओरिएन्टेसन कक्षा, विभिन्न देशको लागि चाहिने भाषा कक्षामा भिड, कन्सल्टेन्सीमा भिड, वैदेशिक रोजगार बोर्डमा भिड अनि त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा भिड ।

यो भिडमा तँछाड मछाड गर्नेहरूको मुख्य लक्ष्य देशमा रोजगार नपाए पछि वैदेशिक रोजगारीमा जाने र उद्देश्य मनग्य पैसा कमाउने नै हो । सपना चाहिँ परिवार र आफन्तलाई खुसी बनाउने वा सन्तानको भविष्य उज्जल बनाउने नै हो ।

पछिल्लो समय नेपाली जनमानसमा एउटा भाष्य निर्माण भएको छ त्यो हो पैसा र भविष्य विदेशमा छ भन्ने । साँच्चै मान्छेलाई पैसा किन चाहिएको हो ?  अनि कति चाहिएको हो । पैसा विना बाच्न सम्भव छ कि छैन ? के पैसा सबैथोक हो या हैन ?   यस बारे बहस र चर्चा जरुरी देखिएकोले विभिन्न क्षेत्र, विभिन्न देशमा श्रम गरिरहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूको श्रमको सम्मान गर्दै नेपाली समाजको पछिल्लो घट्नाक्रम बारे थोरै खोतल्ने प्रयासको लागि यो आलेख तयार पारिएको हो ।

 हिजो कै एउटा दृश्य

यस पंक्तिकार पाल्पा देखि गुल्मी आउने क्रममा खाजा खानको लागि  पाल्पाकै जोर्ते भन्ने ठाउँमा गाडी  रोकियो । सबै जनाले खाजा खाइसके पछि गाडीमा चढ्न थाले । तिनीहरु बीच एउटा करिब ढाई वर्षको बालक गाडी नजिक टोलाएर उभिएको थियो । त्यतिकैमा  अन्दाजी  तीस वर्षको  उसको बाबा आएर उचालेर भन्यो , ए मलाई पर्खेको छोरो ? उसले केही जवाफ फर्काएन । अनि दुवैजना गाडीको पछिल्लो सिटमा बसे । उनीहरू सँगै अरु यात्रु पनि पछिल्लो सिटमा  थिए, त्यसभन्दा अगाडि ।

सँगै बसेका एकजना बाजेले “सोधे कसको बाबू हो ? यिन को मम्मी खै ?” यसो सोध्दै गर्दा त्यो नाबालकको बाउ पर्नेले भन्यो “यिनको मम्मी त विदेश छिन्, बाबा पनि विदेश नै हो अहिले यतै छु । दुई महिना पछि जाने हो म पनि । श्रीमती जापान छिन, यो पनि जन्मेको जापानमा नै हो, अब यहीं छोडेर जाने हो, मावलकी हजुरआमा सँग।” बाजेले पुनः सोधे रुदैन यो बाबू ? उसले जवाफ दियो रुदैन । बरु साँझ परे पछि दूध खान खोज्छ । भैँसीको दूध खुवाएका छौं । के गर्नु उमेर छँदै अलिकति पैसा कमाउन पर्यो नि, यसैको भविष्यको लागि, पछि त आठ दस वर्ष पछि यतै केही गर्नु पर्ला नि !  यस्ता दृश्य गाउँ र सहर दुबै ठाउँमा नाबालकको संख्या अत्यधिक देख्न सकिन्छ ।

अर्को घट्ना

मेरो गाउँका दुईजना भाइहरूले विदेश छँदा एउटाले आमा, अर्कोले बाबा गुमाए । अन्तिम पट्क भेट्न त पाएनन्  पाएनन्  अझ समयमै बिदा नपाउँदा डेढ दुई वर्ष पछि फर्केर काजकिरिया गरे । कस्तो विडम्बना ! 

यस्ता घट्ना देशैभरी लाखौंको सङ्ख्यामा घटिरहेका छन् ।

अर्को दृश्य

एकजना साथी लाखौं लगानीमा जापान रोजगारीको  लागि उड्दा एअरपोर्ट मा श्रीमान श्रीमती भिडियो कल गरेर दुवैजनाले आँसु बगाएको तस्बिर फेसबुकमा पोस्ट गरे,  ‘वाध्यता र विवशताले विदेशिन पर्‍यो, जसरी हुन्छ मन बुझाएर बस्नु प्यारी…

त्यसको डेढ वर्ष पछि श्रीमतीलाई पनि जापान बोलाए । एकतर्फ खुसी अर्को तर्फ रोदन, एकतिर मिलन अर्को तर्फ बिछोड …एअरपोर्टमा बिदाइको बेला आफन्तले छोरी तान्ने, छोरीले आफ्नो मम्मी तान्ने दृश्य कस्तो भावुक र कारुणिक थियो होला आफै बुझ्नुस् । यता छोराछोरीलाई विचल्ली बनाएर पैसा जम्मा गर्न हिँडे बूढाबूढी । पैसाको लागि र छोराछोरीको भविष्यको लागि (?)

दिनप्रतिदिन  यसरी नाबालक छोराछोरी र वृद्ध बाआमा छोडेर विदेश पस्नेहरुको लाइन हैन भिड यति ठूलो छ कि कुनै त भिडमै अलपत्र पर्छन् ।पढ्दै गरेका विद्यार्थीहरु मा समेत एउटा भ्रम र भाष्य  सृजना भयो कि नेपालमा भविष्य छैन । पढेर के गर्ने बरु एस.ई.ई सकाएर विदेश जाने हो भन्ने शब्द प्रायबाट सुनिन्छ । उनीहरु पनि सुनेकै भरमा र सामाजिक सञ्जालमा देखिने विभिन्न पोस्टले गर्दा आफ्नो भविष्य उज्जल होला भन्नेमा विश्वास नै गर्न छोडे ।

सामाजिक सञ्जालमा लोकसेवा आयोगले प्रकाशित गरेको रिजल्ट र कुनै व्यक्तिले एक वर्षमा १० पटक, ८ पटक, ६ पटक नाम निकालेकोमा उनीहरुलाई कुनै आकर्षण वा उत्प्रेरणा मिल्दैन बरु फलानाले विदेशमा महिनामा लाख कमायो, दुईलाख कमायो । तीन लाख कमायो भन्ने कुराले प्रभाव पारेको देखिन्छ ।

विश्वका युवा युवतीले विज्ञान, सूचना र प्रविधिमा के कति आविश्कार गरे ? अहिले रोजगारीका गन्तव्य भएका मुलुकले कसरी तरक्की गरे भन्ने कुरा तर्फ नत शासकको ध्यान गयो नत जनताको ।नेपाली इतिहासमा यति डरलाग्दो किसिमको  भविस्य प्रतीको त्रास, भय र असुरक्षा सायदै कहिले भएन होला।

सौर्य मण्डलको एउटा ग्रह पृथ्वीमा बसोबास गर्ने  करोडौं जीवजन्तुहरू आआफ्नै तरिकाले जीवन व्यतीत गरिरहेका छ्न् । ब्रह्माण्डको अर्को कुनै कुनामा पनि मानिस वा अन्य जीव बसेको हुन सक्छ । हामी त केबल ८ (पहिले ९) ग्रह सौर्य मण्डलको वरिपरिको दुनियाँ मात्रै बुझिरहेका छौं ।

रामा पिथेकस, आस्ट्रेलोपिथेकसको कालखण्डलाई लिने हो भने २ करोड वर्ष पुरानो छ मानव उत्पत्तिको इतिहास ।धेरै अघि नपुगे पनि ४००० वर्षकै इतिहास लाई माने पनि यति लामो कालखण्डमा मानिसले आवश्यकता अनुसार  जिविकाको लागि थुप्रै संघर्ष,  स्व: अध्ययन,अनुसन्धान र आविष्कार गर्दै आयो । अझ भनौँ हाम्रा पूर्वजहरूले अहिलेको पुस्ताको लागि हरेक चिज Ready made बनाइदिए। विकसित मुलुकमा प्रत्येक दिन नयाँ प्रविधि को आविष्कार भइरहेको छ हामीले त उपयोग र उपभोग मात्रै गरे पुग्छ ।

यति लामो इतिहास बोकेको मानव जातीलाई अहिले जस्तो Ready made युगमा बाच्न किन असजिलो र असुरक्षित बनेको होला ?

ढुंगे युग, जङ्गली घुमन्ते, शिकारी युग देखि परिवार, समाज, निजी सम्पती ,कृषि, पशुपालन, हुँदै विभिन्न कठिन सङ्घर्षबाट आ–आफ्नो अस्तित्व बचाउन सफल मानव जाती अहिले किन बढी छटपटी, असन्तुष्टि, लोभ, लालच र इश्याको भुमरीमा परेको होला ?

संसारभर करोडौं जंगली जीवजन्तु र पन्छीहरू स्वतन्त्रसँग भयरहित प्राकृतिक प्रकोप बाहेक) भएर बाँचैकै त छन्, जो मानिस भन्दा खुशी र सुखी जीवन व्यतीत गरेकै देखिन्छ पनि  । पैसाको प्रचलन सुरु हुनु अगाडि ६ हजार वर्ष बार्टर सिस्ट्म (वस्तु विनिमय मा समाज चलेको थियो । जस्तै गाई बस्तुको बदलामा अन्न, अन्नको बदलामा अन्न आदि । पैसाको प्रचलन मूल्य (Cash & Cashless monetary value) व्यापक  भएपछि सम्पत्ति र पैसा निर्वाधरुपमा जम्मा गर्ने होडबाजी चलेपछि  झन झन बढी मान्छेमा लालच, आकांक्षा, र महत्तोकांक्षा वृद्धि हुँदै आएको देखिन्छ ।

अढाइ सय वर्ष निरंकुश शासन, राजा, राणा हुँदै पञ्चायती व्यवस्था र लोकतान्त्रिक गणतन्त्रको १५ वर्ष पश्चात पनि जम्मा जम्मी  2 करोड ९० लाख जनसंख्या व्यवस्थापन गर्न नसकेका शासक-प्रशासक, दलाल पुँजीपति वर्गलाई पनि यस्तो परिस्थिति बन्नुमा दोष दिन मिल्छ । अर्को तर्फ विश्व पुँजीवादी व्यवस्था र विश्वव्यापिकरणको प्रभावले गरीब मुलुक र हाम्रो देशलाई समेत चपेटामा पार्‍यो ।

विश्वमा भइरहेको विकासका बाछिटा नेपालमा परे तर  नेपालमा विज्ञान र प्रविधिको विकासले त्यसको ज्ञान,अनुभव, सिकाइ र आविष्कार भन्दा पनि उपभोग्य बस्तुको रुपमा मात्रै सीमित राख्यो ।अझ बस्तुलाई आवश्यकता भन्दा पनि (उपभोगमा) बिलासितामा परिणत गर्‍यो फलस्वरूप मान्छेलाई जीविका भन्दा बढी फजुल खर्च पुर्‍याउन पैसाको महत्त्वलाई बढी चुलीमा पुर्‍यायो । अहिले मान्छे पैसा प्राप्तिको लागि हदै सम्मको जोखिम र मूल्य चुकाउन राजी हुँदै गएको छ ।

आज वैदेशिक रोजगारीबाट बढी पैसा कमाउन सकिने भ्रममा  महँगो ब्याजमा ऋण खोजेर दशौ लाख पैसा लगानी गरेर पूर्वी देश र त्यस्तै लगानीमा अमेरिका र युरोप जानेको लाइन टुटेको छैन । मेक्सिको हुँदै जङ्गलको बाटो महिनौँ हिडेर अमेरिका छिर्नेहरू अझै बाटोमा छ्न् किन ? सब पैसाको लागि…

हाम्रो हजुरबुबा पुस्ताले देश बाहिर नगएर आफ्नै पाखुराको बलमा आठदश जना सन्तान गाउँमै बसेर कृषि र पशुपालनको भरमा परिवार, आफन्त र साथीभाइ सगैं बसेर करीब सय वर्ष बाचेजीवन लाई वास्तवमै ठिक ढङ्गले व्यतीत गरे ।

अहिले एउटा या दुइटा (माइलो सन्तान जन्मिनै छोडे बच्चा पाल्न हुर्काउन अरुको काखमा छाडेर उनीहरूको उज्ज्वल भविष्य (?) बनाइदिने बहानामा नाबालकको मौलिक अधिकार हनन गरेर, बच्चालाई आमाको न्यानो काख र बाबुको स्नेहलाई तिलाञ्जलि दिदैँ र अर्को तर्फ जसले जीवन दिए, हुर्काए, आफू सक्दो पढाए, लेखाए, संसार देखायो, बुझायो उसैलाई बेसहारा बनाएर विदेशिनु किन परेको होला ? पैसा कै लागि ।

 

मान्छे बाच्ने भनेको (Repair & Maintenance गर्न सके  ) औसत ७०-८० वर्ष होला, अझ अहिलेको भागदौड र जीवनशैलीमा त्यो पनि ग्यारेन्टी छैन ।  मृत्यु पछि अर्को जन्म सम्भव नै छैन । पुनर्जन्मको भ्रममा नपर्दा पनि हुन्छ ।

त्यसैले आफ्नो सन्तानको भविष्य उज्ज्वल बनाउने बहानामा बालबालिकाको अधिकार हनन गर्दै र बाउआमालाई सुख दिने बहानामा पछि पश्चाताप हुने गरि लामो समय सम्म  भौतिक अनुपस्थिति घातक हुने देखिन्छ ।अर्का तिर पारिवारिक र सामाजिक संरचना बेसरी खल्बलिएको छ । चाहे देश भित्र होस् या बाहिर, रोजगारीको सिलसिलामा होस् या पढाइको, आफ्ना आमा बुवा, दाजुभाइ, दिदीबहिनी, आफ्ना नालनाता, सन्तानहरू सँग भौतिक सामिप्यमा भएन भने सम्बन्धहरू कमजोर बन्दै जान्छन् । भावनात्मक सम्बन्ध टुट्न पुग्छन् ।माया, प्रेम, स्नेह गुमाउनु पर्ने हुन्छ । अन्तिममा पश्चताप बाहेक केही बाँकी रहदैन । आफ्ना प्रिय पात्र गुमाउनेको पीडाको घाउ सधैँ बल्झिरहन्छन्

यस आलेखको सुरुमै २-३ घटना अथवा दृश्यलाई गम्भीर भएर सोच्ने हो भने के सुन्दर भविष्यको कल्पनामा चुर्लुम्म डुबेर वर्तमानको उकुसमुकुस लाई कसरी पार लगाउने ? एउटा अबोध बालक जसलाई आमा बाउको काख, माया र स्नेह चाहिन्छ, यसरी खोस्नु धार्मिक वा वैज्ञानिक कुनै हिसाबले राम्रो हुदैन  । अर्को जसले जीवन दिए उसलाई बिरामी परेको बेला पानी दिने कोही भएन भने जीवनमा जति तरक्की गरे पनि सार्थक होला त ?

पैसा ठूलो कि सम्बन्ध ?  वर्तमान सोच्ने कि भविष्य ?

यसको सटीक उत्तरको लागि मानव र मानवीय जीवनबारे अध्ययन र अर्थपूर्ण बहस अत्यन्तै जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend