logo
  • शनिबार, साउन ३० २०८३

अतितलाई फर्केर हेर्दा…. (जीवन यात्रा,भाग १)


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

जब म हजुरबाको खल्तीबाट पानसय रुपैया चोरेर लाहुर हिडें…
भर्खर जस्तो लाग्छ, समयले धेरै उछिनेछ । जम्मा दुई दशक अघिको कुरा हो तर त्यसबेला आजको जस्तो कहाँथियो र ? अहिले पढ्दा पनि काल्पनिक जस्तो लाग्ला तर सत्य यस्तै थियो ।

हामीहरुको भान्सामा प्राय पाक्ने भनेको आटो, साग, ढिंडो, सिजन अनुसार सिमी, फर्सी, आदि तर अन्यबेला आटो, सिन्की (गुद्रुक) सुकाएको साग, भैसी पाल्नेहरुको घरमा दुध र आटो, मोही र आटो यस्तै यस्तै ।

विहान स्कुल जाँदा पेटभरी खायो, चार बजे भोकाएर आएको बेला त्यही बचेको आटो र सिन्की। कहीलेकाहीं भुटेको मकै । स्कुलमा दिवाखाजा खाने चलन थिएन । कही कतै एकदुइ रुपैया हात लाग्यो भने पिपलगेडी,पारलेजी विस्कुट, अलि पछि टाटा विस्कुट, सुन्तली मिठाई यस्तै हुन्थे हाम्रा खाजाका विकल्पहरु ।

भात खानत चाडपर्व तिज, दशै तिहार कुर्नुपर्ने । आजभोलि ठिक उल्टो भएको छ । भात उस्तै परे तीनपहर पनि खाने चलन हुन्छ । आटो, ढिंडो फेसनेवल परिकार बनेको छ ।

यातायात को पहुँच नभएर पनि होला पैसा हुनेहरुले पनि आजको जस्तो फेन्सी र फेसनेवल कपडा लगाउन पाउँदैनथे, अभाव थियो त्यसबेला । नयाँ कपडा लगाउन तीजकुर्नु पर्ने वर्षमा एकजोडा कपडा ति पनि स्कुल ड्रेस मात्र ।

स्कुल जाँदा मामा घर जाँदा, आफन्तहरुका घरजाँदा ,खेल्न जाँदा, कुनै राम(मेला) हेर्न जाँदा तिनै कपडा लगाउनु पर्ने बाध्यता थियो । कपडा फाट्यो भने हजुरआमाले सियोंले तुनेर टाला राखिदिनुहुन्थ्यो । चप्पल छिद्यो भने फलामको काँटी वा करा ठोकेर जुगाड गर्नु पर्ने बाध्यता थियो ।

कहीलेकाँही लाहुर तिर बाट आएका दाइहरुले आफुहरु लगाउन छोडेका कपडा लत्ता दिन्थे तिनै छोटा बनाएर लगाउने गर्दथ्यौं । कमाउन हिडेंका लाहुरे दाईहरु, नयाँ नयाँ कपडा, रिबकका जुत्ता अनि शरिरमा पर्फ्युम छर्केर एउटा हातमा टेपरिर्कडर(कसैले वाकमेन) अर्कोहातमा छाता बोकेर आउँदा हाम्ला(हामीलाई) पनि लाहुर जाने रहर जागेर आउँथ्यो ।

नत गाउँमा बिजुली, नसडक सञ्जाल, नगाडी मोटर । २०४९ साल तिर छिमेकी जिल्ला अर्घाखाँचीको खनदहमा ट्रयाक्टर आएको थियो । त्यसपछि हाम्रो गाउँमा पनि एकाध वर्ष पछि आइपुग्यो पन्चेबाजा बजाएर दुलहा दुलही सिंगारे जस्तो सिगारेर…….. बस ट्रक हेर्न कि त सदरमुकाम तम्घास कि त अघाँखाँचीको सन्धिखर्क जानु पथ्र्यौ । मैले पहिलो पटक २०५२ साल तिर सुन्तला लिएर बेच्न जाँनेक्रममा सन्धिखर्क गएपछि मात्र गाडी मोटर देखेको थिएँ । गाडी चढने रहर यति हुन्थ्यो कि ट्रयाक्टरको ट्रालिमा चढ्दा खलासी दाईले लट्टीले हिर्काउदा पनि छोड्ने थिएनौं ।

एकदिनको कुराहो, मेरो मामाहरु भारतमा जागिर गर्न जाने आउने गर्नुहुन्थ्यो । नेपाल आएकै बेला मेरो घरमा आउनु भएको थियो । त्यसबेला मामाले जिस्काएर सोध्नु भयो, भान्जा लाहुर जाने हो ? म केही बोलिन, लजाएँमात्र । म त पढ्ने हो मामा भनें अनि मामाले पनि पढाइ सकाएर सँगै लिएर जाने बाचा गर्नु भयो । जाने बेला मामाले एउटा टिसर्ट दिएर जानु भयो तर अलि ठुलो साइजको थियो तर मलाई ठुलो सँग कुनै सरोकार थिएन, सरोकार थियो त त्यो नयाँ कपडाको। म नयाँ कपडा पाएकोमा खुसी भएँ । अनि त्यही घुँडाभन्दा तलसम्मको टिसर्ट लगाएर गाउँभरी देखाउँन हिडें…….

आजमेरा छोराछोरीलाई नयाँ कपडा प्रतिको त्यति मोह छैन, किनकि प्रत्येक महिना नयाँ नयाँ र रोजी रोजी कपडा लगाउन पाएका छन् ।
त्यसदिन देखि मलाई लाहुर (भारत) जाने भूत सवार भयो । मेरो बाल मानस पटलमा छुट्टै काल्पनिक संसारको बिजारोपण भयो । मानौं मेरो अबको संसार लाहुर नै हुनेवाला थियो ।

एकदिन घरमा म र मेरो हजुरआमा मात्रै थियौं । मैले हजुरआमालाई सोधें, आबै म लाहुर जान्छु है ? मैले त्यति के सोधेको थिए, हजुर आमा झ्यालतिर फर्केर रुन थाल्नु भयो अनि भन्नु भयो, मलाई छोडेर लाहुर जान्छु भन्छस् ? अहिले नजा, जाने भए म मरेपछि जालास् । हजुर आमा रोएको देखेर मपनि रोएँ, सुक्क सुक्क…

मलाई आफ्नो प्राण भन्दा प्यारो ठान्ने मेरो हजुर आमा, स्कुलबाट फर्किदा जहिले मेरो खातिर आटो बचाएर राखिदिनु हुन्थ्यो, किनकी मेरो मनपसन्द परिकार आटो र सिन्की(गुन्द्रुक) थियो । मिठो परिकारहरु मेरालागि मधुसमै ताल्चा लगाएर राखिदिनुहुन्थ्यो । कुनै दिन रिसाएर खान नखाई सुतें भने पनि आधी रातमा पनि उठाएर खुवाउनु हुन्थ्यो । यसैरी माया गर्ने हजुर आमालाई रुवाएर म पनि तत्कालै जान चाहिन र म नजाने निणर्य गरें ।

सधै भान्सा र प्रदुसित अगेनोमा बस्दैगर्दा रोगी हुनुन्थ्यो हजुरआमा । दमको दृर्घरोगी मेरी हजुर आमालाई अलि बेसी सताउन थाल्यो, मलाई दुःख लागेर आउँथ्यो, हजुरआमा एककोहोरो खोकी रहदाँ । म भगवान सँग प्रार्थना गर्थें कि मेरो हजुर आमालाई निकोहोस भनेर, तर दुभाग्य, अर्को वर्ष मेरो हजुर आमाले म लगायत सपरिवार र संसार छाडेर जानुभयो ।

त्यसपछिका मेरा दिनहरु निरास भएरै वित्न थाले। मेरो आफ्नै घर, पाखा पखेरा उराठ एवम् उजाड लाग्न थाले अझ भनौं प्यारो लाग्नै छोड्यो । हजुर आमाले संसार छाडेको एकवर्ष पछि मावली घरकै अर्को एकजना मामा सँग लाहुर जाने कुरा भयो । पहिलो दिन मोटामोटी सल्लाह गरेर अर्को दिन सँगै जाने कुरा भएको थियो ।

हजुरआमा वितेपछि म हजुरबा सँग सुत्ने गर्दथें । अर्को विहान म अबेर सम्म सुतेछु, हतपत उठेर, सुटुक्क हजुरबा को कोटको खल्तीबाट पान सय रुपैया निकालेर कसैलाई नभनी म मामा घर पुगें त्यहाँ पुग्दा मामालाई देखिन, मलाई नबोलाइ हिडी सक्नु भएको रहेछ ।
अब प¥यो फसाद, म फेरी घर आएँ, घरको दलानमा दिदीले आटो केलाउँदै हुनुदो रहेछ । म केही बोलिन । हजुरबा उठ्नु भएको थिएन, बाबा पसल गइसक्नु भएको थियो ।

मफेरी घरबाट निस्के । आमा घरपछाडीको डाँडोमा उभिएर छोरा कुन बाटो गएको होला भनेर रुदै हेर्दै हुनुन्थ्यो । म आमाको आँखा छलेर उनिहरु(मामा र मामासँगै जानेहरु) लाई भेटाउने आँटका साथ एकसरा कपडा र चप्पल लगाएर जंगलको बाटो कुँदें । बाघ, भालु दिनमै भेटिने त्यस्ता घना जंगल पनि मैले नडराइ पार गरें किनकी मेरो लक्ष्य र गन्तव्य लाहुर (भारत) नै थियो । उतिबेला सदरमुकाम सम्म हिडेर आउनु पथ्र्यो त्यसैले गर्दा मैले दौडेरै भएपनि उनिहरुलाई पछ्याउन सफल भएँ । अब म लाहुर हिडें ।

म अहिले आफैलाई प्रश्न गर्छु, म कति निष्ठुर अथवा कठोर रहेछु है? गहभरी आँशु बगाएर म हिंडेको बाटो हेरेर उभिएकी मेरीआमाको आँखा छलेर म हिंडेको थिएँ । अहिले सम्झदा भावुक हुन्छु । क्रमशः…….

हिमशिखर रसाईली, गुल्मी धुर्कोट २ पिपलधारा

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend