साझा नेटवर्क
-मधुसुधन पाण्डे।
अहिले अधिकास सरकारी कार्यलयमा अपवाद बाहेक घुस नखुवाई अथवा कार्यलय प्रमुखसग पहुच नहुने हो भने कामै हुँदैन, कामै बन्दैन । यस्तै कार्यले गर्दा यातायात कार्यालय, मालपोत कार्यालय,कर कार्यलय जस्ता थुप्रै सरकारी कार्यालय र कर्मचारी संयन्त्र पनि बदनाम हुँदै गएका छन् ।
सानोमा हजुरबाले भन्ने गर्नुहुन्थ्यो, “आगोले खाएको वन र ढुङ्गामाटाले खाएको ज्यान सधैँ कमजोर हुन्छ”। त्यसको अर्थ जतिबेलासम्म उहाँले भन्नुुहुन्थ्यो त्यतिबेला मैले मेसो पाएको थिइन । अहिले बल्ल त्यसको केही मेसो पाउँदैछु । र अर्काे भनाइ आफैँले थपेको पनि छु, आगोले खाएको वन, ढुङ्गामाटाले खाएको ज्यान र भष्ट्राचारले गलाएको मुलुक सधैँ कमजोर हुने गर्दछ ।
भनिन्छ, भष्ट्राचारीको कुनै जात, धर्म, पेशा, लिंग, दल तथा पहिचान मिश्रित हुँदैन । जहाँ र जस्तो ठाँउमा पनि त्यसको उदय हुन सक्छ । हामी देख्दै आएका छौँ । राजनीतिक नेता देखी, कुनै अड्डाका पियन सम्म यसको नमुना बन्ने गरेका छन् । भने शिक्षक देखि कर्मचारी र स्वयम भष्ट्राचार निवारण गर्ने ठुला संस्थामा आवद्ध व्यक्तिहरुनै भष्ट्राचारको बिल्ला भिरेर कानूनी कठघरामा उभिएका उदाहरण प्रशस्त मात्रामा रहेका छन् ।
तर हामीमा भने आर्थिक पाटोसँग जोडिएमा मात्र भष्ट्राचार भनिने गरिनाले भष्ट्राचारको परिभाषा साँघुरो हुँदै गएको छ । के एउटा कर्मचारीले आफ्नो कार्यालय समयमा काम छल्नु भष्ट्राचार होइन ? के एउटा व्यक्तिले अर्काे व्यक्तिको विना कारण व्यक्तित्वमा पारेको असर तथा बौद्धिक सम्पतीमा गरिएको चोरी भष्ट्राचारको नमुना होइन ? त्यसैले हरेक क्षेत्र तथा काममा नैतिक आचरण गलत बनाएको अवस्थालाई भष्ट्राचारको रुपमा हेरिनुपर्दछ ।
नेपालमा निजामति सेवालाई व्यवसायको रुपमा हेर्नेहरुका लागि भष्ट्राचार प्रतिष्पर्धा जस्तै बनेको छ । यसरी दिनहुँ भ्रष्ट्राचारका समाचार तथा सूचनाले स्वच्छ छवि भएका कर्मचारीहरुको मनोवलमा गिरावट समेत आइरहेको छ । विकास निर्माणका योजनादेखि सरकारी कार्यालयसम्म छ भ्रष्ट्राचार। सामान्य बजारदेखी ठूला व्यापारीक सञ्जालसम्म भ्रष्ट्राचारले दुगन्र्धित बनाउँदै लगेको छ । चारैतिर भ्रष्ट्राचारको बर्काे ओढेर के सरकारले समृद्धिको गन्तव्यसम्म पुग्न सक्ला ?
भ्रष्ट्राचार दिनरात मौलाउनुको कारण मानिसहरुको आ आफ्नै तर्क वितर्कहरु छन् । कतिपयले भने यसको मूख्य कारणका रुपमा संघियतालाई हेर्न थालेका छन् । मानिसमा भ्रष्ट्राचारी सोच ल्याउने आधारहरु नै भ्रष्ट्राचारको मुख्य कारण हो । मुख्य भ्रष्ट्राचारलाई आन्तरिक र बाह्य कारणले प्रोत्साहन गरिरहेको छ । मानिसहरुमा नैतिक आचरणको कमि तथा महत्वकांक्षी जीवनशैलीलाइ महत्व दिनाको कारणबाट नै भ्रष्ट्राचारको जन्म भएको हुन्छ । भने भ्रष्ट्राचारलाई स्वयम समाजले नै प्रशय दिइरहेको छ ।
समाजले कुनैपनि मानिसको सम्पतीको स्रोत भन्दा स्वरुपलाई महत्व दिने गरेका कारण पनि भ्रष्ट्राचार मौलाइरहेको छ । ऐन नियमहरु नभएका होइनन् तर त्यसको कार्यान्वयनको पाटो फितलो हुुनु, राजनीति नेतृत्व नै भ्रष्ट्राचारमा लुप्त मानिसहरुलाई बचाउन लाग्नुले पनि संस्थागत रुपमा नै यो जडकिएर रहेको पाइन्छ ।
अन्त्यमा, गम्भिर प्रकृतिको सामाजिक तथा आर्थिक अपराध नै भ्रष्ट्राचार हो । यसले समाजलाई क्षयिकरणको मार्गमा लैजान उद्धत गराउँदछ । त्यसैले नेपाल मात्र नभएर विश्व समुदाय नै यसलाई निर्मुल पार्नका लागि लाग्नु पर्ने देखिन्छ । यसको मुख्य कानुनी प्रावधान भनेको शुन्य सहनशिलता नै हो ।
त्यतिमात्र नभएर त्यसको अन्त्यका लागि समाजमा भ्रष्ट्राचार बहिस्कार नीति अवलम्बन गर्ने, राज्यका स्थानिय देखि केन्द्रिय तहसम्म त्यसको निर्मुलीकरणको लागि कार्यक्रम तथा जनचेतना जगाउने, वित्तीय अनुशासनका कार्यक्रमका योजनाहरु ल्याउने आदी कामहरु गर्नाले समाजबाट भ्रष्ट्राचार केही हदसम्म निर्मूल हुन सक्नेछ । त्यस्तै भ्रष्ट्राचार नियन्त्रणका लागि नियामक निकायहरु वृृद्धि गर्ने तथा त्यसको नेतृत्व तहमा समेत असल र योग्य व्यक्ति खटाउने गर्नुपर्दछ ।
त्यसरी सरकारले राष्ट्र निर्माणका लागि लिएको उदेश्यलाई पूरा गर्नका लागि सर्वप्रथम भ्रष्ट्राचार निर्मुल बनाउने कार्यक्रमहरु ल्याउनु पर्दछ । जब सरकारले भ्रष्ट्राचार नियन्त्रण को अभियान चलाउन सक्दछ तबमात्र सरकारको समृद्ध नेपाल, सुखी नेपालीको नाराले पुर्णता पाउन सक्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend