साझा नेटवर्क
हिमशिखर रसाईली, २६ षौष,गुल्मी ।
जन्मेपछि मृत्यु अवश्य हुन्छ तर कुनै मृत्यु यति भयानक र हृदयविदारक हुन्छ कि त्यसलाई सहन गर्न सक्ने ल्याकत हरकसैमा हुदैन तर सहन गर्नुको विकल्प पनि रहदैन ।
कुनै घटना घट्दा मान्छेहरु आफूलाई मानसिकरुपमा तैयार गरिसकेका हुन्छन् कि अब यो घटना घट्नेवाला छ र मैले सहन गर्नुपर्छ तर कुनै यस्ता अकस्मात घट्ने अकल्पनीय घटनाले मानिसलाई ठुलो आघात पु¥याउदो रहेछ । अझ त्यस घट्ना पछि निम्तिने समस्या झन विकराल बन्ने रहेछ ।
गत पौष १८ गते बुटवलबाट शव लिएर रिडी आउँदै गरेको बस पाल्पाको रिब्दिकोट २ लगुवामा दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा मृतकको एक छोरा सहित आठजनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा अर्घाखाँचीको मालारानी गाउँपालिका– २ का २५ वर्षीय शंकर विक, ३६ वर्षीय मोहन कुँवर, २८ वर्षीय भोजेन्द्र विक र ३३ वर्षीय अर्जुन विक, रुपन्देहीको बुटवल उपमहानगरपालिका– ११ का ३२ वर्षीय विजय थापा क्षेत्री, वडा नम्बर १७ का ३० वर्षीय पशुपति रसाइली र ४० वर्षीय खुमबहादुर रानाको घटनास्थलमै मृत्यु भएको छ । पशुपति मृतक वीरबहादुरका छोरा हुन् ।
पुख्र्यौली घर अर्घाखाँची भएका वीरबहादुरको परिवार पछिल्लो समय बुटवल बस्दै आएको थियो । मृत्युपछि रिडीघाटमा अन्त्येष्टि गर्नुपर्ने उनको चाहनाअनुसार नै शव लिएर आउँदा एक शव माथि आठ शव थपिए । एउटाको अन्त्यष्टि गर्नु पर्नेमा नौजनाको अन्त्यष्टि गर्नु प¥यो । शोकमा डुबेको परिवार सँगै आज पुरा गाउँनै रुवाबासीमा परिणत भएको छ ।आठजना मध्ये ५ जनाको परिवारले बुटवलमै क्रियाक्रम गर्दैछन् भने अरु तीनजनाको परिवारले अर्घाखाँचीको मालारानी गाउँपालिका २ कुविन्ने भन्ने गाउँमै क्रियाक्रम गर्दैछन् ।
आफ्नै रफ्तारमा व्यस्त भएको त्यो गाउँ आज मान्छेको आगमनले भरिभराउ देखिन्छ । दिनहु दुःख व्यक्त गर्ने, समवेदना प्रकटगर्ने, सहानुभूति प्रदान गर्ने, आफन्तजन दाजुभाई,नालनाता, इष्टमित्र र साथीभाइहरुको ओइरो लागेको छ । तर अहिले जति दुःख जताए पनि उनिहरु भने सदाका लागि संसार छाडेर गए, अब उनीहरु कहिल्यै फर्किने छैनन् ।
एउटा यस्तो अकल्पनीय घटना जसले गर्दा जीवनमा केही गरेर देखाउने अठोटका साथ संघर्ष गरिरहेका युवाहरु जस्का सपनामात्र चक्नाचुर भएनन् जसका कारण कसैको सिउँदो पुछियो, कसैले जवान छोरा गुमाए भने बालबच्चाले अभिभावक गुमाएर टुहुरा बने ।
मृतक शंकर विश्वकर्मा जम्मा २५ वर्षका थिए, विवाह गरेको ३ वर्षमै उनकी श्रीमती विधवा भईन । उनको अहिले सम्म कुनै उत्तराधिकारी अथवा अहिले सम्म कुनै सन्तान नभएका उनले कलिलो उमेरमै ज्यान गुमाए । अब निःसन्तान उनकी श्रीमतीले कसरी जीवन निर्वाह गर्लिन ? उनका बावुआमाले कसरी आफ्नो छोरा गुमाएको पिंडा सहेर बस्लान् ? अझै आखाँ नओभाएका तिनीहरुका आँशु कहिले सुक्ने होलान् ?

भोजेन्द्र विश्वकर्माले २८ वर्षमै संसार छोडेर गए । बाल्यकालमै बाबा गुमाएका उनले विधवा आमाको संर्घषबाट पालनपोषण र शिक्षादिक्षा प्राप्त गरेका थिए, जीवनमा केही नयाँ गर्नुपर्छ र आमाबावुको सपना साकार पार्नकै निमित्त परिवार र आफन्तले विवाहको लागि अनुरोध गर्दा पनि केही नयाँ काम गरेर मात्रै विवाह गर्ने अठोटका साथ संर्घष गर्दैगर्दा अकालमा ज्यान गुमाए । आमाको एकल संघर्ष, दाजुभाईको सहयोगमा स्नातक सम्म अध्ययन गर्न सफल भएका उनले सरकारी जागिर खाने सपना देखेका थिए तर आफ्ना अधुरा सपना पुरागर्न नपाई आफन्तको अन्तिम विदाइ गर्न गएका उनी आफै संसारबाट विदा भए ।

३३ वर्षीय अर्जुन विश्वकर्माको भाग्य लेख्ने कलमको मसी सिद्धिएको होकी ? विचरा बाल्यकालमै आमाबावु गुमाएका परिवारका एकल छोरा उनले दिदि बहिनीको सहारामा बाल्यकाल बिताए, उमेर नपुग्दै आफ्नो जनजीविकाको लागि संघर्ष गर्दै आफ्नो भविष्य उज्जल बनाउन वैदेशिक रोजगारीमा लागे, आफ्नै खुनपसिना र पाखुराको बलमा विवाह गरे, सन्तान जन्माए । जीवन अब सहज होला भन्दैगर्दा आफ्नी जीवन संगिनी गिता गम्भिर रोगको शिकार भईन। ट्युमर रोगले ग्रस्त उनको उपचार र फलोअपको लागि भनेर बुटवल शहर झरेर श्रीमतीको उपचार र लालाबालाको पालन पोषणको लागि संघर्ष गर्दै थिए तर दैव पनि यति निष्ठुर भैदियो कि आफ्ना अबोध छोराछारीलाई टुहुरा बनाएर आफ्न्तको विदाइमा जादा आफुनै विदा भएर गए । आफ्नी श्रीमती गीताको सिउँदो मात्रै पुछिएन, भाग्य रेखानै पुछियो ।
छिमेकी र आफ्न्तले भन्दै थिए दुर्घनामा मरेका आठजना मध्ये अर्जुन विश्वकर्माको जीवनकहानी फरक छ, थियो र हुनेछ । आमाबाबु गुमाएका एकल छोराको संघर्ष, दिर्घरोगी श्रीमती र ती नाबालक छोराछोरी । कस्तो होला तिनीहरुको आगामी जीवन यात्रा? कस्ले बढाउने हौसला? कसले देला गास,बास र कपास ? कसरी बिताउलान् जीवन? ती ५, ८ र १२ वर्षका छोराछोरी जस्लाई आफ्नो बाबालाई के भयो, कहाँ छ, कहाँ गयो ? थाहा छैन । आफ्नी ती कलिली विधवा आमालाई सोध्दा तीनले कसरी जवाफ दिने होलिन?
भर्खर पाँच वर्ष पुगेको छोरालाई अस्ति आफ्न्तले सोधेछन् , तिम्रो बाबा खोइ? भन्दा, कुन्नी दिदीले आगो बालेर बाबा लाई लगाई दिइकी थिइ केरे ? आफन्तले फेरी सोधेछन्, तिम्रो बाबाको मुख हेरेनौं ? त्यो अबोध बालकले भनेछन् , कपडाले ढाकेका थे केरे, मैले त देखिन बाबालाई, मला त एउटा बा ले पुरै कपाल काटिदिए भन्दा सोध्नेका आँखा रसाए ।
त्यहाँ भेट्न आउने मान्छेहरु मोटरबाइक वा गाडीमा आउँदा ती बालकले भन्थे, हाम्रो बाबा आउनु भयो भनेर । तर ती अबोध बालकलाई के थाहा, उनका बाबा कहिले नफर्किने गरि संसारबाट बिदा भए भनेर ? अब अर्जुन विश्वकर्मा मरेर गएको तेह्रदिन पछि उनकी श्रीमती गीता, दुईछोरी र एक छोराको रेखदेख र पालन पोषणको जिम्मा कस्ले लिनेहोला ? यो प्रश्न अनुत्तरित हुने छ ।

लामो समय देखि बिमारले थलिएका बिर बहादुर ताम्राकारका छोराहरुले भाईहरुकै संयुक्त मिहिनेत,कमाई र लगानीबाट ब्यावसाय गरेर कमाएको पैसाले बुटवलमा घरबनाएर पछिल्लो एकदशक देखि पुर्खौली घर अर्घाखाँची साविकको मरेङ गाविसको जमीन बाझो राखेर सपरिवार बुटवल बस्दै आएका थिए । जसमध्येका राइलाछोरा पशुपति रसाईलीको अथक प्रयासबाट विविध कार्यको थालनी गर्दै मनग्य पैसा कमाउदै आईरहेका थिए । त्यसकारण आफ्ना बाउको स्वर्गेबासको लागि अत्योष्टिको लागि कथित पवित्र घाट रिडि ल्याउदैगर्दा तिनै पशुपति रसाईलीको इच्छाअनुसार रिडि ल्याउँदैगर्दा बसदुघर्टनामा परेर उनी पशुपति सँगै अन्य सातजनाले अकालमै ज्यान गुमाए । ति पशुपति रसाईलीले आर्थिक उन्नती सँगै सामाजिक समानताको लागि विद्रोह गर्दै गत मंसिर २९ गते अन्तरजातीय विवाह प्रेमविवाह गरेका रहेछन् ।
प्रेमविवाहको कपिला फुल्न नपाउँदै १९ दिनमै आफु सदाको लागि अस्ताएर जीवन संगिनीलाई एक्लै बनाएर विदा भए । अब १९ दिनमै विधवा बनेकी ती नारीको जीवन कसरी वित्ला ?

यो पंक्तिकार त्यो गाउँमा पुग्दा यस्तो लाग्थ्यो कि मान्छेहरु खुसी साट्न र भोजखान जस्तै एकपछि अर्को घर जाँदैछन् जस्तो देखिन्थ्यो तर कथाव्यथा अर्कै थियो । मर्ने मध्ये पाँच जना त एउटै वर्षदिने दाजुभाई मध्येका युवा थिए बाँकी पनि त्यही गाउँबाट बसाई सराई गरेर बुटवल बस्ने युवा थिए ।अन्य मृतक र उनका परिवारको स्थिति पनि यस्तै रहेको छ ।
स्वर्ग पु¥याउन हिडेकाहरु स्वर्गेवास भए देखेका सपना चक्नाचुर भए । बाचेकाहरु कसैको काख रिक्तियो, कसैको सिउँदो पुछियो, कोही टुहुरा भए ।
गरीब देश, भष्ट्र शासक, कमजोर संरचना, असफल नेतृत्व र नियमनकारी, बेथितिमा अल्झेको व्यवस्था, अव्यवस्थित यातायात, अनुशासनहीन सदन र स्तरहीन सडक, फितलो कानून जसका कारण सृजित घटना र दुर्घटना जसको कारणले यी र यस्तै अकाल मृत्युवरणको क्रम बढिरहेको छ । न राज्यको चासो न जनतामा चेतना ।
मृतकहरु प्रति भावपुर्ण श्रदान्जी । मृतकका आफन्तजन र परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् कामना ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend