logo
  • शनिबार, साउन ३० २०८३

असार पन्ध्र अर्थात “धान दिवस”


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

-शिवलाल सुवेदी ।
मुठी राेपेर मुरी उब्जाउने महीनाको मध्य अर्थात् असार १५ आजको दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । नेपालीको मुख्य खाद्यान्न बाली धानको रोपाइँ हुने महिनाका रूपमा असारको आफ्नै महत्व र विशेषता छ ।

किसानले असारलाई मानो खाएर मुरी उब्जाउने महिनाका रूपमा लिने गर्छन् । यही महिनामा रोपिने धान फलाएर वर्षभरि खाने अन्नको जोहो हुन्छ । कृषिप्रधान देश भएकै कारण यहाँ कृषि कर्मलाई उच्च महत्व दिने गरिएको छ । विशेषगरी असार १५ लाई नेपाली जनजीवनको अभिन्न तथा महत्वपूर्ण दिनका रूपमा पनि लिइन्छ । सामाजिक, आर्थिक तथा सांस्कृतिक तवरले पनि धान खेतीको नेपाली जनजीवनसँग निकटको सम्बन्ध रहिआएको छ । यसैले पनि यस दिनलाई नेपालमा राष्ट्रिय धान दिवसका रूपमा झन्डै दुई दशक अघिदेखि आधिकारिक रूपमा मान्यता दिइएको हो ।

कृषिप्रधान देश नेपालका लागि यसदिनले सर्वाधिक महत्व राखेको पाइन्छ । प्रत्येक वर्ष आउने आजकै दिनलाई राष्ट्रिय धान दिवसका रुपमा समेत स्मरण गर्ने गरिएको छ । आजको यस दिनलाई मानो रोपेर मुरी फलाउने दिनका रुपमा समेत लिइन्छ । धान नेपालका लागि प्रमुख बालीसमेत भएको कारणले पनि यो दिवसको महत्व र भूमिकाको सन्दर्भमा कुरा गर्दा देशभरिका किसानहरुका निम्ति यस दिनकाे विशेष महत्त्व छ । कृषि प्रधान देश नेपालका हाम्रा किसान दाजुभाई दिदिबहिनीहरुलाई असार महिनाभर नै धान राेप्ने चटाराे हुन्छ ।

वाह्रै महिना व्यस्त रहने कृषकहरुले पनि असार १५ लाई विशेषगरी लिने र मनाउनुका साथै रमाइलो गर्ने गरि यस दिनलाई गौरव र प्रतिष्ठाको विषय वनाएकाे पाईन्छ । जुन जीवनको आधारकै रुपमा अघि बढेको पनि छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महीनामा खेतीमा ब्यस्त हुन्छन् । आजका दिन असार १५ असारे भाकामा लोकदोहोरी गाउँदै छुपु-छुपु हिलोमा धान रोपिन्छ ।

‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीतसङै वाजागाजाका साथ मानिसहरु भेला गरेर खेतमै रमाइलो पनि गरिन्छ । असार १५ लाई दहीचिउराको सांस्कृतिक बिम्बले समेत बाँधेको छ । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

दहीचिउरा खाएपछि विधिवत्रुपमा रोपाइ“को प्रारम्भ भएको मानिँदै आइए पनि विगतमा झैँ अहिले त्यसको महत्वमा निकै कमी आइरहेको छ । रोपाइ गर्ने समयमा खाइने चिउरा पनि धानबाटै बन्ने हुनाले यसको बेग्लै महत्व रहेको छ भने स्वास्थ्यका दृष्टिकोणले दही चिउरा खानुलाई पनि महत्वपुर्ण रुपमा लिईएकाे छ । पानी सहितको हिलोमा काम गर्दा चिसो लाग्ने हुनाले यसलाई कम गर्न दही महत्वपुर्ण हुने जानकारहरु बताउछन् ।

वर्षायाम भएकाले पानीमा काम गर्दा शरिर भिजेर ढाडिने र जसले गर्दा पखाला समेत लाग्न सक्ने भएकाले पनि दही चिउरा खानु स्वास्थ्यका लागि राम्रो हुने स्वास्थ्य क्षेत्रमा काम गर्नेहरु वताउछन । दहि चिउरा खाने दिन वजार पसलमा दही र चिउरा किन्नेको भिड नै दे्खीने गरिएको छ । धान रोपाईसँग दही चिउराको सम्बन्ध रहेर पनि अहिले फेसनका रुपमा मात्र दही चिउरा खाने चलन पनि उत्तिकै बढ्दै गएको छ ।

कतिले दही चिउरा खाँदै सेल्फी लिने , सामाजिक संजालमा दही चिउरा खाएको फोटो हाल्ने चलन पनि बढ्दै गएको छ ।
किसानका लागि महत्त्वपूर्ण दिन असार १५ प्रतिको लगाव र आकर्षणमा क्रमशः ह्रास हुँदै जानुले सांस्कृतिक बर्चस्वमा समेत त्यसले अतिक्रमण गरिरहेको प्रतीत हुन्छ । हरेक वर्षमा जस्तै यसवर्ष पनि असार १५ लाई लिएर देखिनुपर्ने सरोकार र चासोमा भने निकै कमी आइरहेको पाइए पनि यो दिनले बोक्ने सन्दर्भ भने ओझेल पर्न सक्दैन ।

रोपाहरहरुले यतिबेला गाउने असारे गीत होस् या रोपाइको समयमा एकअर्कालाई हिलो छ्याप्दै रमाउँदै आनन्द लिने उपक्रम होस्, त्यो नेपाली संस्कृतिको अभिन्न हिस्साकै रुपमा अहिले पनि रहिरहेकै छ । असार १५ भित्रमा देशभर करिव २५ प्रतिशत राेपाई सकिसक्नुपर्ने भएपनि अहिले ५ प्रतिशत समेत राेपाई हुन सकेको छैन । नेपालमा भर्खरै मात्रै मनसुन सक्रिय भएकोले किसानहरु राेपाई गर्न पाएनन । केहिदिनदेखि मनसुन सक्रिय भएकाले देशका कयौँ भूभागमा यतिखेर धान रोपाइँको चटारो छ ।

देशभर सिंचाइको पर्याप्त सुविधा नपुग्ने हुनाले धेरै किसानहरु आकासे पानीको भरमा खेती गर्न बाध्य छन । पानी नपरेर राेपाईमा ढिला भएका किसानलाई अघिल्लो वर्षझैँ यसवर्ष पनि रासायनिक मलको अभावले भने छोडेको छैन, जसले धान उत्पादनमा कमी ल्याउन सक्ने सम्भावना प्रबल छ । ढिलाे गरि भएपनि मनसुस सुरू भएपछि उत्साहित देखिएका किसानहरु अर्कोतिर मलको अभावले निराश देखिन्छन् ।

हाल आधुनिकतासँगै आएको परिवर्तनको कारणले सुविधाहरुमा वृद्धि हुँदै गएको अवस्था हुँदा देशका धेरै ठाउँमा परम्परागतरुपमा खेती गरेको पाइदैन । विकट र पहाडी भूभागमा भने अझै पनि परम्परागत धान राेप्ने चलन रहिआएको छ । गोरूको पछि लागेर गरो सम्याउदै गरेको हलीको दृश्य देख्न मुस्किल हुने गरेको यो बेला नयाँ र आधुनिक यन्त्र उपकरणहरुले त्यस प्रक्रियालाई विस्थापनजस्तै गर्न थालेका छन।

समयअनुसार अघि बढ्नु उचित देखिए पनि सांस्कृतिक महत्व बोकेका दृश्यहरु देख्न नपाउनु भने अवश्य पनि चिन्ताको विषय हो । यतिखेर मानो रोपेर मुरी फलाउनुपर्ने मौसममा किसानहरुलाई फुर्सदिला पाउन सकिँदैन, यदि पाइएको खण्डमा कृषिप्रधान देशमा कृषकहरुलाई काम छैन भनेर बुझ्नुपर्छ, जुन कालान्तरमा खाद्य सङ्कटलाई निम्त्याउने कारक बन्न सक्छ । अझै पनि देशका धेरै भागमा पर्याप्त मात्रामा रोपाइ हुन सकिरहेको छैन । चाहिने सिंचाइ, मल, बीउलगायत उपलब्ध नभैरहेको यस अवस्थाप्रति राज्य विशेषगरी कृषि मन्त्रालयले आफूलाई जिम्मेवाररुपमा प्रस्तुत गर्नुपर्ने देखिन्छ ।

नेपालमा वि.सं. २०६२ साल यता असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि संयुक्त राष्ट्रसंघले समेत सन् १९६६ लाई धानबाली बर्षका रूपमा मनाएको थियो । नेपालमा चैते धान, बर्षे धान र घैया धानको खेती हुने गर्दछ । यहाँ धानको उत्पादन प्रति हेक्टर तीन हजार किलो हुने गरेको अनुमान छ । नेपालमा धानका रैथाने जातका ८६ वटा मध्ये ७ वटा रैथाने जातका धानको खेती हुन्छ ।

नेपालका ७२ जिल्लाका करीव २ हजार ९ सय ६३ प्रकारका रैथाने जातका बीउ अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (इरी) को सहयोगमा जीन बैंकमा संरक्षित छन् । इरीले सन् १९६६ देखि २००९ सम्म धानका जातहरू सदुपयोग गरी विश्वका ७८ देशमा ८ सय ६४ प्रकारका धानका जातहरु सिफारिस गरिसकेको छ । नेपालमा करीव १४ लाख २५ हजार हेक्टर जमिन धान खेतीका लागि योग्य रहेको कृषि मन्त्रालयको आँकडा छ ।

असार १५ मा हुने धान रोपाइँ र लोक लयमा आधारित हुने असारे भाकाहरुलाई नेपालका मौलिक संस्कृतिका रूपमा लिइन्छ । सांस्कृतिक महत्व बोकेको असारे भाका हिजोआज गाउँघर लेकबेसीमा निकै कम गुञ्जिन थालेका छन् । अर्कोतिर रैथाने नेपाली धानका बीउहरु पनि लोप हुने क्रममा छन् । यी मौलिक संस्कृति तथा भाकालाई लोप हुन नदिन सरकारी तथा जनस्तरबाट इमानदार प्रयत्नको खाँचो देखिन्छ  ।

नेपालको संविधानले नै खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेका कारण पनि धानजस्ता प्रमुख अन्नबालीको संरक्षण सरकारी प्राथमिकतामा पर्नुपर्ने देखिन्छ । मलखाद, उन्नत बीउ बिजन, सिँचाइ सुविधा तथा आधुनिक कृषि उपकरण तथा सरकारी सहुलियतको उपलब्धता सम्भव भएमा अझै पनि मुलुक धानजस्ता प्रमुख अन्नबालीमा आत्मनिर्भरताको बाटोमा अग्रसर हुने सम्भावना छ ।

किनकि, हामीसँग उब्जनीयोग्य भूमि छ, परम्परा ज्ञान मात्र होइन आधुनिक सीप र प्रविधि पनि भित्रिएको छ । बर्सेनि अर्बौं रुपियाँको धान चामल आयात गर्नुभन्दा केही किसानलाई सहुलियत प्रदान गर्न सकिए खाद्यान्न बालीतर्फको आत्मनिर्भरता धेरै टाढाको विषय होइन । यसका लागि समयमै मल उपलब्ध गराएर किसानलाई धान खेती गर्नेतर्फ प्रेरित गर्नुपर्छ ।

यसका लागि जमिन बाँझो नराख्ने अभियान नै चलाइनुपर्छ । खुसीको अनुहार लिएर किसान असारे हिलोमा प्रवेश गर्ने वातावरण राज्यले वनाउन मात्रै दही चिउरा खाएर १५ असार मनाउनुको सार्थकता हुनेछ । धान दिवसको शुभकामना !

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend