logo
  • शनिबार, साउन ३० २०८३

फेरी आयो तीज…


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

 

प्रकाश थापा,गुल्मी ।

कतै निरासा त कतै हर्षउल्लास छर्दै फेरि आए चाडपर्वका दिनहरू एक पछि अर्को । असार र साउन पनि दिदी र बहिनीको बिछोड भन्दै पानीको भेललाई आँशुको भेल भन्ने परम्परालाई सहर्ष स्विकार्दै साउने सक्रान्तिलाई स्वागत गरियो ।पर्वहरु भित्रिदा बालपनका स्मरणहरु र अतितका पानाहरु पल्टिदै जान्छन् ।   यस वर्षका सबै चाडपर्वहरू सुरु हुने दिन भनी दिदी बहिनी जम्मा भई साँझमा लुतो पनि एक अर्कालाई बोलाउदै चारैदिशा पुकारेर, भलायो काँचो, आरु, बाबियो अनि बलेको अगुल्टो एकै पल्ट फाल्दै यस सालको लुतो खटिरा सबै नराम्रो रोगहरू लैजा भनी ठुलो  स्वरमा भन्दै  माथिका सबै बस्तु एकै पल्ट फालेको अतीतको यादले झस्कायो मलाई अति नै झस्कायो ।

साउनबाट हरितालिका तीजको लहर सुरु भए पनि तीज भन्ने शब्द सुन्दा बाल्यकालको याद झल्किन्छ किनकी त्यो समयको रमझम अनि अहिलेको रमझम अलि फरक हुदै गएको छ ।

जब असार महिना ढिम्कीन थाल्थ्यो खोला खेत त रोपाइ सकिइसकेको हुन्थ्यो ।  टारी खेत पनि पानी पर्यो भने रोपिन्थ्यो नभए इन्द्र भगवान लाई पुकार्दै बस्थ्यौ। असारको महिनामै हामी दौतरी साथीहरूमाझ तिजको रौनक चढ्न सुरु हुन्थ्यो, जब महिनाको अन्त्य तिर हामी दौँतरीहरू जसको घरमा मादल हुन्थ्यो,  उनीहरु सबैका मादल जम्मा गर्न सुरु गर्थ्यो।

 

मादल त जम्मा हुन्थे तर अघिल्लो वर्ष तिज मा बजाएर झरेको खरी त्यसमाथि तिहारमा बजाउदा त झन मादलको पोरा त कपाल खुइलिएको तालु जस्तो बनाएर राखेका हुन्थे । मादलमा खरी राख्नु पर्ने हुन्थ्यो । खरी राख्नको लागि जसोतसो पैसाको जोहो त गर्थ्यौ तर खरी राख्ने ठाउँ जहाँ  जान जङ्गलको बाटो भएर जानुपर्ने, त्यो जङ्गलमा बाघको बिगबिगी थियो ।

त्यो जङ्गलको छेउछाउको बस्तीहरूमा बाघले दिउसै गाई वस्तु र अन्य जनावरलाई आक्रमण गर्थ्यो ।यति भन्दै गर्दा पाठकहरूलाई त्यो ठाउँको नाम त भन्नै पर्ने हुन्छ  । त्यो ठाउँको नाम अर्घाखाँची जिल्लाको हालको मालारानीमा पर्ने घेराको लेक भन्ने जङ्गलको बाटो हो ।

यो नाम जनयुद्धको समयमा अर्घाखाँची आक्रमण पछि जनमुक्ति सेना र राज्य पक्षका सेनाहरू बीच निकै ठूलो भिडन्त भएको लेक पनि हो यो जङ्गल कटे पछि रतनमारे भन्ने ठाउँमा पुगिन्थ्यो । त्यो ठाउँ गुल्मी अर्घाखाँची जिल्लाको केही भेगको सङ्गम स्थल पनि हो । त्यहाँ पुगेर एकछिन आराम गरे पछि फेरि अगाडि लोहोरीको लेकको काखको छेउमा पुगे पछि बल्ल मादलमा खरी राख्ने ठाउँमा पुगिन्थ्यो अनि मादल खरी राख्नको लागि छाडेर मसान्तको दिन भन्दा अगाडि खरी राख्ने सर्तमा छाडेर फर्किन्थ्यौ र मादल बनाउने दाइले आउन भनेको दिनमा मादल लिएर फर्किन्थ्यौ । माथि मैले खरी राख्न जाने बाटो र गन्तव्य सम्मको ठाउँ  त जानकारी गराए यति जानकारी पाउँदा तपाईँहरूलाई खुल्दुली भयो कहाँ देखि गएको होला भनेर, त्यो पनि म जानकारी गराउँछु ।त्यो ठाउँ मेरो जन्मभूमी हालको धुर्कोट गाउँपालिका वडा नम्बर २ साबिकको पिपलधारा गुल्मीबाट हो।

साउनको पहिलो दिन साउने संक्रान्ति साँझ  गाउँका सबैलाई पायक पर्ने ठाउँमा भेला भएर सुरु हुन्थ्यो हाम्रो तीज । साउन देखि भदौ महिना भरी विभिन्न टोलमा तीज गीत गाउने र नाच्ने कार्य निरन्तर जसो चलिरहन्थ्यो ।

तीजको पहिलो दिनमा हाम्रो तिर महिनौँ दिन देखि पराइ घरमा बस्दा विभिन्न कठिनाइ र पिँडा सहेर बस्दै आएका चेलीबेटी दुःख बिसाउन माइती घरमा आउने दिनको रुपमा लिइन्छ र यस दिन लाई दर खाने दिनका रुपमा लिइन्छ। तथापि दर खाने दिनलाई धर्मशास्त्रमा भिन्न भिन्न तरिकाले वर्णन गरेको छ ।

वर्षाको समय भएर होला प्राय: यस दिनमा पानी पर्दथ्यो । पानी  पर्नुको कथन पनि छ । एउटै गाउँमा जन्मिएर त्यही गाउँमा हुर्किएर उमेर पुगे पछि बिहेबारी भए पछि छुट्टिनु परेका दिदी बहिनीहरू भेट भएर दुःख सुख का कुरा गर्दा र बाल्यकाल लाई सम्झिएर रुने हुँदा प्रकृतिले पनि चेली बेटीको रोदन सहन नसकी पानी परेको हो भन्ने अग्रजहरूको भनाइ छ।

ती दिनहरू सम्झिँदा अझ रोचक कुरा त के छ भने  रातभर तीजको गीतमा नाच्दा गाउँदा बिहानको मिर्मिरे उज्यालो बनाउँथ्यौं, अनि घरमा गएर सुतौं भने गाली खाइने डर, बिहानमा एक मेलो काम गर्नै पर्थ्यो ।  यो समयमा प्रायजसो खेतीबालीको काम सकिने हुनाले काम गर्ने  भनेको पशुचौपाया लाई घाँस काट्ने बाहेक अरु काम त्यति हुदैन थियो  ।सुटुक्क घरमा पुगेर डोको नाम्लो र हँसिया बोकेर छिर्यो बारीतिर । यसैक्रममा कैयौ पटक म घाँस काट्न गएर काट्दाकाट्दै बारीमै निदाएको छु । अरु साथीहरू स्कुल जाने बेलामा हल्लाखल्ला गर्दै हिँड्दा झसङ्ग भएर उठेर फटाफट घरमा गएर खाना नखाई स्कुल गएको सम्झना ताजै छ ।

तीजको एक दिन पछि ऋषि पञ्चमीको दिन पञ्चमी पूजा सकाए पछि त्यसको भोलिपल्ट आ–आफ्नो घर फर्किन्छन् सबै चेलीबेटीहरू । त्यसपछि तीज विधिवत रुपमा तीज सकिन्छ । यसपालि भने अधिकमास अथवा मलमास कारण हरितालिका तीज असोज १ गते परेको रहेछ ।

 

तर आजभोली समय बदलिएको छ । पहिले भन्दा अहिले हरितालिका तीज मनाउने प्रचलन त बढेको देखिन्छ तर अहिलेको तीज गीत र तीज मनाउने प्रचलनमा मौलिकता हराएको देखिन्छ । तीज एक पर्व नभएर प्रदर्शन गर्ने मेला जस्तो देखिन्छ ।

हुने खाने र दुईचार पैसा कमाइ गर्नेहरू तडक झडक र देखावटी बढी गर्दछन् । झकमक्क गहना र उत्ताउलो कपडा पहिरेर फोटो सेसन गर्ने र सामाजिक सञ्जाल भर्ने गरेको देखिन्छ । अझ माइतीघरमा वृद्ध वृद्धा बा आमा भेट् गर्न जानेहरू त धेरै न्यून सङ्ख्यामा देखिन्छन् बरु शहरको चकाचौँधमा दश आठ जना जम्मा भएर होटल रेस्टुरेन्ट  तथा पार्टी प्यालेसमा केन्द्रित भएको छ  आजभोलिको तीज । महिलाहरू समेत लागू पदार्थ र मादक पदार्थको सेवन गर्ने, उत्ताउलो नृत्य गर्ने गरेको देखिन्छ । यसलाई समयको आवश्यकता भन्ने कि परिवर्तन भन्ने कि विश्व परिवेश र उपभोक्तावाद र पुँजीवादको प्रभाव भन्ने । अथवा युवा युवतीले देश विदेशमा श्रम, खुन र पसिनाले आर्जन गरेको पैसाको दुरुपयोग भन्ने ।

सामाजिक सञ्जालमा देखाउने र देखिने अलि नेपाली समाजले पचाउन नसकिने नृत्य प्रर्दशन लवाइ खवाइ देख्दा समाज ठिक दिशातर्फ हिँडेको देखिदैन । समाजका विभिन्न वर्ग र समुदायलाई सन्तुलनमा राख्दै, आपसी सदभाव र भाइचारालाई कायम राख्दै, आफ्नो र अरुको आत्मसम्मानको ख्याल राख्दै , आफ्नो आवश्यकता अनुसार आफ्नो संस्कार र संस्कृति अनुरूप मौलिक ढङ्ग र सभ्य तरिकाले चाडपर्व मनाउनु उचित होला कि ?

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend