साझा नेटवर्क

एक्काइऔं सताब्दीको सुरुवात भइसक्दा पनि हाम्रो देशमा सूचना र सञ्चारको विकास हुन नसकेकै कारण देश र दुनियाँ जीवन र जगत बारे थोरैपनि ज्ञान नभएरै हाम्रो समाज अत्यन्तै पछाडि परेको रहेछ । त्यसको असर ममा पनि परेको थियो । जसले मलाई दिशाविहिन र गन्तव्यविहिन बनाएको थियो । जीवन के हो र गर्नुपर्र्ने के हो थोरै पनि हेक्का थिएन । जसकारण विना मेसै म घरदेश छोडर परदेश पसें । मलाई घर छोड्नु बाध्यता थिएन, रहर थियो, कल्पनाको संसारमा रमाउने ।
विशाल क्षेत्रफल र जनसंख्या भएको भारत, शहरीकरणले ढपक्कै ढाकेको । जतासुकै गाडीमोटर जतासुकै मान्छे । म अतालिएँ, अझ भनौं म तीनछक्क परें त्यहाँको आधुनिकता र विकास देखेर ।
त्यहाँ पुगेको केही दिन मलाई होमसिक नै भयो । रातदिन आफुजन्मे हुर्केको ठाउँ, घरपरिवार,समाज र साथीभाईहरुको सम्झनाले सताइ रह्यो तर तत्कालै फर्किन सक्ने अवस्था भएन । आफ्नै कजिन र गाउँका दाईभाईहरु त्यहीं जागीर गर्ने भएर होला केही राहत अनुभूति हुँदै गएको थियो ।
यता नेपालमा माओवादी जनयुद्ध चलिरहेको थियो । माओवादीहरुले क्रान्तिको नाममा कलम समाउनेहरुलाई बन्दुक थमाइदिने काम भइरहेको थियो । उता म कलम समाउने हातले जुठा भाडा समाइरहेको थिएँ । जुठा भाँडा समाउने मात्र हैन, धुने र चम्काउने काम पनि चलिर्यो । त्यसबेला भारतमा नेपालीहरुले पढेलेखेको भएपनि भाषा र सीपको समस्या पर्नेहुँदा सुरुमा गर्ने काम भनेको होटलमा भाँडा धुने या मालिकहरुको घरमा सरसफाइ वा चौकीदारीनै हुन्थ्यो ।
घरको जेठो छोरो भएपनि बुवाआमा र दिदीबहीनी भएकाले केही काम नगरी(गाउँले भाषामा डलेको सिन्को ठाडो नपारी) पुलपुलाएर हुर्किएको थिएँ । त्यहाँ भने बाह्र घण्टा ड्युटीमा खटिनु पर्ने । मेरा दुःखका दिन त्यहाँ देखि सुरु भएका थिए । मैले कल्पना गरेजस्तो बिल्कुलै भएन र थिएन पनि ।
घरको जेठो छोरो भएपनि बुवाआमा र दिदीबहीनी भएकाले केही काम नगरी(गाउँले भाषामा डलेको सिन्को ठाडो नपारी) पुलपुलाएर हुर्किएको थिएँ । त्यहाँ भने बाह्र घण्टा ड्युटीमा खटिनु पर्ने । मेरा दुःखका दिन त्यहाँ देखि सुरु भएका थिए । मैले कल्पना गरेजस्तो बिल्कुलै भएन र थिएन पनि ।
विहान ड्युटी जाँदा बाटोमा थुप्रै युवायुवतीहरु झोला बोकेर स्कुल कलेज जान्थें । म भने लुरुलुरु गएर भाडा माझ्ने र चम्काउने । ती युवायुवती देखेर साह्रै मनदुखेर आउथ्यो । गलत नै बाटो रोजेको जस्तो हुन्थ्यो । स्कुलकलेज जाने केटाकेटी देखेर आफ्ना सहपाठीहरुको याद आउँथ्यो तर त्यसबेला फोनहरु थिएनन् । सम्पर्क वा कुराकानी गर्ने माध्यम भनेको चिठीपत्र नै हुने गर्दथ्यो । मैले मेरा साथीहरु अर्जुन,विरेन्द्र, कृष्ण, रमेश लगायतका सम्पुर्णसाथीहरुलाई चिठी पठाउने गर्थें । आफ्ना भाईवहिनीहरुलाई पनि मिहिनेत गरेर पढ्न सुझाव सहित पत्र कोर्थें ।
दिनहरु वित्दै गए, मैले केही नयाँकामहरु पनि सिक्दै गएँ अनि मेरो प्रमोशन पनि हुँदै गयो ।
मैले काम गर्ने रेस्टुरेन्टमा कम्प्युटरबाट बिलिङ हुन्थ्यो । क्याल्कुलेटर मात्र देखेको मैले कम्प्युटर नाम त पहिलो पटक त्यहीं सुनेको हो ।
त्यहाँ खाली समयहुँदा त्यहाँ कामगर्ने कम्प्युटर अपरेटरले कम्प्युटरमा काम गरेको हेरीरहन्थे र सिक्ने उत्सुकता जागेर आउँथ्यो तर सकिन्न होला जस्तो लाग्थ्यो सुरुमा तर हेर्दा हेर्दै केही भेउपाइरहेको थिएँ ।
यसरी त्यहाँको परिबेसमा समय विताउँदै गर्दा केही नयाँ कुरा सिक्ने योजना बनाएँ । एउटा त ड्राइभिङ सिकेर गाडी चलाउने, किनकी गाउँमा पनि गाडी चढ्ने रहरले आफ्नै पसलको गल्लाबाट पैसा लुकाएर साइकल भएपनि किनेको थिए घरमा छँदा । (त्यसबेला गाउँमा साइकल चढ्ने दोस्रो केटा थिएँ म), अर्को कम्प्युटर अध्ययन गर्ने ।
मैले दोस्रो विकल्प चुनें र रेष्टोकै कम्प्युटर चलाउने भारतीयको सहयोगमा कम्प्युटर पढ्न भर्ना भए । मौका मिल्दा अफिसमै कम्प्युटरबाट बिलबनाउन सिक्दै गएँ । त्यहाँ तीन ओटा डाइनिङ हलमा तीनओटै कम्प्युटरबाट बिलिङ हुने गर्दथ्यो । कहिलेकाँही कुनैएक जना विदामा बसेको बेला मलाई पनि मौका दिने गर्दथ्यो म्यानेजरले । मैले पनि म्यानेजरलाइ फुर्सतको बेला विहान बेलुकाको आरती पूजामा सघाउने गर्दथें ।
दिनवित्दै जाँदा त्यहाँको एकजना कम्प्युटर अपरेटरले जागिर छोडेर गयो । मेरो कम्प्युटर एपलिकेशनमा एडभान्स डिप्लोमा सकाई सकेको थिएँ । त्यही मौका समातेर मलाई त्यो जिम्मा दिन्छकी भनेर मालिकको प्रस्ताव लिएर कार्यकक्षमा गएँ तर मालिकले मानेन, केही महिना पछि राख्ने बाचा गर्यो । पछि बुझ्दा एकजना अपरेटरले नेपालीलाई कहाँ कम्प्युटर चलाउन दिने भनेर मालिक लाई नरा्ख्न भनेको रहेछ । मैले त्यो कुरा थाहा पाएपछि उसँग भनाभन गरें, लड्न तम्से तर अ्रुले रोके मलाई । मैल मानिन् मैले नोकरी छोड्ने धम्की दिएँ । मालिक रिसाएर मलाई जोडले एक झापड गालामा हिर्कायो । म रुदै बाहिरिएँ र अर्को दिनदेखि जागिर छोडें ।
रिसको झोंकमा जागीर त छोडें तर मलाई भाइबहीनीको पढाइमा सघाउन सकिने भैएन भनेर चिन्ता लाग्यो । पछुतो पनि लाग्यो । धेरै रात रोएर विताएँ । घर फर्किन पनि मन लागेन । अन्य ठाउँमा आफुले चाहे अनुुसारको र सीप र ज्ञानअनुसारको जागिर पाइन । खोल्तीको पैसा रिक्तितै गयो । बेरोजगार भएर साथीहरुसँग बस्दा कठिन भइरहेको थियो । साथीहरु आफु ड्युटी जानेबेला कहिले दश, कहिले बीस रुपैया दिएर जान्थे । मैले त्यही दश या बीस रुपैयाले चलाउनु पथ्र्यो । कोठा देखि केही पर एउटा मिष्ठान भण्डार थियो । त्यहाँ चाउमीन पनि बनाउथ्यो । त्यही पुगेर डेली ५ रुपैयाको क्वाटर प्लेट चाउमीन खाएर फर्किन्थें । राती त साथीहरुले दालरोटी ल्याइदिन्थे प्रायः । भोकलाइ यसरी खटाएर गुजारा गुर्नु परेको थियो । आजभोली बेलामौका मिल्दा विभिन्न भेराइटीका चाउमीन धितमरुन्जेल खाने गर्छु ।
मेरो कठोर परिश्रम,अनुशासन,लगनशिलता र इमानदारीता देखेर र उसलाई बेलाबेला काममा सघाएको गुनले होला एकदिन म्यानेजरले मलाई भेटन पठाइदिनु भनेर खबर पठाएको रहेछ । म तुरुन्तै पुगें । अनि उसले दिल्लीमा जागीरको कुरागरेको छु जान्छस् भनेर सोध्यो मैले हुन्छ भने । अर्को दिन खुसीसाथ दिल्ली पुगें । आइटि हेडले सामान्य अन्तरवार्ता लियो र अन्त्यमा तीन दिन ट्रयालमा राख्ने भन्यो र टारगेट दियो । तीनदिनमा तीनसय पचास जति खानाका परिकारका नाम र कोड कण्ठ पार्न भन्यो । मैल दिनरात गरी घोकेर दुइदिनमै कण्ठष्थ पारें र म नियुत्ती लिएर दिल्लीको अर्को शाखामा गएर काम सुरु गरें । भारतका विभिन्न प्रान्तमा ४५ भन्दा बढी शाखा रहेको रेष्टो (हाल १०० भन्दा बढी शाखा) को पहिलो नेपाली कम्प्युटर अपरेटर बन्न सफल भएँ म, त्यो पनि जम्मा १९ वर्षको उमेरमा ।
विभिन्न आरोह अवरोह पारगर्दै सफलताको एउटा शिखर चुम्न सफल भएँ म । यसरी मालिकको एक थप्पड मेरो जीवनको अर्को टर्निङ पोइन्ट बन्यो । क्रमशः…….
हिमशिखर रसाईली, गुल्मी धुर्कोट २ पिपलधारा
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend