logo
  • शनिबार, साउन ३० २०८३

संस्मरण : प्रिय मित्रहरुलाई चिठी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

मेरा प्यारा मित्रहरु,
मिठो सम्झना एवम् अभिवादन ।

कुशल रही कुशलताको कामना गर्दछु । यहाँ म आरामै छु । आशा छ तपाईहरु पनि आ–आफ्नो कार्यक्षेत्रको बसाइमा आरामै हुनुन्छ होला । करिब दुई दशकको अन्तराल पछि पत्र लेख्दैछु । आशा छ सहर्ष स्वीकार्नुहुने छ ।

प्रवास बसाइको बेला तत्कालिन समयमा सेतो कागजमा निलो मसीले लेखेर खामबन्दी गरी कहिले हुलाक मार्फत त कहिले व्यक्ति मार्फत पठाउने गर्दथें, पत्र पुग्न महिना दिन पनि लाग्दथ्यो । यसपाली भने पत्रको स्वरुप र पत्रपठाउने माध्यम बदलियो, महत्व घट्यो, तै पनि डिजिटल माध्यम बाट पत्र लेख्न पाउदा आफुलाई सौभाग्य ठानेको छु ।

मेरो लेखन शैली, शब्द चयन र भाषागत शुद्धतामा कमीकमजोरी हुन गएमा सुधारगरी पढनुहुने छ भन्ने आशा गरेको छु । आजको एक्काइआंै सताब्दीमा पनि पत्रलेखेछ भनेर नभन्नु होला । मलाई त विगतको भोगाइले गर्दा होला विछोडका पिडा, मनका बह र दुःखका भारी विसाउन र सुखद अनुभवहरु साटासाट गर्ने एकमात्र माध्यम भनेको नै चिठीपत्र हो जस्तो लाग्छ ताकि हरेक कुरा समेटेर भावना पोख्न पाइयोस ।

प्रियसाथीहरु, तपाईहामी आज जीवनको साढे तिन दशक पार गरिसकेछौ । जीवनयात्रा गर्नेक्रम यति तीब्ररुपमा चलेछ कि पत्तै नपाई यतिका वर्ष बितेछन् । आजभोली दिनप्रतिदिन तालु खुइलिदै गएको छ, कपाल फुल्दै गएको छ, गालामा धर्सा पर्न थाले । यहाँसम्मकी विभिन्न रोगले आक्रमण गर्न थालिसकेको छ ।

सायद तपाईहरु पनि यी र यस्ता समस्याबाट जुझ्दै हुनुहुन्छ होला । जेहोस जहाँ बसेपनि सुखी र आनन्दित जीवन यापन गर्दैहुुनुन्छ भन्ने कुराको बोध तपाईहरुका सामाजिक सञ्जालमा भइरहने अपडेटबाट भइरहन्छ ।

साथीहरु, आज धेरै लामो समयपछि हामीले बाल्यकालमा विताएका र विशेषतः स्कुले जीवनका तितामिठा पलहरु बारे घोत्लिदा ति तनावरहित स्कुले जीवनका रमाइलापलको सम्झना आयो । समयले धेरै छिटो उछिनेछ भन्ने कुरा यसपालीको जन्मोत्सवमा शुभकामना पाउदा हेक्का गरें । ति पलहरुलाई स्मरण गर्दै यो पत्र लेख्न गइरहेको छु ।

साथीहरु हामीले जीवनको परिभाषालाई ठिक ढंगले अर्थाएनौं कि ? फलस्वरुप हामी आज पनि एकै चिजको पछि दौडि रह्यौ । जस्ले गर्दा खुसी के हो, आनन्द के हो , सन्तुष्टि के हो बुझ्ने फुर्सद पाएनौं । तपाईहरुले कहिले जीवनलाई यसरी फर्केर हेर्नु भएको छ ? कहिलेकाहीं आफ्ना साथी संगी कहाँ कहाँ छन? के गरेर बसेका छन् ?

सन्चो विसन्चो के भएका छन् कहिल्यै सोध्ने,खोज्ने गर्नु भएको छ ? सायद छैन होला, हो । म पनि गर्न भ्याएको छैन । साच्चै हामी भौतिकवादी भयौ कि ? मशिन भयौं कि ? रातदिन सामाजिक सञ्जालमा व्यस्तहुने तपाई हामीले कहिल्यै साथीसंगीहरुको लागि एक मिनट पनि फुर्सद निकाल्न सकेका छैनौ है ?

बेलाबखत पनि ति स्कुले जीवनका चकचके साथीहरु सम्झिने समय छैन हामी सँग । स्कुले जीवन र बाल्यकाल कति रमाइला थिए भनेर सम्झने फुर्सद छैन हामी सँग । हालसालैको कुरा हो, झमक्क साझ परेको थियो, मोबाईलको घण्टी बज्यो एकजना आत्मीय मित्रको फोन रहेछ, उठाएँ । धेरैबेर कुराकानी भयो ।

उहाँले भन्दै हुनुन्थ्यो, “आज बाबा सँग बसेर गप्फिदा बाबाले आफ्ना बाल्यकालका अनुभव सुनाउँदै गर्दा आफ्नै बाल्यकालका साथीहरुको सम्झना आयो त्यसैले तपाईलाई फोन गरेको” भन्नु भयो । धेरैकुरा साटासाट गर्दा मलाई पनि बाल्यकालमा फर्केको आभास भयो सबैकुरा गर्न फोनमा सम्भव भएन, भेटेर कुरा गर्ने सल्लाह भयो । त्यसैले त्यही फोन कललाई सम्झदैं मैले यो पत्र कोर्न बाध्य भएको हुँ । तसर्थ यो संस्मरणलाई झर्को नमानी पढन अनुरोध गरें ।

सम्झना छ ? विहान १० बजे देखि विद्यालय सुरु हुन्थ्यो । हामी विद्यालय समय भन्दा एकघण्टा अगाडी नै विद्यालय पुग्ने गर्दथ्यौं । करिब साढे आठ बजे एकथाल आटो र साग वा सिङ्की, साथमा एक कचौरा मोही रन्काएर स्कुल जाने दैनिकी थियो ।

जब दश बज्थ्यो अनि सुरु हुन्थ्यो :
श्रीमान गम्भीर नेपाली ,
प्रचण्ड प्रतापी भूपती….
श्री ५ महाराजधिराजको
सदा रहोस् उन्नती
प्रजा फैलियोस्
पुकारौं जय प्रेमले
हामी नेपाली साराले ।।
गाउछ गीत नेपाली ज्योतिको पंख उचाली…
हट्ने होइन डटी लड्ने नेपालीको बानी हुन्छ….

यो प्रार्थना गीतले राजा महाराजाको स्तुति गान गाउनै पर्ने बाध्य पारेको रहेछ । बल्ल अहिले बुझियो । कक्षा सुरु हुन्थ्यो, तर अगाडी बेन्चमा बस्ने कक्षा फस्ट, सेकेन्ड र थर्ड हुनेलाई बाहेक खासै पढनमा रुची हुन्थेन, बरु अरुलाई डिस्टर्व गर्ने, अगाडीको साथीलाई चिमोटने, कान तान्दिने, टुप्पी बाधिदिने, कापीको पाना च्यातेर पुच्छर बनाईदिने, पल्लो बेन्चमा बसेका केटी साथीहरुलाई जिस्काउने इत्यादि ।

एकदिनको कुरा हो, संस्कृत पढाउने सरले पढाइरहेकै बेला सेकेन्ड बेन्चमा बसेको साथीले दौराको फेरो तानिदिए पछि रिसको झोकमा पहिलो बेन्चमा बसेको सिधा साथीले कुटाइ खाएको सम्झदा हासो छुटेर आउँछ अझैपनि र दयालागेर आउँछ ती निर्दोष साथी कुटिदाको पल सम्झिदा ।

एकबजेको ब्रेक

हाम्रो समयमा दिवा खाजा स्कुलले दिने चलन थिएन र आफैपनि दिवाखाजा खाने चलन थिएन, सधै विहान साग र आटो, साझ स्कुलबाट फर्केपछि त्यही चिसो आटो र साग अथवा सिंकी–(गुद्रुक) भुटेका मकै भट्टमास, कहिले काहीं दुइचार रुपैया हाता प¥यो भने पिपलगेडी,टाटा विस्कुट, लेक्टोफन चक्लेट यही हुने गर्दथ्यो हाम्रो दिवा खाजा ।

सिजनको बेला क्राक्रा, पोलेको मकै, उसिनेको मकै । सुन्तला र नासपाती त हामी कापीको पाना दिएर किन्ने गर्दथ्यौं । आजको जस्तो छोराछोरी लाई प्रदान गरिने पकेट मनी, दिवाखाजा, शैक्षिक साम्रगी उपलब्ध कहाँ थियो र ? लत्ताकपडाको त कुरै नगरौ, अहिले भने ब्राण्डका कुरा हुन्छन् ।

पोषणयुक्त भोजन वा सन्तुलित भोजन कसैलाई पनि सम्भव थिएन । पौष्टिक खाना नखाए पछि बे्रनको विकास पनि त्यही अनुसारनै हुने भयो । पेट फुटने गरी आटो ढिडो हसुर्ने अनि स्कुल दगुर्ने यस्तै यस्तै…

शैक्षिक सामग्री

शैक्षिक सामग्रीको उपलब्धता अहिले जस्तो त छदै थिएन । अझ भर्खर स्कुल सुरुगर्दा त ढुङ्गाको पाटी अथवा कसैकसैको काठको पाटीमा एभरेडी व्याट्रीको कालो दलेर खरी ढुङ्गाले लेखेर हाम्रो क,ख,ग सुरु भएको थियो । ए.बी.सी.डी त चार कक्षामा पुगेर सुरुभएको थियो हाम्रो ।

कक्षामा अनुशासन कडा थियो, होमवर्क नगरे सरहरुको बेजोड कुटाइ र मुर्गा बन्नु त सामान्यनै हुन्थ्यो । एकदिनको कुरा हो, गणेश मा.वि को भवन निर्माणधिन रहेकाले अहिले विद्यालय भएको स्थान देखि एक कि.मि टाढा बाझ कटौंजे भन्ने ठाउँको मैदानमा पढाइहुन्थ्यो, एकदिन म र मेरो दुइदाजुहरुले होमवर्क गरेर नगएको हुँदा द्रोण खनाल सरले करिब बीस मिनट मुर्गा बनाउनु भएको थियो । अब आफै कल्पना गर्नुस्, त्यतिका समय हामीलाई कति पिंडा भएको थियो होला ।

त्यसका बावजुद पनि हाम्रा आनीबानी र हर्कतहरु यस्ता थिए :  १ बजेको घण्टी बज्नासाथ कहिले सुफलखोला त कहिले नादीखोला पौडी खेल्न जान्थ्यौं, पौडिन आउदैनथ्यो तै पनि जानी नजानी रहमा पस्थ्यौं,माथि बाट हाम फाल्थ्यौं त्यो पनि उल्टो फर्केर । एकपटक त एकजना साथी–(अर्जुन) लाई पानीको बहावले गहिरो रहतिर तानेर लग्यो, भाग्यवस अर्को पौडिन जानेको साथीले रहबाट जनतन तान्न सफल भयो । हाम्रा तत्कालिन स्वीमिङ पुल असाध्यै जोखिमपूर्ण थिए है ।

धेरै पटक क्लास बन्द गरेर भेडाबारी, सुफलखोला, अरौदीको जंगलमा तिजु, काफल, ऐसेलु, अमला खान पुग्थ्यौं । बीस–पच्चीस फुट अग्ला रुखमा बाँदरे शैलीमा तलमाथि गथ्र्यौं, अहिले सम्झदा ज्यान सिरिङ्ग हुन्छ ।

हाम्रा प्रमुख खेलहरु कबड्डी, कहिलेकाँही भलिबल –(किनकी हामीभन्दा ठुलाबडाको भलिबलमा एकछत्र राज थियो), गुच्छा, चुन्नी, राज्ये, ग्वाटी, डण्डीवियो,रबरको चुन्नी, चिप्लेटी इत्यादि हुन । वक्तित्वकला हाजिरी जबाफ, वादविवाद–(कलम ठुलो कि तरबार, शहर राम्रो कि गाउँ आदि) यी सब त फस्ट, सेकेण्ड, थर्ड (रमेश, हेम, लिलाप, विक्रम, नारायण) हुने मात्रको सहभागी हुन्थ्यो ।

शहर नजिक थिएन । गाडी मोटर हेर्न त अर्घाखाँचीको चुत्राबेसी र गुल्मीको तम्घास जानु पर्दथ्यो । ५०–५५ साल पछि गाउँमा ट्रयाक्टर आएपछि त्यसको पछि दर्गुर्ने चढ्न लाग्दा खलासीको कुटाईखानमा अभ्यस्त नै भएका थियौं । गाडी चढ्ने रहर कम्ता थिएन । हाम्रा गाडी त पाइपको एकपाङ्ग्रे गाडी, बासको ठेला गाडी हुन्थे ।

वि.सं ०५३/५३ तिर म र मेरो साथि कृष्णले एक एक थान सेकेण्ड ह्याण्ड साइकल किनेका थियौं । पहाडी साँघुरो बाटोमा विना बे्रकका साइकल चलाउदा कति पटक लडियो, गुल्टियो कुरै नगरौं । धन्न मरिएन्छ त्यसबेला…..

हाम्रा शैक्षिक भ्रमण

गुल्मी धुर्कोट वस्तुको विचित्र गुफा जाँदा घामको तापले पसिनाका धारा र अर्कोपटक झल्याकोट(खाग्ला लेक) पिकनिक जाँदा मुसलधारे पानीले रुझाएको घटना कम्ता रोमाञ्चक थिएनन् । पलास्टिक छातीमा राखेर बोकाको मासु खाए जस्तो गरी लुकाउने साथी कृष्णलाई अहिले सम्झिदा कस्तो महसुस हुँदो हो ?

खैर बालापन यस्तै यस्तै वित्यो । यति ताण्डव मच्चाएर पनि आज विभिन्न क्षेत्र मेरा मित्रहरुलाई सफल भएको देख्दा गौरभान्वित हुन्छु । हाम्रो ग्रामिण जीवन अत्यन्तै प्राक्टिकल, ग्राउन्डेड र संघर्षशील भएकै कारण आज साथीहरु कोही बैंकिङ क्षेत्र, कोही शिक्षक सेवा, कोही निजामती सेवा, कोही पत्रकारीता क्षेत्र, कोही बैदेशिक रोजगारी,म्यानपावर, ट्रावल एवम् पर्यटन क्षेत्रमा सफल हुनुभएको छ ।

विडम्वना जीवन र जिविकाको लागि हामी यततत्र छरिएर बस्न बाध्य भएका छौं । सामाजिक सञ्जालमा जोडिएपनि सम्बादको अभाव छ ।

हाम्रो बालपन, स्कुललाईफ, मित्रता, भाइचारा, सदभाव, माया लाई कायम राख्न हाम्रा विगतका तिता मिठा अनुभवलाई निरन्तरता दिन जन्मेको माटो र त्यहाँको सुगन्धलाई पछ्याइ राख्न र अतित लाई ताजा बनाइराख्न कुनै राजनिति, वाद, विचार, सिद्धान्त, धर्म,जात,नस्ल र वर्ग बाधक नबनोस भन्नका लागि निरन्तर संवाद, सम्पर्क र पुर्नमिलन हुने बाचा र अपेक्षा सहित यो पत्रलाई यही बिट मार्न चाहन्छु । धन्यवाद !


उहि तपाईहरुको परम प्रिय
हिम शिखर रसाईली
धुर्कोट गाउँपालिका–२ पिपलधारा, गुल्मी

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend